सर्लाही, २२ वैशाख । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेकपा(माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र-४ ले बलरामा आज आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गर्नुभयो ।
मिटरब्याज पिडीतका समस्या समाधान गर्न र नागरिकता बिहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उहाँले आगामी दिनमा पनि मधेसको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाउनुभयो ।
तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मधेसको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकत्त्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन, त्यसैले मधेसमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ ।” मधेसका जनताको मुक्तिका लागि यहाँका जनताले ठूलो त्याग गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनताका मुक्तिका लागि सङ्घर्ष गर्ने सम्पूर्ण शहिदप्रति सम्मान व्यक्त गर्नुभयो ।
उहाँले बलरा र सर्लाहीका जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘आगलागी पिडीतलाई राहत उपलब्ध हुन्छ’ देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो ।
उहाँले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निणर्य गरेको जानकारी गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पार्टी अध्यक्ष प्रचण्डले विभिन्न राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा(एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायत पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएका सयौँ नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले सर्लाही जिल्लाको गडहिया-डुमरिया नगरपालिका बलरा-८ स्थित जनता नमुना मा.वि.को नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


