Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बजेटको लक्ष्य लोकप्रिय छ : अर्थमन्त्री डा. महत


ग्लोबल पाना
शनिबार, असार १६ २०८०
  • 255
    SHARES

  • images
    बजेटको लक्ष्य लोकप्रिय छ : अर्थमन्त्री डा. महत

    पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताउनुभयो । शनिबार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ ।

    images
    images
    images

    त्यसका लागि बाटो तय भएको छ ।’ उहाँले भन्नुभयो, ‘हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई हामीले पूर्णरुपमा निषेध गरेका छौं ।’ ‘हाम्रो अर्थतन्त्रमा केही समस्या थिए, राजस्व कम उठिरहेको थियो । जनआकांक्षा बढ्दो छ, श्रोत साधन सीमित रहेको अवस्थामा हामीले बजेट प्रस्तुत गरेका हौं’ उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको गतिशीलतामा समस्या आइरहेको थियो ।

    लगानीको वातावरण राम्रो भइरहेको थिएन । बैंकमा व्याजदर बढी थियो ।’ ‘यसका बाबजुद अर्थतन्त्रमा सुधारको संकेत देखिएका छन् । वैदेशिक मुद्रा सञ्चिती पर्याप्त छ । पर्यटन व्यवसाय फस्टाउँदै गएको छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ । बैंकको ब्याजदरमा पनि कमी हुन थालेको छ । अझ निर्णायक पहल राष्ट्र बैंकले गर्छ भन्ने मलाई विश्वास छ, मन्त्री डा. महतले भन्नुभयो, ‘बजेट निर्माणमा धेरै चुनौति थिए, राजस्व अनुमानभन्दा धेरै कम उठेको थियो ।

    वैदेशिक ऋणको ब्याज तिर्ने दायित्व बढ्दै गएको छ । अर्को वर्ष अझ बढ्छ । पूँजीगत खर्च धेरै विनियोजन गर्न सक्ने अवस्था थिएन । साउ ब्याज तिर्ने दायित्व र सामाजिक खर्च घटाउन नसक्ने अवस्था थियो ।’ ‘नेपालमा पूँजीगत खर्च नहुने अर्को ठूलो समस्या आजको वास्तविकता हो । अब यो बजेटले दोस्रो चरणको सुधार थाल्नुपर्छ ।

    बजेट प्रकृयामा व्यापक सुधार ल्याउने, निश्चित समयभित्र ठेक्का लागिसक्नुपर्नेलगायतका कुराहरु हामीले बजेटमा उल्लेख गरेका छौं’ मन्त्री डा. महतले भन्नुभयो, ‘यसैका आधारमा हामीले पूँजीगत खर्च बढाउन र साधारण खर्चलाई बढ्न नदिने, करको दायरालाई बैज्ञानिक बनाउने, भ्याटले हाम्रो राजस्वको दायरा बढिरहेको थियो । पछिल्लो समय एकपछि अर्को मूल्य अभिवृद्धि कर हटाउँदै जाँदा पनि समस्या आयो । हामीले पुनः प्रवेश गराएका छौं ।’

    मन्त्री डा. महतले भन्नुभयो, ‘जुन समुदाय वा वर्गले बढी सुविधा लिइरहेका थिए, करको दायरामा आइरहेका थिएनन, उनीहरुलाई करको दायरामा ल्याउने काम हामीले गरेका छौं । राजस्वको दायरा अब फराकिलो हुन्छ । राजस्वतर्फ निर्धारण गरेको लक्ष्य भेट्न हामीलाई सहज हुन्छ ।’ ‘वैदेशिक सहयोगको सदुपयोग भइरहेको थिएन, खर्च भइरहेको थिएन । अब समय तालिकाका आधारमा खर्च गर्ने प्रवन्ध सुनिश्चित गरिसकेपछि वैदेशिक सहयोग थप माग गर्न सहज हुनेछ ।

    सहयोग दिएको छ, खर्च भएको छैन, अर्को माग्नुको कुनै अर्थ हुँदैन’ मन्त्री डा. महतले भन्नुभयो, ‘खर्च प्रकृयालाई सहज बनाउने र अनुशासन कायम गर्ने काममा म लागेको छु । कुनै दायाँबायाँ, पक्ष, विपक्ष र घरना नहेरी अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन आवश्यक छ । जनता र देशलाई केन्द्रमा राखेर मैले बजेट प्रस्ताव गरेको छु ।’ ‘अन्त धेरै दियो, मेरो निर्वाचन क्षेत्रमा बजेट थोरै आयो भन्ने माननीयज्यूहरुको गुनासो आयो ।

    हामीसँग पूँजीगत खर्च थोरै भएको वास्तविकता उहाँहरुले बुझिदिनु भएन । ऋणको साउ व्याज तिर्नैपर्ने, साधारण खर्च कटौती गर्न नसकिने अवस्थाले गर्दा हाम्रो पूँजीगत खर्च कम भयो । विकास निर्माणमा जनताको स्वभाविक आकांक्षालाई माननीयज्यूहरुले संसदमा बोल्नु भएको हो, मन्त्री डा. महतले भन्नुभयो, ‘तयारी वस्तु बाहिरबाट मगाउनेलाई भन्दा यही कच्चा पदार्थ ल्याएर उद्योग विस्तार गर्नेलाई हामीले कम्तीमा एक तहको संरक्षण दिएका छौं ।

    यसले नेपालमै उद्योग व्यवसाय फस्टाउन मद्दत पुग्छ । कृषिमा हामीले उत्पादनमा अनुदान दिएका छौं ।’ ‘तमाम प्रस्ताव अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको छ । यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्ने प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।

    हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई पूर्णरुपमा निषेध गरेको मन्त्री डा. महतले बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ