Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मेलम्चीमा खानेपानी समस्या समाधान हुँदै


ग्लोबल पाना
शनिबार, कात्तिक ११ २०८०
  • 337
    SHARES

  • images
    मेलम्चीमा खानेपानी समस्या समाधान हुँदै

    सिन्धुपाल्चोक। मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका छन्। अब भने मेलम्ची नगरपालिका-११ मेलम्ची बजारका स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ।

    images
    images
    images

    बजारका घरमा खानेपानीको धारा जडान गरेर खानेपानीको सुविधा पुर्‍याउने गरी योजना सञ्चालन भएपछि खानेपानीको समस्या समाधान हुनेमा स्थानीय ढुक्क भएका छन्। विसं २०७० भन्दाअघिदेखि योजना सञ्चालन भए पनि विविध कारणले सम्पन्न हुन नसकेको बजार खानेपानी योजना यतिखेर अन्तिम चरणमा पुगेको वडा नम्बर ११ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए।

    अहिले बजारको तीन सय १० घरधुरीलाई पानी वितरण गर्ने गरी काम भइरहेको तामाङले बताए। खानेपानी तथा सरसफाइ कार्यालय सिन्धुपाल्चोकले ट्याङ्की निर्माण गरे पनि बजारसम्म पानी पुर्‍याउन सकिएको छैन। सङ्घीय खानेपानी कार्यालय भक्तपुरबाट कटुञ्जे बढरे खोला मुहानमा इन्टेक निर्माण, मुख्य पाइपलाइन व्यवस्थापन र मुहान संरक्षणका काम गरेपछि बजारमा खानेपानीको योजना पुनः सञ्चालनमा आएको वडाध्यक्ष तामाङले बताए।

    आर्थिक वर्ष ७८/७९ मा जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र मेलम्ची नगरपालिकाको साझेदारीमा ४० लाख बजेट विनियोजन भएको थियो। आब ७८/७९ मा बजेट विनियोजन भए पनि ७९/८० मा खरिद प्रक्रियामार्फत खर्च गरिएको हो। सो बजेटबाट मुहानदेखि बजारसम्म पानीको पाइप बिच्छ्याउने काम भएको वडाध्यक्ष तामाङले बताए।

    आब ८०/८१ मा नगरपालिका आफैँले रु १० लाख बजेट विनियोजन गरेर पाइप वितरणको काम गरेको तामाङको भनाइ छ। नगरपालिकाले बजार खानेपानीको लागि बजेट हालेपछि अहिले घरघरमा पानी पुर्‍याउन पाइप बिच्छ्याउने काम अन्तिम चरणमा पुगेको हो।

    नगरपालिकाको सबैभन्दा ठूलो बजारको रुपमा रहेको मेलम्चीमै पानीको अभाव भएपछि विशेष महत्वका साथ काम भइरहेको नगरप्रमुख आइतमान तामाङले बताए। इन्द्रावती, पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकाको समेत केन्द्र रहेको मेलम्ची बजारको खानेपानीको समस्या समाधान गर्नु नगरको मुख्य जिम्मेवारी रहेकाले अहिले तीव्र गतिमा काम भइरहेको र अब छिट्टै खानेपानीको समस्या समाधान हुने उनले बताए।

    स्थानीय तह आएको पहिलो वर्षनै स्थानीयका घरघरमा चौबिसै घन्टा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य लिइए पनि केही प्राविधिक समस्याका कारण समय लम्बिएको बताउने गरिएको छ। बजारका नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले विसं २०७० देखिनै काम सुरु भए पनि अहिले योजनाले मूर्तरुप लिन लागेको हो।

    “हामी प्राविधिकरुपमा देखिएको समस्याको पहिचान गर्दै पानी वितरण परीक्षण पनि गरिरहेका छौँ, आयोजनाको काम छिट्टै सक्ने योजनामा छौँ”, वडाध्यक्ष तामाङले भने। हाम्रो उद्देश्य भनेकै बजारको खानेपानीको समस्या अन्त्य गर्ने हो ।

    आयोजनाको भण्डारण ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको सम्पूणर् काम सम्पन्न भइसकेको छ। भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हालै मेलम्ची बजारमा पानी झारिएको छ भने पानी वितरणका लागि व्यवस्था गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम भइरहेको छ।

    मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको छ। आयोजना सम्पन्न भएपछि बजारमा पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाइने मेलम्ची नगर उपप्रमुख उमा प्रधानले बताए। “अब केही समयमै बजारका नागरिकले स्वच्छ खानेपानी पाउँदैछन्, यो सुखद् पक्ष हो”, उनले भने। Dc

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ