Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

स्याउ उत्पादनमा कमी


ग्लोबल पाना
आइतबार, असोज ७ २०८०
  • 419
    SHARES

  • images
    स्याउ उत्पादनमा कमी

    बागलुङ। बागलुङको निसीखोला गाउँपालिका-५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन्।

    images
    images
    images

    उनले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गर्थे। तर यसपटक भने उनको स्याउ बगान रित्तै छ।

    गत चैत र वैशाखमा परेको असिनाका कारण उनको स्याउ बगानको उत्पादनमा कमी आएको छ। उनले विसं २०४८ देखि परम्परागत तरिकाले स्याउखेती गर्दै आएका छन्।

    उनको मसगाउँमा रहेको १५ रोपनी जग्गामा स्याउखेती छ। दुई वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको स्याउ गत वर्ष राम्रो उत्पादन दिएको भए पनि यस वर्ष उत्पादनमा कमी आएको बताए।

    “गत वर्ष १५ क्विन्टल स्याउ बिक्री गरेको थिए, यस वर्ष २० देखि २५ क्विन्टल बिक्री गर्ने लक्ष्य थियो”, किसान बुढाथोकीले भने, “चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आयो, ढोरपाटन र निसेलढोर क्षेत्रमा पहिलोपटक असिना परेको थियो।”

    असिनाका कारण ढोरपाटन र निसेल्ढोर क्षेत्रका स्याउ किसान अहिले निराश भएको अगुवा स्याउ किसान बुढाथोकीले बताए। परम्परगात स्याउखेती सफल नहुँदा निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए। उनले आफ्नो व्यक्तिगतरूपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने लक्ष्य राखेका छन्।

    उनले यस वर्ष दुई सय इटालियन प्रजातिका बिरुवा थप गरेका छन्। “ढोरपाटन स्याउ ब्लकको अध्यक्षसमेत भएँ, अहिले सामूहमा काम गरेका छौँ, ढोरपाटन र निसेलढोका स्याउ किसानको नेतृत्व म आफैं गरिरहेको छु, परम्परागत स्याउ भएन”, उनले भने, “इटालियन प्रजातिको स्याउ फस्टाएको छ तर यस वर्ष भने स्याउ उत्पादनमा निकै कमी आयो असिनाले स्याउका फूल झार्दा उत्पादन न्यून भएको हो।”

    ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन्। कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात् कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाएको थियो।

    तर कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएको आधुनिक प्रजातिको स्याउको बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो। स्याउको परीक्षण सफल भएपछि अहिले पुनः नयाँ बिरुवा थप भइरहेको छ।

    सो क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौं भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ।

    ढोरपाटन उपत्यका, सेन्तुङ, श्यालपाखे र निसेलढोर, मसलगायतको स्थानमा परम्पराकालदेखि नै फ्याट्टफुट्ट स्याउखेती हुने गरे पनि त्यसले व्यावसायिकता पाउन थिएन।

    ढोरपाटन-९ ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले समेत एक सय ८१ वटा बिरुवामा केही बिरुवामा गत वर्षदेखि स्याउ फल्न थालेको बताउँदै यस वर्ष भने असिनाका कारण स्याउ निकै कम फलेको बताए।

    यहाँका स्थानीय परम्परागत स्याउखेती छाडेर इटालियन प्रजातिको स्याउखेती लगाउन अग्रसर भए पनि यसपटक ढोरपाटन क्षेत्रको स्याउ उत्पादनमा भारी गिरावट आएको किसान रामबहादुरले बताए। ढोरपाटन क्षेत्रमा दुई सयभन्दा बढी किसानले परम्परागत र एक दर्जन किसानले व्यावसायिक स्याउखेती गर्दै आएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ