Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिमलताल पहिरो : बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन


ग्लोबल पाना
आइतबार, असार ३० २०८१
  • 502
    SHARES

  • images
    सिमलताल पहिरो : बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

    काठमाडौं । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।

    images
    images
    images

    बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् ।

    त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने काम भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । खोजी कार्यमा सशस्त्र प्रहरीका साथै नेपाली सेना र नेपाल प्रहरी पनि खटिइएका छन् ।

    सशस्त्र प्रहरीले दुर्घटनास्थल सिमलतालमा प्रहरी निरीक्षकको नेतृत्वमा २५, चनौली इलाकामा नं १७ गणका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११, गोलाघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ‘र्याफ्याटिङ बोट’ सहित १५, देवघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० र भरतपुरको पुल्चोकस्थित नारायणी नदी किनारमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा नौ जना परिचालित भएका छन् ।

    त्रिशूली नदीमा पानीको मात्रा अत्यधिक र पानी धमिलो भए पनि खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा दुई बसका बेपत्ता यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीका अनुसार भेटिएका शवमध्ये तीनको पहिचान खुलेको छ । माडी नगपालिका-१ का २२ वर्षीय विकास परियार, सर्लाहीको बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार प्रान्तको सीतामणिस्थित बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो ।

    काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३-००१ख २४९५ र वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ तथा काठामाडौँतर्फ आइरहेको बसमा २७ यात्रु बेपत्ता भएका अनुमान गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ