Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्य बनाउने लक्ष्यसहित इक्यान–आइप्यानबीच समझदारी


ग्लोबल पाना
मंगलबार, असार १६ २०८३
  • 193
    SHARES

  • images
    नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्य बनाउने लक्ष्यसहित इक्यान–आइप्यानबीच समझदारी

    काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउन, गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणलाई प्रवर्द्धन गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको गन्तव्यका रूपमा स्थापित गर्ने तथा स्टडी इन नेपाल अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने साझा उद्देश्यका साथ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच दुई पक्षबीच आज समझदारी भएको हो ।

    images
    images
    images

    सम्झौतामा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल र आइप्यानका अध्यक्ष लक्ष्मण केसीले हस्ताक्षर गरेका छन् । यस समझदारीले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई अझ सुदृढ, व्यवस्थित तथा विश्वसनीय बनाउँदै शैक्षिक परामर्शदाता संस्था र अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त उच्च शिक्षा संस्थाबीच दीर्घकालीन सहकार्य, समन्वय तथा पारस्परिक विश्वासलाई संस्थागत गर्ने विश्वास गरिएको छ ।

    समझदारीपत्र अनुसार अब इक्यानका सदस्य संस्थाहरूले आइप्यानका सदस्य कलेज तथा शैक्षिक संस्थाहरूमा सञ्चालन हुने शैक्षिक कार्यक्रम, अध्ययनका अवसर, भर्ना प्रक्रिया, प्रवेश मापदण्ड, छात्रवृत्ति, करियर सम्भावना तथा अन्य शैक्षिक जानकारीमा प्रत्यक्ष पहुँच प्राप्त गर्नेछन्। यसबाट विद्यार्थी तथा अभिभावकलाई अझ तथ्यपरक, अद्यावधिक तथा गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै दुवै संस्थाले व्यावसायिक, पारदर्शी, नैतिक तथा जिम्मेवार कार्य वातावरण निर्माण गर्दै संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    समझदारीको महत्वपूर्ण पक्षका रूपमा दुवै संस्थाले स्टडी इन नेपाल अभियानलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक अध्ययन गन्तव्यका रूपमा स्थापित गर्न सहकार्य गर्ने तथा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना, शैक्षिक ब्रान्डिङ, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी र शैक्षिक कूटनीतिलाई सशक्त बनाउने सहमति गरेका छन् । यस अभियानमार्फत नेपालको उच्च शिक्षा प्रणालीलाई विश्व समुदायमाझ प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थी, अनुसन्धानकर्ता तथा शैक्षिक साझेदारहरूलाई नेपालसँग जोड्ने लक्ष्य राखिएको छ ।

    यसैगरी दुवै संस्थाले संयुक्तरूपमा क्षमता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, शैक्षिक अभिमुखीकरण, अनुसन्धान, नीतिगत संवाद, बीटूबी नेटवर्किङ कार्यक्रम, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा ‘स्टडी इन नेपाल’ अभियान अन्तर्गत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्नेछन् । यसबाट शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूबीच समन्वय, सहकार्य तथा सूचना आदान–प्रदानलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । त्यसैगरी दुवै संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू संयुक्तरूपमा सञ्चालन गर्ने, शिक्षामा पहुँच अभिवृद्धि गर्ने तथा आर्थिक रूपमा कमजोर, जेहेन्दार, प्रतिभाशाली एवं अवसरबाट वञ्चित विद्यार्थीहरूलाई आइप्यानका सदस्य संस्थाहरूमा अध्ययनका लागि छात्रवृत्ति तथा विशेष शैक्षिक अवसर उपलब्ध गराउने विषयमा समेत सहकार्य गर्ने सहमति गरेका छन् ।

    यस साझेदारीमार्फत विद्यार्थी, अभिभावक तथा सरोकारवालामाझ अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षाबारे सही, विश्वसनीय तथा अद्यावधिक जानकारी प्रवाह गर्ने, गुणस्तरीय शैक्षिक परामर्श प्रणालीलाई थप सुदृढ बनाउने, अन्तर्राष्ट्रिय स्तरका शैक्षिक अवसरहरूको पहुँच विस्तार गर्ने तथा नेपालको शिक्षा क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्न दुवै संस्थाले संयुक्त रूपमा कार्य गर्नेछन् । समझदारीपत्र हस्ताक्षर समारोहमा दुवै संस्थाका नेतृत्वले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी, विश्वसनीय तथा विद्याथीमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    इक्यानका अध्यक्ष लक्ष्मण पौडेल, पूर्व अध्यक्ष शेषराज भट्टराई, आइप्यानका अध्यक्ष लक्ष्मण केसी, महासचिव शैलजा अधिकारी लगायतले नेपालमा अध्ययनको उचित वातावरण निर्माण गर्न नीतिगत सुधारको माग गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ