Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

महासमिति बैठक नसार्न देउवालाई दबाब


ग्लोबल पाना
शुक्रबार, मंसिर २९ २०८०
  • 370
    SHARES

  • images
    महासमिति बैठक नसार्न देउवालाई दबाब

    काठमाडौं । दुई साताअघि बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘यस्तो ठण्डी छ, देशभरिबाट मान्छे आउनुपर्ने हुन्छ । महासमिति बैठक पुसमा गर्न सकिदैन होला, अलि पछि गरौँ ।’ देउवाको प्रस्ताव भुँइमा नझर्दै उनीनिकट पदाधिकारीहरूले महासमिति बैठक पुसमाभन्दा फागुनमा गर्नु उपयुक्त हुने थपेका थिए ।

    images
    images
    images

    तर महामन्त्री गगनकुमार थापाले भने पहिल्यै मिति तोकेर एकपटक स्थगित गरिसकेको महासमिति बैठक फेरि स्थगित गर्दा गलत सन्देश जाने भन्दै तोकिएकै मितिमै गर्नुपर्ने अडान लिएका थिए । त्यसपछि सभापति देउवाले विषयलाई टुंग्याउँदै भनेका थिए- ‘भैगो! भैगो! पछि कुरा गरौँला ।’

    देउवाले त्यही विषयलाई फेरि छलफलमा ल्याएका छैनन् । तर उनीनिकट नेताहरूले भने महासमिति बैठक फागुनसम्म सर्ने बताउन थालिसकेका छन् । त्यही प्रस्ताव कांग्रेसको शुक्रबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रवेश गर्दैछ ।

    तर महासमिति बैठक नसार्न नेता शेखर कोइराला समूहले सभापति देउवामाथि दबाब बढाएको छ । बुधबार कोइरालाले गुटको बैठक गरेरै महासमिति बैठक सार्नु नहुने अडान राखे भने महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने तोकिएकै समयमा महासमिति बैठक गर्नुपर्ने बताउँदै आएका छन् ।

    महामन्त्रीद्धय थापा र शर्माले बिहीबार साँझ नक्सालमा तीन घण्टा सामुहिक छलफल गरेर महासमिति बैठकको प्रतिवेदनलाई अन्तिम रूप दिए । सभापति देउवाले बैठक सार्ने प्रस्ताव ल्याउन लागेको बैठकमा महामन्त्रीद्धयले भने बैठकका लागि प्रतिवेदनसमेत तयार भइसकेको विवरण प्रस्तुत गर्न लागेका हुन् ।

    ‘महामन्त्रीहरूले प्रस्तुत गर्ने प्रतिवेदन तयार भइसकेको छ । हलसमेत बुक भइसकेको छ,’ महामन्त्री थापानिकट एक केन्द्रीय सदस्यले भने, ‘अब उपसभापतिको प्रतिवेदन एउटा हो, नभए महासमितिको सबै तयारी भइसकेको छ, यस्तो अवस्थामा महासमिति बैठक सार्नुहुन्नँ भन्ने कुरालाई बैठकमा हामी बलियोसँग प्रस्तुत गर्छौँ ।’

    ती नेताले महामन्त्रीद्धयले प्रतिवेदनलाई शुक्रबारको बैठकमै प्रस्तुत गर्ने गरी तयारी गर्नुले पनि सभापति देउवालाई महासमिति बैठक नसार्न दबाब पुगेको छ ।

    बुधबार बसेको कोइराला समूहको बैठकमा पनि महासमिति बैठक सार्न नहुने विषयमा छलफल भएको थियो । बैठकपछि उपउपसभापति एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने बताएका थिए । ‘महासमिति बैठक सानुपर्ने कुनै कारण नै छैन, सबै तयारी भइसकेको छ । पुसको जाडो भनेर बैठक सार्ने कुरा हुदैन, किनभने हामीले पुसमा पार्टीको महाधिवेशन नै गरेर आइसकेका छौँ,’ उनले भनेका थिए ।

    कांग्रेसको महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली संरचना महासमिति हो । महासमिति बैठकले पार्टीको नेतृत्व चुन्नेबाहेक सबै निणर्य गर्न सक्छ । १४ औँ महाधिवेशनका बेला कांग्रेस केन्द्रीय समिति बैठकबाटै तत्काल महाधिवेशनबाट नेतृत्वमात्रै चयन गर्ने र छ महिनाभित्र अलग्गै नीति महाधिवेशन गर्ने निणर्य गरेको थियो । तर महाधिवेशन सकिएको दुई वर्ष बित्दासम्म पनि कांग्रेसले नीति महाधिवेशन गर्न सकेन, बरू वार्षिकरुपमा गर्नैपर्ने महासमिति बैठकसमेत दुई वर्षसम्म भएन ।

    महासमिति र नीति महाधिवेशन दुवै गर्न नसकेको अवस्थामा कांग्रेसले महासमिति बैठक बोलाउने र त्यही बैठकमा नीतिबारे गर्नैपर्ने छलफलसमेत गर्ने योजना बनाएको छ । सभापति देउवा महासमिति बैठकमा आउने राजनीतिक प्रस्ताव र त्यसबाट आफूमाथि पर्ने दबाबबाट त्रसित छन् । छैटौँ पटक प्रधानमन्त्री बन्ने दौडमा रहेका देउवालाई पार्टीको महासमिति बैठकमा आउने प्रस्ताव र निणर्यबाट माहोल बिग्रिएला भन्ने चिन्ता समेत छ ।

    अर्कोतिर, राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ मा हुँदैछ । जसकारण पनि देउवा महासमिति बैठकलाई थप दुई महिना पर धकेलेर सहज बातावरण बनाउन चाहन्छन् । तर महामन्त्रीद्धय थापा र शर्मासहित पदाधिकारीहरूले भने महासमिति बैठक पटक-पटक स्थगित गर्दा पार्टीको सार्वजनिक छवि धुमिल हुने चिन्ता व्यक्त गर्दै आएका छन् ।

    कांग्रेसले यसअघि मंसिर १३ देखि १५ गते सम्म महासमिति बैठक गर्ने निणर्य गरेको थियो । त्यसकालागि सभापति देउवाको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको थियो भने उपसभापति पूणर्बहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदनको तयारी गर्ने जिम्मेवारी तोकिएको थियो ।

    तर त्यो मितिमा तयारी नपुगेको भन्दै कांग्रेस केन्द्रीय समितिले मंसिर २९ देखि पुस २ गतेसम्म महासमिति बैठक गर्ने निणर्य गरेको थियो । पछि फेरि चाडपर्वका कारण भन्दै पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्ने गरी स्थगित गरिएको थियो ।

    ‘पहिल्यै दुई पटक स्थगित भइसकेको छ । अब देशभरिबाट महासमिति सदस्यहरू चयन भएर काठमाडौँ आउने मानसिकता बनाइसकेको अवस्थामा फेरि महासमिति बैठक सार्ने कुरा हुदैन, कम्तिमा म चाँहि त्यस्तो प्रस्ताव लैजान सक्दिनँ,’ महामन्त्री थापाले केही दिन अघि सञ्चारकर्मीसँग भनेका थिए, ‘सभापतिज्यूले त्यस्तो प्रस्ताव ल्याउनुभयो भने उहाँ आफैँ त्यसको जिम्मेवार र जवाफदेही रहनुहुन्छ ।’

    नेताहरूका अनुसार उपसभापति पूणर्बहादुर खड्काले भने महासमिति बैठकका लागि आफ्नो प्रतिवेदन लेखनको काम पूरा नभइसकेकाले सभापति देउवालाई बैठक पर धकेल्न सुझाव दिने गरेका छन् ।

    ‘उहाँलाई दोहोरो जिम्मेवारी छ, उपप्रधानमन्त्री हुनुहुन्छ, यही बेला कणर्ालीमा गएको भूकम्पले पनि उहाँलाई व्यस्त बनायो,’ एक केन्द्रीय सदस्यले भने, ‘जसकारण उहाँको प्रतिवेदन लेखन सकिएको छैन । फेरि उहाँको प्रतिवेदन कांग्रेसको अबको गन्तव्यतर्फ केन्द्रीत छ, र महत्वपूणर् पनि छ ।’

    शुक्रबार बस्ने बैठकमा महासमिति बैठकको तयारीबारे छलफल हुदैछ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुसको चिसोमा बैठक गर्नु उपयुक्त नहुने सुझाव आइरहेको विषयमाथि बैठकमा छलफल हुने बताए । ‘देशभरिबाट महासमिति सदस्यहरू आउनुपर्छ, पाको उमेर भएका नेताहरू नै महासमितिमा हुनुहुन्छ,’ उनले भने, ‘त्यसकारण पुसको चिसोमा गर्नुभन्दा फागुनसम्म सार्दा राम्रै हुन्छ भन्ने लागेको छ । तर के हुन्छ ? बैठकबाटै निणर्य हुन्छ ।’

    महासमिति बैठकमा देशभरिबाट करिब २५ सय नेता कार्यकर्ता सहभागी हुनेछन् । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबारको बैठकमा राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी र जाजरकोट भूकम्पपछिको पुनर्निर्माणका विषयमा समेत छलफल हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ