Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

देश र जनताको हितमा निरन्तर अभियान : प्रधानमन्त्री


ग्लोबल पाना
आइतबार, मंसिर ३ २०८०
  • 234
    SHARES

  • images
    देश र जनताको हितमा निरन्तर अभियान : प्रधानमन्त्री

    रुकुम पूर्व। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताएका छन्। ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगंगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रस्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको बताए।

    images
    images
    images

    प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौं जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताए। प्रधानमन्त्री दाहालले नियमित रुपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख पारे।

    भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देश विरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्रीको भनाइ छ। तराई मधेसमा लामो समयसम्म सामन्तवादको अवशेषका रुपमा रहेको मिटरब्याजी विरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएकोसमेत उनले उल्लेख गरे।

    वर्तमान सरकारले विकास निर्माणको कामलाई पनि सार्थक रुपमा अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले लामो समयदेखि चर्चामा सीमित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामसमेत अगाडि बढेको बताए। नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको समेत प्रधानमन्त्री दाहालले जानकारी दिए।

    विद्युत् व्यापारमा नयाँ पहल भएको तथा नेपाल र चीनबीच विभिन्न नाका खोल्ने सहमति भएको उनको भनाइ छ। चीनले हिमाली नाकासँगसम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सोही परियोजना अन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने स्पष्ट पारे।

    सो परियोजनाले यस जिल्लाका नागरिकको जीवनस्तरमा सुधार आउने उनको भनाइ छ। पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको तथ्य पेस गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकले एकताको विकल्प नभएको बताए।

    विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए। नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहान मात्रै छलफल भएको जानकारी दिँदै उनले डा बाबुराम भट्टराई सँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गरे।

    माओवादीकै पहलमा सुरु भएको सहिदमार्ग निर्माणका लागि आफूले थप पहल गर्ने प्रधानमन्त्रीको भनाइ छ। यस जिल्लामा रहेको प्राकृतिक स्रोतको अधिकतम उपयोग गरेर समृद्ध बनाउनका लागि आफ्नो ध्यान गएको उनले उल्लेख गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ