काठमाडौं । नेपाल तेक्वान्दो संघ वागमती प्रदेशको दोस्रो अधिवेशनका अवसरमा विभिन्न वक्ताहरूले तेक्वान्दो खेलको विकास, चुनौती र आगामी योजनाबारे आ-आफ्ना धारणा व्यक्त गरेका छन्। कार्यक्रममा प्रदेश सरकारदेखि स्थानीय तहका जनप्रतिनिधि तथा खेलकुद नेतृत्वले तेक्वान्दोको उज्ज्वल भविष्यका लागि सहकार्य आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि एवं वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले तेक्वान्दो खेलको विकासका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले वागमती प्रदेशस्तरीय खेल महोत्सव आयोजना गरिने समेत जानकारी दिँदै अन्तरप्रदेशीय प्रतियोगितामार्फत सातै प्रदेशका खेलाडीको पहिचान गरिने बताउनुभयो ।
साथै, बानियाँले खेलकुद क्षेत्रलाई सुदृढ बनाउन यसअघि विनियोजित २० लाख रुपैयाँलाई बढाएर ६० लाख रुपैयाँ पुर्याउने घोषणा गर्नुभयो। भविष्यमा संघका गतिविधि र योजनाका आधारमा बजेट थप वृद्धि गर्दै लैजाने उहाँको भनाइ थियो। खेलकुद पर्यटनलाई समेत प्रवर्द्धन गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले तेक्वान्दो खेललाई नयाँ आयामसहित अघि बढाउन आग्रह गर्दै योजनाबद्ध रूपमा काम गर्न सुझाव दिनुभयो। बजेट सक्नका लागि मात्र होइन, समयानुकूल उपलब्धि हासिल गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, आवश्यक परेमा आफ्नोतर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष दीपराज गुरुङले तेक्वान्दो खेललाई समयानुकूल बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले तेक्वान्दो खेलाडीहरू सबै ‘जेन्जी’ पुस्ताका भएकाले उनीहरूको सोच र मनोभाव बुझेर रचनात्मक कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । साथै, तेक्वान्दोको विकासका लागि आर्थिक सहयोग मात्र नभई अन्य विभिन्न माध्यमबाट पनि सहयोग गर्न सकिने भन्दै सबैलाई तेक्वान्दो खेलको विकासका लागि आह्वान गर्नुभयो । संघले तेक्वान्दो खेलाडीका लागि होस्टेल बनाउन लागेको जानकारी समेत दिनुभयो ।
नेपाल तेक्वान्दो संघ वागमती प्रदेशका अध्यक्ष केशव पुरीले संघ स्थापनादेखि हालसम्म आइपुग्दा विभिन्न उतारचढाव पार गर्दै यहाँसम्म आइपुगेको बताउनुभयो। उहाँले हितैषी साथीहरूको सहयोग र आत्मबलका कारण संघले निरन्तरता पाएको उल्लेख गर्दै राष्ट्रले खेलकुद क्षेत्रलाई अझ सकारात्मक रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ललितपुर महानगरपालिका वडा नं. ४ का अध्यक्ष सन्तोष खड्काले तेक्वान्दोले राष्ट्रलाई पदक दिलाउने महत्वपूर्ण खेल भएको उल्लेख गर्दै वडा नं. ४ लाई हरेक कार्यक्रममा सम्झिने गरेकोमा खुशी व्यक्त गर्नुभयो । यसले आफूहरूलाई अझ उत्साहित बनाएको उहाँले बताउनुभयो ।
नेपाल तेक्वान्दो संघ वागमती प्रदेशका महासचिव हरिहर ढुङ्गानाले संघलाई दोस्रो अधिवेशनसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सीमित स्रोतका बाबजुद पनि संघमा आबद्ध साथीहरूको सहयोगले संगठन सञ्चालन भइरहेको जानकारी दिनुभयो । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोस्रो अधिवेशनले पुनः सर्वसम्मत रूपमा केशव पुरीकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा विभिन्न खेलाडी तथा तेक्वान्दो खेलको विकासमा योगदान दिने व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


