काठमाडौं । टोखा नगरपालिका–३ ले महिलाको स्वास्थ्य संरक्षण र पाठेघरको क्यान्सरको समयमै पहिचान गर्ने उद्देश्यले आइतबार महिलाहरुकाे स्तन तथा पाठेघरकाे क्यान्सर सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म टाेखा ३ सरस्वती भवन मा आयोजित शिविरमा पाठेघरको क्यान्सरसम्बन्धी HPV DNA स्क्रिनिङ, भिडियो एक्स–रे, पाठेघरको क्यान्सर तथा स्त्रीरोग विशेषज्ञबाट निःशुल्क परामर्श सेवा लगायतका सेवा प्रदान गरिएको थियो ।
शिविरमा प्राविधिक सहयोग MN Hospital र Modern Diagnostic Center ले गरेका थिए । टोखा नगरपालिका वडा ३ का स्वास्थ्य विभाग प्रमुख सञ्जीव पटेलका अनुसार शिविरमा ८२ जना महिलाको HPV DNA परीक्षण गरिएको छ भने ६० जनाको भिडियो एक्स–रे गरिएको छ । उहाँले पाठेघरको क्यान्सर प्रारम्भिक अवस्थामै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले यस्ता शिविरले महिलाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । साथै नगरपालिकाले आगामी दिनमा पनि यस्ता जनस्वास्थ्यमुखी कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
त्यस्तै, वडा अध्यक्ष रमेश डंगाेलले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै वडावासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता निःशुल्क शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले नियमित स्वास्थ्य परीक्षण र समयमै रोगको पहिचानले गम्भीर स्वास्थ्य समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा सदस्य शान्ता राईले महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन आग्रह गर्दै यस्ता शिविरमा सक्रिय सहभागिता जनाउन अनुरोध गर्नुभयो । उहाँले स्थानीय सरकार नागरिकको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको उल्लेख गर्दै महिलाको स्वास्थ्य संरक्षणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
शिविरमा वडा अध्यक्ष, वडा सदस्यहरू, स्वास्थ्य स्वयंसेविकाहरू तथा स्थानीय महिलाको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले निःशुल्क विशेषज्ञ सेवा, परीक्षण र परामर्शबाट प्रत्यक्ष लाभ पाएको भन्दै यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
टोखा नगरपालिका–३ ले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ हरेक शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । नियमित रूपमा सञ्चालन हुने यस्ता शिविरले रोगको समयमै पहिचान, उपचारमा पहुँच विस्तार र स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याइरहेको विश्वास व्यक्त गर्दै वडाले आगामी दिनमा पनि नागरिकको आवश्यकताअनुसार यस्ता जनमुखी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


