✍️शरद पौडेल लामाटार, ललितपुर
काठमाडौं । काठमाडौं उपत्यकामा तीव्र शहरीकरणसँगै नयाँ बस्तीहरू बसिरहेका छन्, तर यी बस्तीहरूको नामाकरणमा स्थानीय पहिचान लोप हुँदै गएको छ । परम्परागत धार्मिक, सांस्कृतिक, र सामाजिक सम्पर्कका आधारमा राखिएका मौलिक नामहरू विस्तारै हटाइँदै छन्, र नयाँ नामहरू स्थानीयवासीको सहमतिविना राखिने क्रम बढ्दो छ ।
बस्ती विस्तार र अनियन्त्रित विकास
सन् २००० को दशकसम्म काठमाडौँका गाउँ–शहरहरू आफ्नै मौलिक नामका साथ परिचित थिए । तर, तीव्र बसाइसराइँ र बढ्दो घनाबस्तीका कारण अहिले नयाँ क्षेत्रहरू अनौपचारिक रूपमा नामाकरण गरिँदै छन् । स्थानीय वासिन्दाका अनुसार, पहिले धार्मिक वा सांस्कृतिक महत्व झल्काउने नामहरू राखिन्थे, जसले त्यहाँको भौगोलिक पहिचानलाई पनि दर्शाउँथ्यो । तर हाल, “मिलन बस्ती“, “एकता मार्ग“, “संगम चोक“, “शान्तिनगर“ जस्ता नामहरू राखिँदै छन्, जुन स्थान विशेषको ऐतिहासिक वा सांस्कृतिक विरासतसँग सम्बन्धित छैनन् । कतिपय स्थान त टेलिभिजन सिरियलका पात्रहरूको नाममा समेत राखिएका छन् ।
नयाँ नामाकरणको प्रक्रियाः स्थानीयवासीको बेवास्ता
स्थानीय निकायहरूले नयाँ नामकरण गर्दा स्थानीयवासीको राय नलिने प्रवृत्ति बढेको स्थानीयहरू बताउँछन् । “हाम्रो टोलको नाम हामीले समेत नबुझ्ने गरी परिवर्तन भयो,“ एक स्थानीय बासिन्दाले भने । कतिपय ठाउँमा वडाहरूले बिना विस्तृत अध्ययन वा परामर्श नयाँ बस्तीका मानिसहरूले प्रस्ताव गरेका नामलाई आधिकारिकता दिइरहेका छन् । शहरी विकासविद्हरू भन्छन्, “यो प्रवृत्तिले भविष्यमा काठमाडौँ उपत्यकाका पुराना ऐतिहासिक नामहरू नै लोप हुने खतरा छ । यस्तो प्रक्रियाले स्थानीय इतिहासलाई मेटाउँदै जान्छ ।“
अनियन्त्रित बसोबास र नगरपालिकाको नीति नयाँ
बस्तीहरूको अव्यवस्थित बसोबासलाई लिएर पनि प्रश्न उठेका छन् । ३ आना जमिनमा २.५ तला मात्र निर्माण गर्न सकिने कानुनी प्रावधान हुँदाहुँदै पनि, पाँचतले भवनहरू धमाधम निर्माण भइरहेका छन् । अनधिकृत निर्माणलाई कानुनी रूप दिन नगरपालिकाहरू नै सक्रिय देखिन्छन् । नेपाल भूकम्प जोखिममा विश्वमै नवौं स्थानमा पर्ने बताइन्छ, तर सहर विस्तारमा कुनै दीर्घकालीन मापदण्ड अपनाइएको छैन । प्रत्येक वर्ष भवन निर्माणसम्बन्धी नियमहरू परिवर्तन भइरहेका छन्, तर ती नियमहरूको प्रभावकारी कार्यान्वयन नहुँदा काठमाडौँ झनै अव्यवस्थित हुँदै गएको छ ।
स्थानीय पहिचान जोगाउन के गर्न सकिन्छ?
शहरी योजनाकारहरू भन्छन्, “स्थानीय निकायहरूले वस्तीको नामकरण गर्दा त्यहाँका पुराना बासिन्दाको सहमति अनिवार्य गरिनुपर्छ ।“ त्यसैले, स्थानीय सरकारहरूले– कुनै पनि नयाँ बस्ती वा सडकको नाम राख्दा पुराना वासिन्दाको राय लिनुपर्ने । स्थान विशेषको ऐतिहासिक, सांस्कृतिक, र सामाजिक महत्वलाई आधार बनाएर नामकरण गर्ने । अनधिकृत निर्माणलाई रोक्न कठोर नीति लागू गर्ने । यदि समयमा नै उचित कदम चालिएन भने, केही दशकमै काठमाडौँ उपत्यकाका मौलिक नामहरू इतिहासका पानामा मात्र सीमित रहनेछन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


