Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

फिस्टेल स्पोर्टस् फेस्ट’ को उद्घाटन


ग्लोबल पाना
बिहीबार , पुस ५ २०८०
  • 347
    SHARES

  • images
    फिस्टेल स्पोर्टस् फेस्ट’ को उद्घाटन

    पोखरा । पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ को उद्घाटन गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले गरेका छन् । गुरुङले उद्घाटन गर्दै गुणस्तरीय शिक्षाका लागि राजधानी वा विदेश जानुको विकल्पका रूपमा मोफसलमै रहेर पनि फिस्टेल एकेडेमीले राम्रो अवसर दिएको विचार राखे ।

    images
    images
    images

    उद्घाटन मन्तव्य राख्दै उनले भने, ‘‘अहिले एउटा वर्ग आफ्ना सन्ततिलाई गुणस्तरीय र समयानुकूलको शिक्षा दिलाउनका लागि केन्द्र तथा विदेशतर्फ पलायन भइरहेको अवस्था छ तर त्यसको विकल्पका रूपमा मोफसलमा फिस्टेल एकेडेमी उदाएको छ । यसले विद्यालय तहकै शिक्षा लिन बाहिरिने कलिला नानीबाबुहरूलाई रोक्न सफल भएको छ ।’’

    उनले कोभिड १९ को सङक्रमणकालमा फिस्टेलले अपनाएको अनलाइन शिक्षणको सराहना गर्दै आगामी दिनमा फिस्टेल अझ सशक्त र मजबुत बनेर अगाडि बढ्ने विश्वास प्रकट गरे । उद्घाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यले विद्यालय सिकाइको थलो हो भन्ने कुरालाई फिस्टेल एकेडेमीले प्रमाणित गरेको विचार राखे ।

    यस्तै वडा नं. १७ की वडाध्यक्ष राधिकाकुमारी शाहीले सामुदायिक र निजी विद्यालय हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प नरहेको भन्दै वडाबाट सामुदायिक तथा संस्थागत विद्यालय भनेर विभेद नगरीकन विद्यार्थीको प्रतिभा प्रस्फुटन हुने कार्यक्रममा समान सहभागिताको अवसर दिने प्रतिबद्धता व्यक्त गरिन् ।

    प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले शिक्षामा संस्थागत विद्यालयको ठुलो हात रहेको बताउँदै विश्वविद्यालयमा विद्यार्थीको खडेरी परिरहेको वर्तमान परिप्रेक्षमा विद्यालयमा पनि त्यस्तै असर देखिने त होइन भन्ने कुरामा सजग रहनुपर्ने बताए । यसैगरी जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बानियाले खेलकुदले शारीरिक, मानसिक, आर्थिक, सामाजिक र संवेगात्मक विकास गर्ने मात्र नभई आपसी भाइचाराको विकास गरी युद्धको समेत अन्त्य गर्न सक्ने विचार राखे ।

    विद्यालयका संथापक अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका छात्रछात्राले विविध सांस्कृतिक प्रस्तुतिहरू पनि देखाएका थिए । विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटको स्वागत र सहप्राचार्य कमल लामिछानेको सञ्चालनमा भएको सो कार्यक्रममा स्कुल कोअर्डिनेटर डेबोरा लुइस न्युमन र विद्यार्थी रिजा श्रेष्ठले पनि बोलेका थिए ।

    औपचारिक रूपमा बिहीबार मात्र उद्घाटन भए पनि मङ्गलबारबाट नै विविध खेलहरू सञ्चालन भइरहेको कुरा अतिरिक्त क्रियाकलाप संयोजक राजा मुखियाले जानकारी दिए । यस अन्तर्गत बिहीबार फुटबलका ८ खेल, बास्केटबलका ६ खेल र टेनिसका ९ खेलहरू सम्पन्न भएका छन् । फुटबलतर्फ भएको पहिलो खेलमा द ड्रिम स्कुलले सेन्ट फ्रान्सिस स्कुलमाथि २–० गोलको सहज जित हासिल गर्यो ।

    दोस्रो खेलमा साइनिङ स्टार स्कुलका विरुद्ध शान्तिदीप स्कुलले ५–२ गोलको नतिजासहित अर्को चरणका लागि छनोट भयो । यसै गरी तेस्रो खेलमा वेलनन एकेडेमीले मेट्रोपोलिटन एकेडमीविरुद्ध ३–० को सहज जित निकाल्यो । चौँथो खेलमा लिटिल फ्लावर (बी) ले प्रतिभालाई २–० गोलका साथ पराजित गर्दा पाँचौँ खेलमा शान्तिनिकुञ्जले लिटल फ्लावर (ए) माथि ४–० को सहज जित प्राप्त गर्यो । यस्तै छैटौँ खेलमा बालकल्याणले पोखरा स्पाइरललाई २–० गोल गर्न सफल भयो ।

    सातौँ खेलमा कालिकाले शिशुकल्याणलाई ३–१ गोल अन्तरले पराजित गर्दा अन्तिम खेलमा फिस्टेल एकेडेमीले छोरेपाटन माविलाई १–० गोलले पराजित गर्यो । बिहीबार नै सम्पन्न बास्केटबलका लिग चरणका खेलहरूमा छात्रातर्फ फिस्टेल एकेडेमीले कुमुदिनीलाई २१–४ को स्कोरले पराजित गर्दा विन्ध्येश्वरी आदर्शले मनकामना बोर्डिङलाई २२–५ को स्कोरले पराजित गर्यो ।

    यसैगरी छात्रतर्फको खेलमा फिस्टेल एकेडेमीले भद्रकालीलाई ५०–३४ स्कोरले पछि पार्दा मनकामनालाई ४०–३१ ले पराजित गर्यो । पाँचौँ खेलमा स्पाइरल ग्यालेक्सीले पोखरा युनाइटेडलाई ४४–२२ स्कोरले पराजित गर्यो भने अन्तिम खेलमा अल्फा एकेडेमीले प्रगतिलाई ३३–२३ स्कोरले आउट गर्याे ।

    यसैगरी १६ वर्षमुनिको टेनिसतर्फ बिहीबार भएको पहिलो खेलमा मैत्रेय पाठशालाकी साल्भी शेरचनले सेन्ट मेरिजकी गृष्मा गुरुङलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरिन् भने सेन्ट मेरिजकै सरिसा शेरचनले मैत्रेय पाठशालाकी आहाना शेरचनलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरिन् ।

    यसैगरी मैत्रेय पाठशालाकै आरुषी तुलाचनले फिस्टेल एकेडेमी स्कुलकी मान्सा श्रेष्ठलाई ६–०, ६–१ को सोझो सेटमा र शिशुनिकेतन स्कुलकी आदिती पौडेलले फिस्टेलकी विदुषी पौडेललाई ६–०, ६–१ को सोझो सेटमा हराइन् ।

    यसैगरी छात्र टेनिस खेलमा गण्डकी बोर्डिङ स्कुलका स्पन्दन उदासले गण्डकी बोर्डिङकै सूर्यांश श्रेष्ठलाई ६–०, ६–१ को सोझो सेटमा आउट गरे भने समता स्कुलका सन्दीप बिकले गण्डकी बोर्डिङ स्कुलका डोजन गुरुङलाई ६–१, ६–१ स्कोरका साथ सोझो सेटमा पराजित गरे ।

    १० वर्षमुनिको खेलमा सेन्टमेरिजकी बनी एस मेथलागनले फिस्टेलकी सायना पाण्डेलाई ६–०, ६–० स्कोरमा पराजित गरिन् । ९ वर्षमुनिको खेलमा शिशुनिकेतनका ओमयुगले फिस्टेलका आरुष थापालाई ४–१, ४–१ को सेटमा पराजित गरे ।

    यसै गरी फिस्टेलकी जीवाश्री भट्टराईले फिस्टेलकै सायना पाण्डेलाई ४–०, ४–१ को स्कोरमा पराजित गरिन् । ७ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताबाट फुटबल तथा बास्केटबल खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ