Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

११ वर्षपछि बागलुङमा ४ पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुुल्यो


ग्लोबल पाना
सोमबार, भदौ १८ २०८०
  • 259
    SHARES

  • images
    ११ वर्षपछि बागलुङमा ४ पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुुल्यो

    म्याग्दी । म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन सङ्कलन हुन थालेको छ ।  अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।

    images
    images
    images

    यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले आइतबारदेखि (बि) (सि) (इ) (एफ) र (जि) वर्ग (चार पाङ्ग्रे) सवारी चालक अनुुमतिपत्रका लागि आवेदन खुला गरिएको जानकारी दिए।बागलुङमा हाल (ए) र (के) वर्ग (दुई पाङ्ग्रे) को मात्र परीक्षा सञ्चालन हुने गरेको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन ।

    “ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियौँ”, उनले भने, “प्रतिस्पर्धामार्फत छनोट भएको धौलागिरि ड्राइभिङ सेन्टर प्रालि बागलुङसँग भदौ पहिलो साता सम्झौता भएको थियो । यसै हप्ताभित्र ट्रायल सुुरु गर्ने तयारीमा छौँ ।”कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्टिच्यूटले बनाएको संरचना भाडामा लिएको हो । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका-१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।

    कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गरिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धौलागिरि क्षेत्र लाभान्वित हुने बताए । “बागलुङमा चार पाङग्रेको ट्रायल सञ्चालन गर्न मन्त्रालयले चासो र पहल लिएको छ”, उनले भने “बागलुङमा परीक्षा सञ्चालन नहुँदा कास्कीलगायतका कार्यालयमा सेवाग्राहीको चाप पनि घट्छ ।” 

    लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुन सकेको थिएन । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुँदै आएको छ । दैनिक सयौँ जनाले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् । सवारी चालक अनुमतिपत्र सेवालाई सहज र छरितो बनाउन अनलाइन भुक्तानी सेवा गण्डकी प्रदेशबाटै सुरु भएको छ ।

    तत्काललाई कास्कीबाट सुरु भएको उक्त सेवा छिट्टै बागलुङ, तनहुँ र नवलपुर कार्यालयबाट पनि सुरु हुने मन्त्रालयका प्रवक्ता टिकाराम पौडेलले जानकारी दिए । यातायात कार्यालय कास्कीमा दर्ता भएका सवारी साधनको विवरण डिजिटलाइजेसन भएको छ । चालु आर्थिक वर्षमा अन्य यातायात कार्यालयमा रहेका सवारी साधनको अभिलेखलाई पनि डिजिटलाइजेसन गर्ने तयारी भएको छ । अभिलेखलाई डिजिटलाइजेशन गरेर सर्भरमा राखेपछि सेवाग्राही धेरै समय पालो पर्खेर बस्नु नपर्ने, ढड्डा खोज्दा हुने समयको बचत र झन्झट हटेको यातायात कार्यालय कास्कीका प्रमुख डिल्ली रिजालले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ