Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्वः प्रधानमन्त्री प्रचण्ड


ग्लोबल पाना
मंगलबार, पुस १० २०८०
  • 266
    SHARES

  • images
    परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्वः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताका छन्। मंगलबार बिहान २० औं राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको बताउँदै सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

    प्रधानमन्त्रीको सम्बोधनकाे पूर्णपाठ

    सर्वप्रथम २० औं राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका ज्यापु समुदाय लगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। भिन्तुना। नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश हो।

    भौगोलिक रूपमा सानो भएता पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको छ। विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव हो।

    यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी हो। नेपालका चाडबाड, जात्रापर्व र सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य नीधि हुन् । नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अंगको रूपमा लिइआएका छन् ।

    यस राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौं उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुहरूबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकहरूबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु । सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कारहरू चल्दै आएका छन्।

    यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको छ। तिनीहरूको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व हो। यसै कुरालाई मनन गरी नेपाल सरकारले भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न प्रतिवद्ध छ।

    काठमाडौं महानगरपालिकाभित्रका ज्यापुहरूले विभिन्न वाधा अड्चनको वावजुद पनि परम्परागत मौलिक संस्कृतिको जगेर्ना गरी आएको प्रयासलाई नेपाल सरकारले कदर गर्दै आइरहेको छ । सरकारको सानो सहयोगबाट सुरू भएको ज्यापु संस्कृति विकास कोषले नेपाली समुदायसमेतको सहयोग र सद्भाव लिई काठमाडौं उपत्यकाभित्रका ज्यापुहरूलाई मात्र नभएर मोफसलमा बसोबास गरेका ज्यापुहरूसमेत समेटेर बिसौं राष्ट्रिय ज्यापु दिवस मनाएकोमा तपाईहरूलाई बधाइ ज्ञापन गर्दै आगामी दिनमा समेत नेपाल सरकारको तर्फबाट साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

    तपाईहरू सबैलाई अवगत नै छ– म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मनाउने निर्णय गरेको थिएँ । अहिले तेस्रो कार्यकालमा नेपाल संवत्लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयनसमेत भइरहेको छ । यसका साथै नेपाली समाजको विशेषता र सामाजिक बनोटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारका निम्ति मैले लगातार संघर्ष गर्दै आइरहेको छु ।

    आगामी दिनमा समेत मेरो र नेपाल सरकारको तर्फबाट यहाँहरूलाई साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु । ज्यापु दिवसको अवसर पारेर तपाईहरूले मलाई गर्नुभएको सम्मानका निम्तिसमेत आयोजक संस्था, ज्यापु समुदाय लगायत सम्पूर्ण नेपालीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

    साथै, पहिचान र अधिकार प्राप्तिको सङ्घर्षमा संविधानप्रदत्त बाटोबाट अगाडि बढ्न सबैमा आग्रह गर्दछु । अन्त्यमा, राष्ट्रिय ज्यापु दिवस–२०८० ले नयाँ जोश, उमङ्ग, उत्साहसहित ज्यापु समुदायमा मात्र नभई समस्त जनसमुदायमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ