काठमाडौं । मनकामना केबलकार २६ औँ बर्षमा प्रवेश गरेको छ । गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा जाने दर्शनार्थीहरुको सहजताका लागि चितवनको इच्छाकामना ४ स्थित कुरिनटार (चेरेस) बाट मनकामना मन्दिर १० मिनेटमा पुग्ने गरि सञ्चालनमा ल्याएको केबलकार २५ बर्ष पुरा गरि शुक्रबार २६ औँ बर्षमा प्रवेश गरेको हो ।
व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले २०५५ साल मङ्सिर ८ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा ल्यउनुभएको हो । हाल सम्म १ करोड ८० लाख ९३ हजार २५५ जनाले केबलकार चढेको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
सुरुवाती बर्षमा २/३ लाख बार्षिक यात्रुहरुलाई सेवा दिदैँ आएको केबलकारले हाल वार्षिक ११ लाख यात्रुलाई सेवा दिँदै आएको मनकामकना दर्शन प्रालिले जनाएको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।
केबलकार सञ्चालन पश्चात प्रसिद्ध धार्मिक स्थल मनकामनाका साथै आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तव्य बनेको र यस क्षेत्र भारत लगायत विश्वरभरमा महत्वपूर्ण गन्तव्यको रुपमा स्थापित भएको सञ्चालक श्रेष्ठको भनाई छ ।
उहाँका अनुसार यहाँ आउने पर्यटक मध्ये २५ प्रतिशतको हाराहारीमा भारतीय पर्यटक रहने गरेका छन् । श्रेष्ठले मनकामना दर्शन प्रालिले मनकामना आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्गलाई सहयोग गर्दै आएको पनि बताउनुभयो ।
उहाँका अनुसार विनाशकारी गोरखा भूकम्पपछि पश्चिम गोरखाका ७–८ स्थानीय तहलाई कम्पनीले राहत उपलब्ध गराएको थियो । सामाजिक व्यवसायिक उत्तरदायित्व नीति अनुसार कम्पनीले केवलकार टिकट आम्दानीको कुल रकमको १/१ प्रतिशतका दरले कुल २ प्रतिशत रकम गोरखाको शहिद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकालाई वर्षेनी सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
सञ्चालक श्रेष्ठले एक वर्षमा २ करोड हाराहारीमा आयकर तिर्दै आएको बताउनुभयो । केबलकारबाट गत आर्थिक वर्षसम्ममा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ राजस्वमा योगदान गरेको छ ।
पर्यटनतर्फ सबैभन्दा बढी कर तिरेवापत आन्तरिक राजस्व विभागले मनकामना केबलकारलाई बिहीबार सम्मानित गरेको थियो। पूर्ण डिजिटल प्रविधिमा स्तरोन्नती गरिने यसैबिच मनकामना केबलकारलाई पूर्ण डिजिटल प्रविधिमा स्तरोन्नती गरिने भएको छ । २५ बर्ष पुगिसकेको हालको एनालग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्प्रेयर पार्टस् समेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै यस प्रविधिलाई हालकै नविनतम डिजिटल प्रविधिमा स्तारोन्नती गर्ने भएको हो ।
हाल पहिलो चरणको काम सन् २०२१ मा सम्पन्न भइसकेको र बाँकी काम सन् २०२४ को भदौ/असोज महिना सम्ममा सम्पन्न गरिने श्रेष्ठले बताउनुभयो । स्तरोन्न्ती गर्न ४५ करोड लगानी हुने उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार अबको चरणमा कन्ट्रोल सिस्टम, कम्यूनिकेशन केबलका साथै केबलकारको लठ्ठा फेरिने छ ।
यसैबिच मनकामना केबलकारहाताभित्र सुविधा सम्पन्न रिर्सोट सञ्चालन गर्ने भएको छ । हाल निर्माण कार्य भइरहेको ४० कोठाको रिर्सोटमा स्वीमिङ पुल,हेल्थ क्बल, सभा सेमिनार हल, र रेष्टुरेन्ट सुविधा रहने श्रेष्ठले बताउनुभयो ।
मनकामना दर्शन प्रालिबाट सञ्चालन हुने यस रिर्सोटका लागि ५५करोड रुपैयाँ लाग्ने अनुमान रहेको उहाँले बताउनुभयो । सन् २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिसोर्ट सञ्चालनमा ल्याउने उहाँको भनाई छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


