काठमाडौं । भूकम्पपीडितको उद्धार, उपचार र राहत लगायतका विषयमा केन्द्रित भएर तत्काल अगाडि बढ्ने सरकारले निणर्य गरेको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकले तत्कालका लागि उद्धार र राहतमा केन्द्रित हुने निणर्य गरेको हो ।
मुख्य सचिव र सुरक्षा निकायका प्रमुखसमेत सहभागी बैठकले राहतमा एक द्वार प्रणाली अपनाउने निणर्यको गरेको हो ।
गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा प्रारम्भिक राहत सामाग्री पठाइएको छ भने राहत तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बैठकले जाजरकोट र रुकुम पश्चिम जिल्लामा भूकम्पका कारण मृत्यु हुने नागरिकहरू प्रति श्रद्दान्जली व्यक्त गर्दै घाईतेहरुको स्वास्थ्य लाभको कामना सहित निम्न निर्णय गरेको छ।
॰ भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम जिल्लामा खोज, उद्धार तथा उपचारका कार्यलाई पहिलो प्राथमिकता दिई सम्पन्न गर्ने ।
॰ भूकम्पका घाइतेको तत्काल औषधि उपचारको व्यवस्थाका लागि आवश्यक पर्ने औषधी तथा विशेषज्ञ चिकित्सकसहितका जनशक्ति अत्यावश्यक औषधि उपकरणहरू छिटो हुने साधनद्वारा तत्काल परिचालन गर्ने र उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगञ्ज र काठमाडौमा तयारी अवस्थामा राखी सो कार्यको नेतृत्व तथा व्यवस्थापन स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले गर्ने ।
॰ प्राथमिक राहत व्यवस्थापनका लागि खानपान, अस्थायी आवास (टेण्ट, विपाल, कम्बल, म्याट्रेस, स्लीपिङ ब्याग आदी) सुर्खेत, नेपालगञ्ज र काठमाडौमा रहेका भण्डारणबाट भूकम्प प्रभावित जिल्लाको आवश्यकताका आधारमा तत्काल परिचालन गर्ने ।
॰ तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा ५/५ करोड रुपैया राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बाट तुरुन्त पठाउने।
॰ सुरक्षा फौजबाट विपद् उद्धारका लागि आवश्यक सामाग्री सहितका जनशक्ति खटाइएकोमा सशस्त्र प्रहरी बल नेपालबाट उद्धार तथा व्यवस्थानको लागि विशेष तालिम प्राप्त टोली पठाउने ।
॰ तत्काल लेखाजोखा (Initial Rapid Assessment) कार्यकालागि नेपाल रेडक्रसले जिल्ला विपद् व्यवस्थापन समिति संगको समन्वयमा तालिम प्राप्त जनशक्ति खटाउने।
॰ विपदमा खोज, उद्धार, उपचार र समन्वयका लागि सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक केन्द्र तोकी आवश्यकता अनुसार जनशक्ति र साधन श्रोत परिचालन गर्ने ।
॰ विपद्मा खोज उद्धार र सहयोगका लागि विदेशी राष्ट्र तथा नियोगबाट प्राप्त भएका सहयोग प्रस्तावका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै थप विवरण र क्षतिका आधारमा आवश्यकता अनुसार सहयोगका लागि अनुरोध गर्ने ।
॰ भुकम्पका कारण अवरुद्ध भएका सडक तत्काल खुलाउन सडक विभागले आवश्यक व्यवस्था मिलाउने । खोज, उद्धार र राहतका लागिका लागि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत एकद्वार प्रणाली अवलम्बन गर्ने साथै सहयोग गर्ने सबै व्यक्ति तथा निकायहरुले सोही संयन्त्रसॅग समन्वय गरी सहयोग गर्ने व्यवस्था मिलाउने ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


