Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

अख्तियार कसैको दवाव र प्रभावमा परेर चुक्नु र झुक्नु हुन्न : राष्ट्रपति


ग्लोबल पाना
सोमबार, माघ २८ २०८१
  • 217
    SHARES

  • images
    अख्तियार कसैको दवाव र प्रभावमा परेर चुक्नु र झुक्नु हुन्न : राष्ट्रपति

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कसैको दवाव वा प्रभावमा नपरी कसुर र कसुरदार ठूलो वा सानो नभनी काम गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग चुक्ने छैन र झुक्ने छैन भन्नेमा आफू विश्वस्त रहेको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचारको प्रकृति र स्वरुपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै जानुपर्ने बताए।

    images
    images
    images

    उनले सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवृत्त गराउँने बताउँदै सूचनाप्रविधिको तिव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको बताए।

    राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको भन्दै उनले भने, ‘यसमा सम्बद्ध पक्षको म ध्यानाकर्षण गराउन चाहन्छु। भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तरर्राष्ट्रिय महासन्धीको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरुप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक छ भन्ने पनि मलाई लाग्दछ।’

    उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्ने बताउँदै आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्ने बताए।

    राष्ट्रपति पौडेलले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शीता एवम् निर्भीकतालाई मूल मन्त्र बनाएर काम गर्न पनि सुझाव दिए।

    उनले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता भएको बताए।

    बानी, व्यवहार, आचरण र अभ्यासले म भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्ने प्रण गर्ने हो भने यसलाई जरैदेखि निर्मूल गर्न सकिने उनको भनाइ थियो।

    उनले लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धिको आम नागरिकको चाहनालाई सुशासन र पारदर्शिता विना जनताको घरदैलोमा पुरयाउन नसकिने स्पष्ट पारे।

    राष्ट्रपति पौडेलले सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोगसम्बन्धी विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र हरदम चनाखो रहनुपर्ने बताए।

    उनले भने, ‘कानुनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएकाले आयोगले भ्रष्टाचारका सम्भाव्य जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराई यसको नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्नेछैन भन्ने मैले विश्वास लिएको छु। ठूला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसंगति देखिएको भनेर जुन चिन्ता व्यक्त भैरहेको छ, यसमा राज्य पक्ष र अख्तियार गंभीर बनोस् भन्ने मेरो चाहना छ।’

    उनले राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकले आ–आफ्नो तहबाट प्रवद्र्धनात्मक र निरोधात्मक कार्य गरी भ्रष्टाचारको न्यूनीकरणमा जिम्मेवारी बोधसहित भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि तत्परता र सक्रियता देखाउन जरुरी रहेको धारणा राखे।

    राष्ट्रपति पौडेलले अख्तियारका उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ