काठमाडौं, जेठ १९ । मानव स्वास्थ्यको लागि खाद्य पदार्थको स्वच्छता र गुणस्तर अत्यन्तै महत्वपूर्ण विषय हो भन्ने सन्देश आम जनसमुदायमा फैलाउन नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०६५ सालदेखि प्रत्येक वर्ष "राष्ट्रिय खाद्य स्वच्छता दिवस" मनाउँदै आएको छ। यसै क्रममा, सन् २०१८ मा संयुक्त राष्ट्रसंघको ७३औं महासभाले गरेको निर्णयअनुसार सन् २०१९ देखि प्रत्येक वर्ष जुन ७ तारिखमा “विश्व खाद्य स्वच्छता दिवस” मनाउने घोषणा गरेको थियो।
यस वर्ष २०८२ जेठ २४ गते (७ जुन २०२५) मा “Food Safety: Science in Action” भन्ने अन्तर्राष्ट्रिय नारासहित विश्वभर मनाइँदैछ भने नेपालमा “खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता” भन्ने राष्ट्रिय नाराका साथ सप्ताहव्यापी विविध कार्यक्रमहरू गरी २०८२ जेठ १८ देखि २४ गतेसम्म भव्य रुपमा मनाइँदैछ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार प्रत्येक वर्ष २०० भन्दा बढी रोगहरू दूषित तथा अस्वच्छ खाद्य पदार्थको कारण लाग्ने गरेका छन्। प्रत्येक १० जनामध्ये १ जना विषाक्त खाद्य सेवनका कारण विरामी पर्ने, वार्षिक ४ लाख २० हजारको मृत्यु हुने, झाडापखालाबाट मात्रै करिब ५५ करोड बिरामी हुने तथा २ लाख ३० हजारको मृत्यु हुने तथ्याङ्कले खाद्य स्वच्छताको गम्भीरतालाई पुष्टि गर्छ।
यसै सन्दर्भमा, नेपालको संविधानले पनि हरेक नागरिकलाई सुरक्षित, पोषिलो र गुणस्तरीय खाद्यको हक सुनिश्चित गरेको छ। यसै अनुरूप हालै नै संसदबाट पारित “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१” मार्फत खाद्य श्रृंखलाका सबै चरणमा वैज्ञानिक आधारमा नियमन गर्ने कानूनी प्रबन्ध गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयहरूबाट सप्ताहभरिको अवधिमा विभिन्न कार्यक्रमहरू गरिँदैछ, जसमध्ये उल्लेखनीय छन्:
-
दिवसको सन्देशसहित ब्यानर प्रकाशन र वेबसाइटमा अपलोड
-
मैत्रीपूर्ण खेलकुद प्रतियोगिता (क्रिकेट, ब्याटमिन्टन, टेबल टेनिस)
-
विभाग परिसर सरसफाई तथा पत्रकार भेटघाट
-
खाद्य स्वच्छता संवाद कार्यक्रम तथा सञ्चारमाध्यममार्फत जनचेतना सन्देश
-
मोबाइल फुड ल्याब भ्यानमार्फत होटल, रेष्टुराँ, दूध तथा तरकारी अनुगमन
-
विद्यालयस्तरीय सचेतना कार्यक्रम
-
वक्तृत्वकला प्रतियोगिता, सूक्ष्मजैविक प्रतिरोधसम्बन्धी जानकारीमूलक कार्यक्रम
-
“Hackathon” प्रतियोगिता (सूचना प्रविधिको माध्यमबाट खाद्य स्वच्छता प्रवर्द्धन)
-
नीतिगत अन्तरक्रिया कार्यक्रम
-
७ जुनका दिन प्रभातफेरी र मूल समारोह कार्यक्रम
खाद्य व्यवसाय, शैक्षिक संस्था, सञ्चारमाध्यम, गैरसरकारी संस्था, उपभोक्ता अधिकारकर्मी लगायत सम्पूर्ण सरोकारवालाको सक्रिय सहकार्यमा दिवसलाई प्रभावकारी बनाइने विभागले जनाएको छ।
कार्यक्रमको प्रभावकारिता र जनचेतनामा सञ्चारको भूमिका अपरिहार्य हुने भएकाले विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले सम्पूर्ण पत्रकार मित्रहरूलाई सक्रिय सहभागिता र सहकार्यका लागि आह्वान गर्दै हार्दिक आमन्त्रण गर्नु भएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


