Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

चितवनका २ गैंडा पुष्पा र अञ्जली कोशी टप्पुमा लगियो


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 301
    SHARES

  • images
    चितवनका २ गैंडा पुष्पा र अञ्जली कोशी टप्पुमा लगियो

    चितवन। चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैंडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ। दुई गैंडालाई छुट्टाछुट्टै खोरमा राखेर कोशी पठाइएको हो।

    images
    images
    images

    निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज बिहान ११ः३० बजे ती गैंडा खोरमा राखेर कोशी पठाइएको हो। गैंडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी गएको छ।

    वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोलीसमेत गैंडासँगै कोशी गएको छ।

    कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैंडा लगिएको हो। विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको थियो।

    सुरुमा यहाँबाट लगिएका गैंडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने छ। कोशीको पथरी सेक्टर कार्यालय नजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्टनजिक गैँडा राखिँदैछ। प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरिने छ।

    केही वर्षअघि उक्त निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो। तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैंडा ल्याउनुपर्ने माग गरेका थिए। सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामीताल क्षेत्रमा छाडिएका दुईवटा गैँडा कोशी पठाइएको बताए। ती दुवै पोथी गैंडा हुन्।

    ती गैंडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो। तिनीहरुलाई पुष्पा र अञ्जली नामाकरण गरिएको छ। अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष छ महिनाका छन्। ती गैंडाले अहिले पनि मानव बस्तीमा आएर दुःख दिने गरेकाले पठाइएको हो।

    पछिल्लो गणनाअनुसार निकुञ्जमा छ सय ९४ गैंडा रहेको तथ्यांक छ । पछिल्लो गणनाका क्रममा यी गैंडा उद्धार गरेर ल्याइएकाले तथ्याङ्कमा समावेश गरिएको छैन। पछिल्लो गणनाअनुसार देशभर सात सय ५२ गैंडा रहेका छन्।

    हाल पठाउन लागिएका गैंडा हुर्किएपछि थप भाले पनि पठाएर प्रकृतिमा छोड्ने योजना बनाइएको छ। निकुञ्जबाट यसअघि बर्दिया, शुक्लाफाँटा र विदेशीलाई उपहारमा समेत गैँडा पठाइएको थियो।

    यस निकुञ्जबाट सन् १९८६ देखि गैंडा स्थानान्तरण गर्न थालिएको हो। सुरुआतमा तीन भाले र एक पोथी गैंडा पठाइएको थियो। सोही वर्ष डिसेम्बरमा पाँच भाले र चार पोथी गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको सूचना अधिकारी तिवारीले जानकारी दिए।

    उनका अनुसार सन् १९९१ मा २५, सन् १९९९ मा चार गैंडा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको थियो। यस्तै सन् २००० मा २० वटा गैंडामध्ये १६ वटा बर्दिया राष्ट्रिय निकुञ्ज र चारवटा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइएको थियो।

    सन् २००१ मा पाँच, सन् २००२ मा दस, सन् २००३ मा दस, सन् २०१६ मा पाँचवटा गैंडा बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको थियो। यस्तै सन् २०१७ मा पाँचवटा शुक्लाफाँटा र तीनवटा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। पठाइएकामध्ये ४५ भाले र ५५ वटा पोथी गैंडा थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ