Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल


ग्लोबल पाना
बुधबार, असोज १७ २०८०
  • 394
    SHARES

  • images
    सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

    जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन् । समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू-भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गरे । 

    images
    images
    images

    “अहिले सामाजिक सद्भाव खल्बल्याउने मनासायले विभिन्न धर्म, सम्प्रदाय र परम्पराका नाममा फाटो ल्याउने काम भइरहेका छन् । धरान, सर्लाहीको मलङ्गवा र नेपालगन्जमा त्यही मनसायका साथ भइरहेका क्रियाकलापले हामीलाई चिन्तित बनाएको छ”, अध्यक्ष नेपालले भने, “यी कदमहरू जुनसुकै नाममा र आवरणमा भए पनि सदियौँदेखि मिलेर बसेको समाज र नेपालको संविधानको मर्मविरुद्धमा छन् । यसले एकता खल्बल्याउने र प्रतिगमनलाई प्रश्रय दिने काम हुन थालेको छ । त्यसैले हामी सबै नेपाली एक हौँ भन्ने भावनाका साथ मिलेर बस्न सबैलाई अपिल गर्दछु ।”

    पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान-२०८०’ का क्रममा जनकपुरधाम पुगेका अध्यक्ष नेपालले विभिन्न नाममा देखिन थालेका निराशा एवं आक्रोशलाई सम्बोधन गर्न समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताए । राजनीतिक क्रान्ति सफल भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले समाजवादका मूल्य, मान्यतालाई आत्मसात गर्दै नेपालको संविधानमा सहमतिका साथ लिपिबद्ध गरेको प्रतिबद्धताप्रति सबै इमान्दार बन्नुपर्ने धारणा राखे ।
     
    “राजनीतिक परिवर्तन त भयो । तर देशको आवश्यकता र जनचाहना सम्बोधन गर्न आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका समाजवादी नीति, कार्यक्रम दिनसकिएको छैन । पर्याप्त रोजगारी र सुशासनमार्फत समृद्धि हासिल गर्ने कुरामा हामी चुकिरहेका छौँ । सबैका लागि राज्य भन्ने मान्यतालाई स्थापित गर्न धेरै काम गर्नुपर्ने छ । सही राजनीतिक दृष्टिकोण र विचारले मात्रै समकालीन समस्याबाट निकास दिनसक्छ । त्यसैले म सबै राजनीतिक दल र परिवर्तन पक्षधरहरूलाई वर्तमान निराशालाई चिर्ने गरी काम गर्न आग्रह गर्दछु ।”

    फरक प्रसङ्गमा अध्यक्ष नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने भन्दै वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्नेसमेत स्पष्ट पारे । “वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ । त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ”, उनले भने ।  

    एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान-२०८०’ सुरु गरेको छ । यो अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने छ । ‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ सुरु भएको अभियानका क्रममा पूर्वमेचीबाट पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने अभिप्राय रहेको अध्यक्ष नेपालको भनाइ छ । समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशका अध्यक्ष प्रवीण साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललगायत नेताको समेत उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ