Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अपाङ्गता भएका व्यक्तिहरूको प्रजनन स्वास्थ्य अधिकार र सेवामा पहुँच सम्बन्धी छलफल


बुधबार, चैत ४ २०८२
  • 799
    SHARES

  • images
    अपाङ्गता भएका व्यक्तिहरूको प्रजनन स्वास्थ्य अधिकार  र सेवामा पहुँच सम्बन्धी छलफल

    काठमाडौं । महिला कानुन र विकास मञ्च (FWLD), IPas नेपाल र नेपाल अपाङ्ग महिला संघको संयुक्त आयोजनामा चैत २ र ३ गते काठमाडौँमा प्रजनन स्वास्थ्य अधिकार र सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरियो । सो कार्यक्रमको पहिलो दिन अर्थात् चैत २ गते महिला कानुन र विकास मञ्चका तथा अधिवक्ता नवीन कुमार श्रेष्ठले महिला प्रजनन स्वास्थ्य र अधिकारका विषयमा प्रस्तुतीकरण गर्नु भयो । यस प्रस्तुतीकरणमा उहाँले प्रजनन स्वास्थ्यको विषयमा प्रस्ट पार्दै महिलाको प्रजनन अङ्गमा आउने खराबी नै रुग्णता हो भन्ने कुरा प्रस्ट पार्दै विशेष अवस्थामा गर्भवती महिलाको मन्जुरीले २८ हप्ता सम्मको गर्भपतन गर्न पाउने व्यवस्था रहेको बताउनु भयो ।

    images
    images
    images

    साथै उहाँले महिला प्रजनन स्वास्थ्य र अधिकारको प्रस्तुतिका क्रममा जीवन चक्र बताउँदै गुणस्तरिया, पहुँचयुक्तता, सर्वसुलभ र सुरक्षित गरी ४ वटा Component रहेको बताउनु भयो । साथै उहाँले ऐनले प्रदान गरेको अधिकारहरूमा सुरक्षित मातृत्व अधिकार, परिवार नियोजनको अधिकार, गर्भपनका विषयमा भएका कानुनी व्यवस्थाहरू, प्रजनन स्वास्थ्य रुग्णता विरुद्धको अधिकारका विषयमा पनि जानकारी गराउनु भएको थियो । त्यसै गरी Ipas नेपालकी इन्ट्रन खुसी अधिकारीले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा प्रस्तुतीकरण गर्नु भयो ।

    उक्त प्रस्तुतीकरणमा उहाँले यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा प्रयोग हुने शब्दहरू लिङ्ग, लैङ्गिकता, यौनिकता, यौन अभिमुखीकरण, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको बुझाई, यौन स्वास्थ्य, प्रजनन अधिकार, परिवार योजना, लैङ्गिक हिंसाको रोकथाम, परिवार योजनाका स्थायी विधिहरूका बारेमा प्रस्ट पार्नु भयो । यसै क्रममा उहाँले अन्य नागरिकहरू जस्तै अपाङ्गता भएका व्यक्तिहरूको पनि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी आवश्यकता र अधिकार हुने तर पनि विभिन्न अवरोधका कारण उनीहरूले यस्ता सेवा सुविधाबाट वञ्चित हुन परेको अवस्था रहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले यस्ता सेवा लिन र उनीहरूको पहुँचका लागि सबै सरोकारवाला निकायहरूले वकालत तथा पैरवी गर्न जरुरी रहेको कुरामा जोड दिनु भयो । त्यसै गरी Ipas नेपालका कार्यक्रम विशेषज्ञ खुम्बु पौडेलले जलवायु र अपाङ्गता न्यायका विषयमा प्रस्तुतीकरण गर्नु भयो । यस प्रस्तुतीकरणमा उहाँले मौसम र जलवायु परिवर्तन, हरित गृह, ग्यासहरू तथा तिनको प्रभावका विषयमा जानकारी दिनु भयो । उक्त कार्यक्रममा सहभागी अपाङ्गता भएका महिलाहरूले प्रजनन स्वास्थ्य अधिकार र सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको विषयमा आ-आफ्नो अनुभव आदान प्रदान गर्नु भएको थियो । यो अनुभवलाई समूहगत रूपमा छलफल गरेर प्रस्तुतीकरण पनि गरिएको थियो । उक्त अनुभव आदान प्रदान कार्यक्रमको सहजीकरण Ipas नेपालका स्वास्थ्य तथा नीति प्रणाली विभागीय प्रमुख एवं स्त्री रोग विशेषज्ञ डा. दिप श्रेष्ठ डङ्गोलले गर्नु भएको थियो । कार्यक्रमको दोस्रो दिन अर्थात् चैत ३ गते गर्भपतनका विषयमा ६ वटा घटनाहरूको विषयमा कुन घटनालाई प्राथमिकता दिने भन्ने विषयमा समूहगत छलफल गरी प्रस्तुतीकरण गरियो । जसको सहजीकरण Ipas नेपालका स्वास्थ्य तथा नीति प्रणाली विभागीय प्रमुख एवं स्त्री रोग विशेषज्ञ डा. दिप श्रेष्ठ डङ्गोलले गर्नु भएको थियो । यस कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष मिना पौडेलले अपाङ्गता भएका महिलाको यौनिकता प्रति समाजको गलत धारणाका विषयमा प्रस्तुतीकरण गर्नु भयो । यस प्रस्तुतीकरणका क्रममा उहाँले प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिका २०७९ का विषयमा जानकारी दिँदै प्रजनन अधिकार सम्बन्धी १० वटा महत्त्वपूर्ण सूचकहरू रहेको बताउनु भयो । त्यसै गरी उहाँले प्रजनन स्वास्थ्य अधिकारका सवालमा अपाङ्गता मैत्री निर्देशिका ल्याइनु पर्ने, अपाङ्गता मैत्री सेवा सुविधा हुनु पर्ने, अपाङ्गता मैत्री सेवा सञ्चालन सम्बन्धी प्रक्रियाका विषयमा पनि जानकारी दिनु भएको थियो । साथै उहाँले सेवा दिने सबै निकायहरू अपाङ्गता मैत्री हुनु पर्ने, सेवा दिने निकायका व्यक्तिहरू तथा स्वास्थ्यकर्मीहरूलाई अपाङ्गता सम्बन्धी जानकारी दिँदै तालिम दिनु पर्ने, यस्ता निकायहरूमा साङ्केतिक भाषाको तालिम प्राप्त दोभासे, भिडियो तथा क्यापसनिङ्गको पनि व्यवस्था गरिनु पर्ने कुरामा जोड दिनु भयो । यस कार्यक्रममा IPas नेपालका स्वास्थ्य संयोजक सिप्रा जोशीले अपाङ्गता मैत्री सेवाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यस प्रस्तुतीकरणमा उहाँले स्वास्थ्य सेवा लिने क्रममा अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न अवरोधहरूको सामना गर्न परेको, अपाङ्गता मैत्री सेवा सुविधाहरू नभएको बताउनु भयो भने अपाङ्गता मैत्री सेवा सम्बन्धमा समूहगत छलफल पनि गरिएको थियो । काठमाडौँमा २ दिन सम्म सञ्चालन भएको प्रजनन स्वास्थ्य अधिकार र सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रममा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी महासचिव रमा ढकालले अपाङ्गता भएका महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सम्बन्धित सबै निकायहरूले पहल गर्नु पर्ने, यस विषयमा जनचेतना मूलक कार्यक्रमहरूको आयोजना गर्दै अपाङ्गता भएका व्यक्ति तथा महिलाहरूलाई पनि यस विषयमा जानकारी गराउनु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी नेपाल अपाङ्ग महिला संघकी महासचिव देब कुमारी पराजुलीले प्रजनन स्वास्थ्य तथा अन्य कुनै पनि सेवा दिने निकायहरूलाई तालिम प्रदान गरिनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक हुने र प्रदान गरिने सेवा सुविधाका विषयमा विद्यालय स्तरका पाठ्यसामग्रीहरूमा समावेश गर्न जरुरी रहेको बताउनु भयो भने अन्य सहभागीहरूले भौतिक संरचना, सेवा सुविधा, उपकरणहरू अपाङ्गता मैत्री हुनु पर्ने र सेवा दिने व्यक्तिहरूमा पनि अपाङ्गता सम्बन्धी ज्ञान हुनु पर्ने कुरामा जोड दिएका थिए । यसै क्रममा IPas नेपालले नेपाल अपाङ्ग महिला संघलाई दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका लागि ५०/५० थान सेतो छडी र चस्मा र डाइपर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर डाइपर हस्तान्तरण गरेको थियो । कार्यक्रममा ७ प्रदेशका शारीरिक, सुनाई सम्बन्धी, दृष्टिविहीन अपाङ्गता भएका महिलाहरू र अभिभावकहरूको सहभागिता रहेको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ