Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

उलिनकाठ : दुलाहा दुलहीलाइ राखेर लगिन्थ्यो......


ग्लोबल पाना
मंगलबार, साउन ८ २०८१
  • 1,089
    SHARES

  • images
    उलिनकाठ : दुलाहा दुलहीलाइ राखेर लगिन्थ्यो......
    शरद पाैडेल
    लामाटार ठूलाघर । 
     
    हामी केटाकेटी हुंदा विवाहको रौनक नै अर्कै हुन्थ्यो । अहिले जस्तो गाडीमा जाने भन्ने चलन थिएन । दुलाहा दुलहीलाइ उलिनकाठमा राखेर लगिन्थ्यो भने अरू जन्तिहरू सवै हिडेर जाने प्रचलन थियो । अधिकांश विवाहहरू रातीको लगनमा हुने गर्थ्यो । साच्चै भन्ने हो भने दिनको लगन भन्ने सुनेकै थिएनौ त्यो वेलामा । वि सं २०४४-४५ सालसम्मपनि रातीकै लगन हुन्थ्यो । रातीको जन्तीको खाना फुरन्दाना, सेल, पुरी कसार, तरकारी, अचार र एकथरी मिठाइ हुन्थ्यो । कति ठूलो हुन्थ्यो त्यो खाना त्यसवेला ।
     
    विहानी प्रहरमा कन्यादान हुन्थ्यो । सुत्नको लागि पाल मुनी राडीपाखी हुन्थ्यो त्यही मिलाएर सुतिन्थ्यो भने कसैको आफन्त भए त्यही आफन्तको घरमा गएर पनि सुतिन्थ्यो । रातभर तास खेल्नेहरूको पनि जमात हुन्थ्यो । दुलाहा लगेको भोलिपल्ट विहान दुलाहा दुलहीको जग्गेको काम हुन्थ्यो भने दुलहीको घरबाट सवै खाद्यान्न, तरकारीको वन्दोवस्त गरी दुलहीको घरगाउंको बारीको पाटोमा जन्तिबाख्रो पकाउने चलन थियो । हुने परिवारले खसीबोका उपलब्ध गराउंथे नहुनेको साकाहारी खाना हुन्थ्यो । त्यो वेला दुइचार खसी जन्तिलाइ खुवाउन सक्नेलाइ हुनेखाने परिवार मानिन्थ्यो । जन्तिलाइ खसीसहितको भोज गराउने प्रचलन भएकोले पनि त्यसको नाम जन्तिबाख्रो भनिएको हुनसक्छ ।
     
    दिनको १२-१ वजेतिर जन्तिबाख्रो तयार हुन्थ्यो । अहिलेको जस्तो थालको प्रचलन थिएन । त्यसवेला टपरीमा खाने प्रचनल थियो । झोल जति सवै भुइमा चुहिन्थ्यो । खानामा पनि आफ्ना नजिकका मानिसलाइ खसीको मासुको चोक्टा वढी दिने र अरूलाइ मासुको झोलझोल दिइन्थ्यो । त्यो विषयमा पनि निकैपटक विवाद भएको देखेको छु मैले । जव जन्तिबाख्रो पनि खाइ सकिन्छ, त्यसैबीच जग्गेको काम पनि सकिसकेको हुने भएकोले दुलहीलाइ तयार गर्न लगाउथे । खाना खाएपछि पहिलो काम भनेको गर्धोलाइ दुलाहाको घर पठाउने । टाढा जानुपर्ने भएकोले सामान लैजान समय लाग्ने भएकोले सामान बोकाएर पहिले पठाउने प्रचलन थियो ।
     
    विवाहको अन्तिम चरण भनेको दुलही अन्माउने हुन्थ्यो । घरगाउले, जन्ति, वाजागाजा सवै एकिकृत भएर दुलही अन्माउने कार्य हुन्थ्यो । जग्गेमा घुम्ने काम सकिएपछि नजिकै दुइवटा उलिनकाठ राखिएको हुन्थ्यो । एउटामा दुलाहा अर्कोमा दुलही उलिनकाठमा वस्थे । वाजागाजा सहित दुलाहा दुलहीलाइ उलिनकाठमा राखेर लैजाने र जन्ति हिडेर जाने चलन थियो । न बसको प्रचलन थियो, न ट्याक्सीको नै । विसुध्द नेपाली परम्पराको विवाह हुन्थ्यो । यो मेरो जीवनले देखेको करीब ३५-४० वर्ष अगाडिको परिदृष्य हो नेपाली समाजको । अहिलेको पिढीलाइ न यो थाहा छ, न यसरी विवाह हुन्थ्यो भन्ने कुरामा विश्वास नै गर्छ । मलाइ लाग्छ उलिनकाठ भन्ने देखेको पनि छैन होला यो पिढीले ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ