Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै


ग्लोबल पाना
बुधबार, पुस १८ २०८०
  • 275
    SHARES

  • images
    होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै

    काठमाडौं । पछिल्लो समय ‘होटल म्यानेजमेन्ट’ विषयतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययन र उत्तीणर् गर्न सहज तथा रोजगारीका अवसर धेरै हुने भएकाले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढ्न थालेको हो । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा कक्षा ११ मा होटल म्यानेजमेन्ट (एचएम) अध्ययनरत गौरव गुरुङले अध्ययनपछि तुरुन्त रोजगार पाइने भएकाले यो विषय पढेको बताउनुभयो ।

    images
    images
    images

    बाँकेको नेपालगञ्ज घर भएका गुरुङ होटल म्यानेजमेन्ट पढ्नकै लागि यहाँ आएको बताउनुहुन्छ । होटल म्यानेजमेन्ट अध्ययनपछि स्वदेशमा रोजगार तथा विदेशमा पनि उच्च माग भएको आफूले बुझेको भन्दै गुरुङले स्वरोजगार हुन र जीवनोपयोगी शिक्षाका लागि समेत यो विषय पढेको बताउनुभयो । नेपालको पूर्वी जिल्ला खोटाङबाट एचएम पढ्न यहाँ आउनुभएकी रोनिशा भुजेलले भान्छामा हुने सामान्य कामदेखि बोल्ने शैली, सरसफाइलगायत धेरै कुराको सिकाइ होटल म्यानेजमेन्टमा हुने गरेको बताउनुभयो ।

    “हामीले पढेको सिद्धान्तलाई व्यवहारमा लागू गर्दै अध्ययन गर्न रमाइलो हुने गरेको छ”, उहाँले भन्नुभयो, “एचएम पढेपछि होटलमात्रै नभएर धेरै क्षेत्रमा रोजगारको अवसर खुल्ने भएर पढ्न सुरु गरेको हो । एचएमको पढाइले आफ्नो दैनिक जीवनमा समेत परिवर्तन ल्याएको उहाँले सुनाउनुभयो ।

    होटल म्यानेजमेन्टका प्रशिक्षक सरोज तामाङले अहिले देशमा भएका धेरैजसो होटल, रेस्टुरेन्टमा पढेर नभई गरेर सिकेका कामदारमात्रै भएको भन्दै त्यस्ता जनशक्तिसँग काम राम्रै गर्ने ज्ञान भए पनि होटल व्यवस्थापनको सैद्धान्तिक ज्ञान नहुने बताउनुभयो । अन्तरराष्ट्रियस्तरका पाहुनालाई स्वागत गर्न सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान आवश्यक पर्ने हुँदा आधुनिक र ठूला होटलले पढेकै जनशक्ति खोज्ने भएकाले पनि एचएम पढ्न विद्यार्थीको आकर्षण बढेको उहाँको भनाइ छ ।

    “नेपालमै पनि नयाँनयाँ पर्यटकीय क्षेत्रको विकास, ठूला होटल रेस्टुरेन्टको स्थापना हुँदै जाँदा पढेका जनशक्तिको माग बढ्दो छ”, उहाँले भन्नुभयो, “सानादेखि ठूला होटल, रेस्टुरेन्टमा होटल म्यानेजमेन्ट पढ्नेको ठूलो माग छ ।” स्वेदशमै रोजगारबोहक धेरैजना विदेश जानका लागि पनि होटल म्यानेजमेन्ट पढ्न आकर्षित हुने गरेको तामाङले बताउनुभयो ।

    “खासगरी पश्चिमा मुलुकमा होटल म्यानेजमेन्ट पढेको जनशक्तिको माग धेरै रहेको छ”, उहाँले भन्नुभयो, “यो विषय पढेपछि हस्पिटालिटीतर्फको भविष्य त एकातर्फ छ नै, साथै हवाई क्षेत्र, पर्यटकीय क्षेत्र, ट्राभल्स एण्ड टुर्स तथा एचएम पढाइ हुने कलेजमा विभागीय प्रमुख भएर काम गर्ने अवसर मिल्छ ।” पढेपछि राम्रो आम्दानीसमेत हुने भएकाले होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

    अक्सफोर्ड कलेजमा राष्ट्रिय परीक्षा बोर्डतर्फको व्यवस्थापन सङ्कायका विभागीय प्रमुख हरि थपलियाले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्न आउने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएको बताउनुभयो । “गत वर्ष हामीले होटल म्यानेजमेन्टको तीनवटा सेक्सनमात्रै अध्ययन गराएका थियौँ”, उहाँले भन्नुभयो, “यस वर्ष कक्षा ११ मा होटल म्यानेजमेन्टको चारवटा सेक्सनमा विद्यार्थी अध्यापन गर्दै आएका छौँ ।”

    यहाँ माध्यमिक शिक्षा उत्तीणर् गरेका विद्यार्थी काम र पढाइ दुवैका लागि विदेश जाने पनि भएका भन्दै उहाँले यो विषयमा पढेको कुरा खेर नजाने भएकाले विद्यार्थीको आकर्षण बढेको बताउनुभयो । अरूको रोजगारी गर्न मन नहुनेले आफैँ होटल, रेस्टुरेन्ट खोलेर सञ्चालन गर्ने क्षमताको समेत विकास हुने हुँदा स्वरोजगार बन्ने र अरूलाई रोजगारी दिने अवसर पनि होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीमा हुने उहाँको भनाइ छ ।

    “अन्य विषय पढेका विद्यार्थीले भन्दा छिटो अवसर पाइने भएकाले पनि एचएममा विद्यार्थीको आकर्षण बढ्दो छ”, उहाँले भन्नुभयो । नेपालीमा आधुनिकीकरणको नक्कल गर्ने क्रम बढेसँगै होटल म्यानेजमेन्ट पढ्न चाहने बढ्नु पनि स्वाभाविक भएको थपलियाले बताउनुभयो । होटल म्यानेजमेन्ट अध्ययन हुने अर्को शैक्षिक संस्था इडन गार्डेन माविका प्रिन्सिपल प्रेमहरि सुवेदीले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढेसँगै यो विषय पढाउने शैक्षिक संस्थासमेत बढेको बताउनुभयो ।

    नवलपुर र चितवनमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढाउने विद्यालयमात्रै नभएर स्नातक तहमा होटल म्यानेजमेन्ट पढाउने कलेजको सङ्ख्यासमेत बढ्दै गएको बताउनुभयो । नवलपुर र चितवनबाहेक अन्य छिमेकी जिल्लाबाट समेत हाम्रो विद्यालयमा एचएम पढ्नैका लागि विद्यार्थी आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यो शैक्षिक सत्रमा हामीले पनि एचएमका दुईवटा कक्षा सञ्चालन गरेका छौँ ।”

    किताबमा पढेका सैद्धान्तिक विषयवस्तु विद्यार्थीले प्रयोगात्मकरूपमा गरेर अनुभव हासिल गर्न पाउने भएकाले पनि यो विषयमा विद्यार्थीको आकर्षण बढेको हुनसक्ने उहाँको भनाइ छ । स्तरीय होटल खुल्ने क्रम बढेको र त्यहाँ पढेको जनशक्तिको माग हुने भएकाले पनि एचएममा विद्यार्थीको आकर्षण बढेको उहाँको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ