६ चैत २०८१, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा दुई दिन सम्म भएको अन्तर उपत्यका क्लब स्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा पुरुष तर्फ त्रिभुवन आर्मी क्लब र महिला तर्फ जाउला खेल ह्विलचियर बास्केटबल सपोर्ट क्लब प्रथम हुन सफल भएका छन् । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले यही चैत ४ र ५ गते बाग्मती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल बास्केटबल संघ, स्पाइनल इन्जुरी संघ नेपालको सहयोगमा काठमाडौँमा आयोजना गरेको हो ।
नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले आयोजना गरेको अन्तर उपत्यका क्लब स्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको समापनका क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले विजयी खेलाडीहरूलाई बधाई दिँदै अन्य सबै खेलाडीहरूलाई हिम्मत हार्न नहुने भन्दै अभ्यास गर्न छोड्न नहुने बताउनु भयो ।
साथै उहाँले आगामी दिनमा ह्विलचियर बास्केटबल खेलको विकास तथा प्रतियोगिताको लागि आवश्यक सहयोग गर्ने र सहकार्यमा काम गर्न सकिने बताउनु भयो । त्यसै गरी बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सुनिता गौतमले प्रथम हुने सबै खेलाडीहरूलाई बधाई दिँदै सबै खेलाडीहरूलाई आगामी खेलको शुभकामना व्यक्त गर्नुका साथै आगामी दिनमा बाग्मती प्रदेश खेलकुद परिवदबाट आवश्यक सहयोग गर्न पहल गर्ने बताउनु भयो ।
त्यसै गरी आयोजक संस्था नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघका अध्यक्ष देवी आचार्यले विजेता खेलाडीहरूलाई बधाई दिँदै उपविजेता तथा अन्य सहभागी खेलाडीहरूलाई आगामी दिनमा अझै प्रयास गर्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नु भयो । साथै उहाँले उपत्यका भित्र रहेका जति पनि ह्विलचियर बास्केटबल टिमहरू रहेका छन् ती टिम बिचमा प्रतियोगिता गराएर महिला र पुरुष खेलाडीहरूको राष्ट्रिय खेलाडी टोलीको गठन गर्ने र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले यो अन्तर उपत्यका क्लब स्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।
नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले यही चैत ४ र ५ गते बाग्मती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल बास्केटबल संघ, स्पाइनल इन्जुरी संघ नेपालको सहयोगमा काठमाडौँमा आयोजना गरेको अन्तर उपत्यका क्लब स्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा पुरुष तर्फ ७ र महिला तर्फ ६ गरी १३ समूह सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा महिला तर्फ जाउला खेल ह्विलचियर बास्केटबल सपोर्ट क्लब प्रथम, WSA महिला समूह दितिय, र SCINN महिला समूह तृतीय भएका थिए भने पुरुष तर्फ त्रिभुवन आर्मी क्लब प्रथम, APF दितिय र BIA ले तृतीय स्थान हात पारेका थिए । प्रथम हुने महिला समूहमा जाउला खेल ह्विलचियर बास्केटबल सपोर्ट क्लबले २४ स्कोर र दितिय हुने WSA महिला समूहले २३ स्कोर ल्याएका थिए भने पुरुष तर्फबाट त्रिभुवन आर्मी क्लब र APF बिच भएको खेलमा निर्धारित समयमा दुवै समूहको ३९ /३९ मा बराबरी स्कोर भए पछि ४ मिनेटको समय थप गरे पछि त्रिभुवन आर्मी क्लबले ४३ स्कोर र APF ले ४१ स्कोर बनाए पछि त्रिभुवन आर्मी क्लबले प्रथम स्थान हासिल गरेको थियो ।
उक्त बास्केटबल प्रतियोगितामा तर्फ जाउला खेल ह्विलचियर बास्केटबल सपोर्ट क्लबकी रजनी राईले १४ स्कोर र त्रिभुवन आर्मी क्लबका रमेश खत्रीले १९ स्कोर ल्याएर सर्वाधिक स्कोर ल्याउने खेलाडीको रूपमा घोषित हुनु भएको थियो भने जाउला खेल ह्विलचियर बास्केटबल सपोर्ट क्लबकै तुल्सा थापा र त्रिभुवन आर्मी क्लबका कप्तान रामबहादुर तामाङ उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्न सफल हुनु भएको थियो ।
अन्तर उपत्यका क्लब स्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा महिला र पुरुष दुवै टिमको प्रथम हुने समूहलाई रु ५० /५० हजार, दोस्रो हुने समूहलाई रु ४० / ४० हजार र तृतीय हुने समूहलाई रु ३० / ३० हजार नगद पुरस्कार, मेडल, ट्रफी, र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसै गरी हाइ स्कोर र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद ३ /३ हजार रुपैयाँ प्रदान गरिएको थियो । साथै सबै सहभागी खेलाडीहरूलाई प्रमाणपत्र र यातायात खर्च पनि उपलब्ध गराइएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


