Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एकल र सिमान्तकृत अपाङ्गता भएका महिलाहरूका लागि पाक कला विकास र वित्तीय सशक्तीकरण कार्यक्रम


बुधबार, जेठ १४ २०८२
  • 1,074
    SHARES

  • images
    एकल र सिमान्तकृत अपाङ्गता भएका महिलाहरूका लागि  पाक कला विकास र वित्तीय सशक्तीकरण कार्यक्रम

    काठमाडौं । पहिचान नेपाल एकल र सीमान्तकृत अपाङ्गता भएका महिलाहरूका लागि काम गर्ने एक सामाजिक एवं गैरसरकारी संस्था हो । यस संस्थाले स्थापना काल देखि नै यस्ता महिलाहरूको हक हित तथा अधिकारका लागि सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गर्दै आएको छ ।

    images
    images
    images

    साथै पहिचान नेपालले एकल तथा सीमान्तकृत अपाङ्गता भएका महिलाहरूको आर्थिक स्तरमा वृद्धि गर्नका लागि विभिन्न सीप मूलक कार्यक्रम सञ्चालन गर्नुका साथै उनीहरूको व्यवसायलाई निरन्तर सञ्चालन गर्नका लागि विउपुँजी पनि प्रदान गर्ने गर्दछ । यसै क्रममा पहिचान नेपालले जेठ ३ गते देखि ५ गते सम्म बाग्मती प्रदेशको सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा एकल र सीमान्तकृत अपाङ्गता भएका महिलाहरूको पाक कला विकास र वित्तीय सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    ३ दिन सम्म गरिएको सीप मूलक कार्यक्रम यही जेठ १२ गते सम्पन्न गरी सहभागीहरूलाई प्रमाणपत्रका साथमा खाना बनाउँदा प्रयोग गरिने आप्रोन र हडकेस् प्रदान गरिएको थियो । कार्यक्रम समापनका क्रममा आयोजक संस्था पहिचान नेपालकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक इच्छा के.सी.ले पहिचान नेपालले स्थापना काल देखि नै एकल तथा सीमान्तकृत अपाङ्गता भएका महिलाहरूका लागि बिउ पुँजी वितरण गर्नुका साथै उनीहरूको आर्थिक सशक्तीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको भन्दै अपाङ्गता भएका महिलाहरूको नेतृत्व विकासका लागि पनि काम गर्नु पर्ने बताउनु भयो ।

    साथै उहाँले अपाङ्गता भएका महिलाहरू जब सम्म आर्थिक रूपमा सम्पन्न हुँदैनन् तब विभिन्न हिंसा हुने, अरूको भरमा पर्नु पर्ने हुँदा रोजगारबाट वञ्चित भएका अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार मूलक तालिम प्रदान गरिएको भन्दै आगामी दिनमा काठमाडौँ महानगरपालिका वडा नं ३१ मा रहेका एकल तथा सीमान्तकृत अपाङ्गता भएका महिलाहरूको लागि पनि रोजगार तथा स्वरोजगार मूलक कार्यक्रमहरू सञ्चालन गरिने कुरामा जोड दिँदै यो कार्यक्रम सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्ने बाग्मती प्रदेशको सामाजिक विकास कार्यालयलाई पनि धन्यवाद दिनु भयो ।

    उक्त कार्यक्रमको समापनका क्रममा कार्यक्रमकी प्रमुख अतिथि एवं बाग्मती प्रदेश सदस्य शकुन्तला श्रेष्ठले सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै अपाङ्गता भएका एकल तथा सीमान्तकृत महिलाहरूका लागि यो पाक कला विकास र वित्तीय सशक्तीकरण कार्यक्रम अति नै उपयोगी र लाभदायक रहेको र यहाँ सिकेका सीपहरूको सही सदुपयोग गर्नु हुन आग्रह गर्नु भयो । साथै उहाँले अपाङ्गता भएका महिलाहरूको आर्थिक उपार्जनका लागि अन्य कार्यक्रमहरू सञ्चालन गर्नका लागि पहिचान संस्था मार्फत सहकार्य गरेर काम गर्नका लागि आवश्यक सहयोग गर्ने, बाग्मती प्रदेशमा नै घरेलु वा साना उद्योगहरू दर्ता गरी सञ्चालन गरेमा आवश्यक मेसिन तथा ‍औजारहरु किन्नका लागि पनि आर्थिक सहयोग गर्न सकिने बताउनु भयो ।

    कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष सरोज ढकालले पहिचान नेपालले अपाङ्गता भएका महिलाहरूको आर्थिक उपार्जनका लागि यो कार्यक्रमले निकै सहयोग गर्ने भन्दै सम्पूर्ण प्रशिक्षार्थीहरूलाई यहाँ सिकेको सीपको उपयोग गर्नुहुन आग्रह गर्नु भयो । साथै उहाँले आगामी दिनमा पहिचान नेपाल र यस वडा कार्यालयको सहकार्यमा अपाङ्गता भएका महिलाहरूका लागि अन्य सीप मूलक कार्यक्रमहरू पनि सञ्चालन गर्न सकिने भन्दै सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

    त्यसै गरी पहिचान नेपालले बाग्मती प्रदेशको सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा एकल र सीमान्तकृत अपाङ्गता भएका महिलाहरूको पाक कला विकास र वित्तीय सशक्तीकरण कार्यक्रमका प्रशिक्षक कमला वि.क.ले आफू दृष्टिविहीन अपाङ्गता भएर पनि दृष्टिविहीन तथा शारीरिक अपाङ्गता भएका एकल र सीमान्तकृत अपाङ्गता भएका दिदी बहिनीहरूलाई पाक कला अर्थात् विभिन्न स्वादिष्ट खाने कुराहरू बनाउने सीप सिकाउन पाएकोमा खुसी व्यक्त गर्दै सहभागीहरूबाट पनि आफूले हौसला र उत्साह पाएकोमा खुसी व्यक्त गर्नु भयो ।

    साथै उहाँले यस्तो पाककला तालिमले रोजगारी तथा स्वरोजगारीमा सहभागी हुनुका साथै आफ्नो जीवन स्तर उकास्नका लागि पनि सहयोग गर्ने भएकोले यस्तो तालिमहरू अति नै जरुरी रहेको बताउँदै आयोजक तथा यस तालिम सञ्चालन गर्नका लागि सहयोग गर्ने बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयलाई पनि धेरै धन्यवाद दिनु भयो । उक्त कार्यक्रमका अर्का प्रशिक्षक तथा व्यवसायी सरिता थुलुङ्गले तालिममा सिकेको सीपलाई व्यवसायी रूपमा अगाडी बढाउनु आग्रह गर्दै सबै प्रशिक्षार्थीहरूलाई शुभकामना व्यक्त गर्नु भयो ।

    उक्त तालिममा सहभागी हुनु भएका दृष्टिविहीन अपाङ्गता भएकी महिला राजमती धामीले अवसर र उचित वातावरणमा सीप सिक्न सकेमा र सिकेको सीपबाट उत्पादित सामाग्रीको बजार व्यवस्थापन भएमा सिकेको सीपको उपयोग हुने, जसले गर्दा आर्थिक उन्नतिमा विकास हुने भन्दै सिक्ने इच्छा शक्ति भएमा अपाङ्गताले कुनै बाधा नपुर्याजउने बताउनु भयो । साथै उहाँले यस्तो जीवन उपयोगी सीप सिक्ने अवसर प्रदान गर्नु भएकोमा आयोजकलाई धेरै धेरै धन्यवाद पनि व्यक्त गर्नु भयो ।

    अन्य सहभागीहरूले उत्पादित सामाग्रीहरूको बजारीकरणमा निकै चुनौती हुने गरेको र बजार व्यवस्थापनका लागि सम्बन्धित निकायहरूले पहल गरिदिनु पर्ने कुरामा जोड दिनु भएको थियो । पहिचान नेपालले जेठ ३ गते देखि ५ गते सम्म बाग्मती प्रदेशको सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरेको एकल र सीमान्तकृत अपाङ्गता भएका महिलाहरूको पाक कला विकास र वित्तीय सशक्तीकरण कार्यक्रममा भेज मःम, हट कफी अर्थात् क्योचिनो, अण्डा चाउमिन, प्यान केक लगायतका परिकारहरू बनाउन सिकाइएको थियो भने सो तालिममा पवित्रा नगरकोटी, फूलमाया राई, दीपकमाया श्रेष्ठ, ज्ञानुमाया महर्जन, राजमती धामी, मेनुका बानिया, पार्वती श्रेष्ठ, सिता राउत, कमला कुँवर, रुपा नेपाल र प्रतिमा तामाङ / घतानी सहित ११ जनाको सहभागिता रहेको थियाे ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ