काठमाडौं, माघ ९ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल फुड ल्याव भ्यान प्रयोग गरी कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिने ताजा तरकारी र फलफूलमा जीवनाशक विषादी अवशेषको परीक्षण सम्पन्न गरेको छ। उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभागको स्यापिड रेसपोन्स टिम (Rapid Response Team- RRT) ले रातभर अनुगमन गर्दै विषादीको स्तर मापन गरेको हो।
माघ ८ गते राति ११ बजेबाट सुरु भएको यो अभियान माघ ९ गते बिहान ४ बजे सम्पन्न भएको थियो। यस क्रममा २२ प्रकारका तरकारी तथा फलफूलको १५० वटा नमूनाको परीक्षण गरिएको छ। परीक्षणका लागि RBPR विधि प्रयोग गरी नमूनाहरुको विषादी अवशेष मापन गरिएको हो।
ताजा तरकारी र फलफूलमा इन्जाइम इन्हिबिशन न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४२ प्रतिशतसम्म पाइएको छ। RBPR मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम इन्जाइम इन्हिबिशन भएकालाई खान योग्य मानिन्छ। ३५–४५ प्रतिशतको बीचमा परेकालाई क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरिन्छ भने ४५ प्रतिशतभन्दा बढी पाइएको खाद्य वस्तु अस्वीकृत गरी नष्ट गरिन्छ।
चितवनबाट ल्याइएको हरियो सिमीको एक नमूनामा ४२ प्रतिशत इन्जाइम इन्हिबिशन पाइएको हुँदा तरकारी व्यवसायी रामकुमार थपलियाको ११४ के.जी. हरियो सिमी क्वारेन्टाइनमा राखिएको छ। अन्य सबै नमूनाहरु खानयोग्य रहेको पुष्टि भएको छ।
यो अनुगमनको क्रममा १०८ वटा गाडीमा रहेका तरकारी तथा फलफूलको नमूना संकलन गरिएको थियो। ती सामग्रीहरु भक्तपुर, काभ्रे, नुवाकोट, चितवन, मकवानपुर लगायत २० जिल्लाबाट आएको थियो भने एउटा गाडी भारतबाट पनि भित्रिएको थियो।
मोवाइल फुड ल्याव भ्यानमा अत्याधुनिक उपकरण जडान गरिएको छ, जसले बजारमा विषादी परीक्षण र निगरानीमा उल्लेखनीय भूमिका खेलेको छ। यसले खाद्य व्यवसायी र उपभोक्तालाई सचेत गराउन तथा उपयुक्त कारबाही सुनिश्चित गर्न मद्दत पुर्याएको प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिएका छन्।
यस कदमले उपभोक्ताको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्दै खाद्य गुणस्तर कायम राख्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


