काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स बास्केटबल क्लब र गोल्डेनगेट बास्केटबल क्लबले सोमबार जित हात पारेको छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाईम्सले सोलो बास्केटबल क्लबलाई ९५-७२ ले पराजित गर्दै लगातार दशौँ जित हात पारेको हो ।
टाईम्सले पहिलो क्वाटर २८-२५ र दोस्रो क्वाटर २८-८ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ५६-३३ को अग्रता बनाएको थियो । त्यसपछि टाईम्सले तेस्रो क्वाटर २१-१८ ले आफ्नो पक्षमा पार्दा चौथो क्वाटर सोलोले २१-१८ ले आफ्नो पक्षमा बनाएको थियो । टाईम्सले लगातार दशौँ जितपछि ११ खेलबाट २१ अंक जोडेको छ ।
सोलोको भने यो नवौँ हार हो । सोलो ११ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा छ । टाईम्सका मनिष केसी म्यान अफ दि म्याच घोषित भए । टाइम्सका श्रेयास बहादुर थापाले सर्वाधिक २४ अंक स्कोर गरे । यस्तै सोमबार भएको अर्को खेलमा गोल्डेनगेट बास्केटबल क्लबले प्लेबक्स एरेनालाई ११२-५९ को फराकिलो अन्तरले हरायो ।
गोल्डेनगेटका दिप्सन केसी म्यान अफ दि म्याच घोषित भए । गोल्डेनगेटले पनि ११ खेलमा दशौँ जित निकाल्दै टाइम्स समान २१ अंक जोडेको छ । दशौँ हार बेहोरेको प्लेबक्सले ११ खेलबाट १२ अंक जोडेको छ । टाइम्स समान अंक भएपनि अंक अन्तरमा आधारमा अघि रहँदै गोल्डेनगेट शीर्ष स्थानमा छ । यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लब १० खेलबाट १९ अंकसहित तेस्रो स्थानमा छ ।
आर्मीले आईतबार राती भएको खेलमा रोएललाई १०२-७५ ले पराजित गरेको थियो । आर्मीका लागि निश्चल महर्जनले सर्वाधिक २२ अंक स्कोर गरे । आर्मीका सयुन राई म्यान अफ दि म्याच घोषित भए । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ ।
लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ ।
पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


