असोज ७, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिश्वविद्यालयहरूको गुणस्तर सुधार्नका लागि आइतबार शुरु गरेको अन्तरक्रिया जारी रहेको छ। मन्त्रालयमा सोमबार मन्त्री विद्या भट्टराईको उपस्थितिमा योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल सम्पन्न भएको छ।
कार्यक्रममा मन्त्री भट्टराईले सबै विश्वविद्यालयलाई शिक्षाको गुणस्तर र प्रभावकारी सेवा प्रवाहमा गम्भीरताका साथ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । उहाँले अन्तरक्रियाबाट प्राप्त महत्त्वपूर्ण विषयलाई समेटेर विश्वविद्यालय शिक्षाको नीति निर्माण गरिने बताए।
उनले विद्यमान शिक्षाको प्रभावकारी व्यवस्थापन आवश्यक रहेकोमा जोड दिनुभएको छ। मन्त्री भट्टराईले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर, पठनपाठन, परीक्षाको प्रभावकारी संचालन र व्यवस्थापन, सम्बन्धनजस्ता योजनाहरू समेट्न अनुरोध गरे।
उनले नेपालका विश्वविद्यालयहरूले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई आकर्षित गर्ने विशेष योजना बनाउन पनि आग्रह गर्नुभयो ।
असोज १० गतेसम्म जारी रहने यस अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउने, विद्यार्थी र प्राध्यापकका गुनासा सुनुवाइ र सम्बोधन, पाठ्यक्रम निर्माण र परिमार्जन, छात्रवृत्ति, प्राध्यापक कर्मचारीको सेवा सुविधा, र जग्गा व्यवस्थापनजस्ता विषयमा छलफल भइरहेको छ।
अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयका उपकुलपति र पदाधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य, विभिन्न विश्वविद्यालयका डिनहरू, मन्त्रालयका सचिव र कर्मचारीको सहभागिता रहेको छ।
यसअघि आइतबार सुदूरपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूसँग पनि अन्तरक्रिया सम्पन्न भएको थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


