Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

धार्मिक पर्यटकको राेजाईमा मलेखुकाे नरसिंह धाम


ग्लोबल पाना
सोमबार, भदौ ११ २०८०
  • 299
    SHARES

  • images
    धार्मिक पर्यटकको  राेजाईमा मलेखुकाे नरसिंह धाम

    मलेखु । एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती। यही दुई नदीको सङ्गममा छ नरसिंह धाम। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन्।

    images
    images
    images

    गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ। यशोधरा भन्नाले बुढीगण्डकी र नेत्रावती भन्नाले आँखु खोला भन्ने बुझाउँछ। अघिल्ला वर्षहरुमा खासै चर्चामा नरहेको धाम एकाएक चर्चामा आएसँगै धार्मिक पर्यटकको चहलपहल निकै बढेको छ। साउन महिनामा मात्रै १० लाख बढी भक्तजनले नरसिंह धामको दर्शन गरेका छन्।

    नरसिंह धाम विकास संरक्षण मूल समितिका अध्यक्ष फणिकान्त छत्कुली भन्छन्,‘‘साउन महिनाको सुरुवातदेखि एक महिने विशेष मेला आयोजना गरियो। त्यसपछि देशका कुनाकाप्चा र भारतबाट पनि भक्तजन आउन थाले।’ हिजोआज दैनिक सयौं भक्तजन धाममा पुग्छन्।

    बिदाको दिन त सानाठूला गरी दुई सय सवारी त्यहाँ पुग्ने गरेको उनको भनाइ छ। धाममा जाने भक्तजन बुढीगण्डकी र नेत्रावतीको दोभानमा नुहाउँछन् र नरसिंहको अवतारमा पूजापाठ गरी भेटी चढाएर फर्किन्छन्। धेरै भीड भएको दिन चार लाख रुपैयाँसम्म भेटी संकलन भएको अध्यक्ष छत्कुलीले बताए। उनका अनुसार त्यही भेटीबाट केही खर्च छुट्याएर धाममा पुग्ने भक्तजनलाई प्रसादीको रुपमा निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको छ।

    यस धामको २०६६ फागुनदेखि खोज अनुसन्धान सुरु भयो। शास्त्रीय प्रमाणका आधारमा पं. मोहन लामिछाने स्थानीयवासीको सहयोगमा नरसिंह मन्दिरको स्थापना गरे। २०६७ सालमा आँपको फेदमा बसेर पुराण लगाएर उठेको पैसाले मन्दिरको संरचना निर्माण थालियो। मन्दिर बनाउने स्थान खार्ने क्रममा लिच्छबीकालीन सिक्का पैसा, इँट्टाका मूर्तिलगायत भग्नावषेश फेला पर्‍यो। त्यसपछि हरेक वर्ष पुराण लगाउन थालियो।

    २०७२ सालको भूकम्पले मन्दिर भत्किएपछि उत्खनन् गर्दा प्राचीन ढुंगा, इँटा र सिक्काहरू भेटिएको थियो। सल्यानटारको तल्लो क्षेत्र सबै बालुवा र ढुङ्गाको डाँडो जस्तो छ। तर यस ठाउँमा भने सात-आठ फिट गहिरो खन्दा चिम्ट्याइलो रातो माटो र इँटाका अवशेष भेटिन्छन्। विसं २०७६ देखि रु २१ करोडको लागतमा नयाँ मन्दिरको सुरुवात गरिएको छ।

    मन्दिर निर्माणका लागि विभिन्न पालिकाहरुको लगानी रहेको छ भक्तजनबाट संकलन भएको रकमबाट मन्दिरका अतिरिक्त गुरूकुल भवन, आवास गृह, प्रसादी गृह, गौशालालगायतका भौतिक संरचना निर्माण भइरहेको छ। यहाँ गुरूकुल पनि सञ्चालन भइरहेको छ।

    यसका लागि शिक्षा मन्त्रालयले दुई वटा विद्यालय भवन बनाउन सहयोग गरेको छ। गुरूकुलमा हाल ५० भन्दा बढी विद्यार्थी छन्। भक्त प्रल्हादले ज्ञान प्राप्त गर्नुभएको स्थल भएकाले यो स्थान गुरूकुल सञ्चालनको निम्ति अत्यन्त महत्वपूणर् रहनेको पुरोहित गणेश लोहनी बताउँछन्।

    भक्त प्रह्लादले तपस्या गर्दा भगवान् नरसिंहले नदीबाट प्रकट भएर दर्शन दिएकाले त्यो नदीको नाम नारसिंहे भनेर रहन गयो र त्यो नदी नै अहिले नेत्रावती (आँखु) नामले चिनिन्छ। नेत्रावती नदी भगवान् शिवजीको आँखाबाट बगेकी हुन् भन्ने पनि जनविश्वास पाइन्छ। नरसिंह स्फटिक खम्बाबाट धाम हुँदै आगिञ्चोकसम्म पुग्दा भगवान् नरसिंह प्रकट भएको स्थल, होलीको दहन भएको स्थल (आगिञ्चोक), नारदमुनिले प्रह्लादलाई उपदेश दिएको स्थल पनि यही हो भनिएको छ।

    विभिन्न पुस्तकहरुमा लेखिएअनुसार यस स्थानलाई श्वेतवराह कल्पमा प्रह्लाद महाराजले तपस्या गरेर भगवान् नरसिंह प्रकट भई दर्शन दिएको स्थल भनी उल्लेख गरिएको छ। अहिलेसम्म तीन सय विद्यार्थी राख्न मिल्ने गुरूकुल भवन, चार सयसम्मलाई खाना खुवाउन सकिने प्रसादी गृह, दुई सय जनालाई राख्न सकिने अतिथि आवास गृह, ४० ओटासम्म गाई पाल्न सकिने गौशालाका साथै भण्डार कक्षहरुको निर्माण सम्पन्न भइसकेको छ।

    हाल श्रीवास कृष्णदास ब्रह्मचारीको सत्संकल्पमा मन्दिर निर्माणसहित यस क्षेत्रलाई विशिष्ट धामको रूपमा विकसित गर्ने उद्देश्यका साथ काम अगाडि बढिरहेको छ। पुरातत्वविद्ले खोज अनुसन्धानमा यहाँ लिच्छवीकालीन बस्ती भएको अनुमान गरिएको छ। अर्कोतर्फ वैदिक सनातन शास्त्रहरूमा भगवान् नरसिंहदेवको विभिन्न १२ वटा प्राकट्य स्थल र १२ वटा नरसिंह पीठमध्ये यो स्थानलाई पनि एक पीठको रूपमा वणर्न गरिएको छ।

    शास्त्रीय हिसाबले यी दुई नदी बुढीगण्डकी र नेत्रावतीलाई नार सिंह र ब्राह्मी भनेर स्कन्द पुराण र पद्म पुराणमा व्याख्या गरिएको छ। स्थानीय पाकाहरूको भनाइअनुसार घाटबेंसी जाने पुल बन्नुभन्दा पहिला मानिसहरू गण्डकी नदी पार गर्न जँगार तर्नुपर्दा यहाँ तल आउनुपर्ने बाध्यता थियो। त्यतिखेरसम्म यहाँ पूजाआजा हुने गर्दथ्यो ।

    त्यतिबेला यहाँ मन्दिर थिएन। तर यहाँ नरसिंह देवता छन् भन्दै थुम्कामा फूलपाती र भेटी चढाएर जाने चलन थियो भन्ने कथन छ। त्यतिबेला कतिपय मानिसले जताततै इँटा देखिने हुँदा यस क्षेत्रलाई इँटको डाँडो भन्ने गरेको किंवदन्ती छ।

    पछिल्लो समय मन्दिर निर्माणको निम्ति उत्खनन् गर्दा पनि २०३५ सालभन्दा अगाडिका झण्डै २ पाथी जति सिक्का भेटिएको थियो। नरसिंह धाम पछिल्लो समय आन्तरिक पर्यटनको गन्तव्य बनिसकेको छ। साउन महिनाभर चलेको पुरुषोत्तम महायज्ञ कथा अर्चना तथा नृसिंह महायज्ञले यसलाई अझ परिचित गराएको छ।

    विभिन्न सामाजिक संजालहरुमार्फत पनि यसको प्रचार निकै भएको पाइन्छ। धादिङ र गोरखाका स्थानीय सरकारहरुले पनि धामको प्रचार र यस क्षेत्रको पर्यटनको विकासमा राम्रै सहयोग गरिरहेको छ।

    नरसिंह धामलाई धार्मिक पर्यटनका लागि देशकै नमूना स्थल बनाउने योजनासहित काम गरिरहेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताए। यो वर्ष बाटो स्तरोन्नति गराएर सानाठूला सबै सवारीलाई सजिलै धामसम्म पुर्‍याउने योजना रहेको उनको भनाइ छ।

    हाल मन्दिर निर्माण भइरहेको स्थान बुढीगण्डकी जलविद्युत् आयोजनाले डुबानमा पर्ने भएपछि ७० मिटर अग्लोसम्म पानीको ताल जाँदा त्यसलाई थेग्न सक्ने गरी जग राखिएको समितिका अध्यक्ष छत्कुलीको भनाइ छ।

    ताल बनेपछि मन्दिरसम्म ढुंगामा आउने र लिफ्टबाट मन्दिरमा झर्ने र दर्शन गरेर फर्किन सकिने गरी मन्दिरको संरचना निर्माण भइरहेको उनले जानकारी दिए। धादिङको सदरमुकाम धादिङबेसीबाट मुरलीभञ्ज्याङ, ज्यामिरेबजार हुँदै टारीबेसी पुगिन्छ। त्यसपछि देशकै चर्चिक टार सल्यानटार उक्लिएर नरसिंह धामको ओरालो झर्नुपर्छ।

    धादिङबेसीबाट सयानटारको बसको यात्रा करिब एक घण्टा ४५ मिनेको हो। धादिङबेसीबाट आरुघाट जाने बसले सल्यानटारको पानी ट्यांकी भन्ने ठाउँसम्म पुर्‍याउँछ। त्यसपछि म्याजिक भ्यानबाट करिब २० मिनेट नरसिंह धाम परिसर पुग्न सकिन्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ