काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ सम्बन्धमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।
सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा आयोजित कार्यक्रममा मनसुनका समयमा बाढी, पहिरो, डुबान लगायतका सम्भावित प्राकृतिक प्रकोपहरूबाट जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, समन्वय र प्रतिकार्यका कार्यहरूबारे विस्तृत जानकारी दिइयो।
प्राधिकरणका उपसचिव तथा प्रवक्ता राम बहादुर केसीले मनसुन सम्बन्धी जोखिम व्यवस्थापनमा सरोकारवाला निकायहरूबीचको समन्वय र सूचना प्रवाहको महत्वमाथि जोड दिनुभयो। उहाँले कार्ययोजना अन्तर्गत विपद् जोखिम मूल्यांकन, पूर्वसूचना प्रणालीको सुदृढीकरण, जोखिममा रहेका समुदायहरूप्रति लक्षित सचेतना र राहत व्यवस्थापनका उपायहरूबारे समेत स्पष्ट पार्नुभयो।
निमित्त कार्यकारी प्रमुख बन्धु प्रसाद बास्तोलाले कार्ययोजनाले आगामी दिनमा विपद् न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रको कार्यसम्पादनमा स्पष्ट मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै सरकार, सुरक्षा निकाय, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा नागरिक समाजको सहभागिताले मात्र यस्ता योजना सफल हुने बताउनुभयो।
कार्यक्रमको अन्त्यतिर पत्रकारहरूले उठाएका प्रश्नहरूको सहजिकरण उपसचिव राम बहादुर केसीले गर्नुभएको थियो। उहाँले प्रस्तुत प्रश्नहरूलाई गम्भीरताका साथ प्राधिकरणको तर्फबाट यथोचित जवाफ दिनुभयो।
कार्ययोजनामा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, विपद् जोखिम मूल्यांकन, पूर्वसूचना प्रणालीको सुदृढीकरण, जोखिममा रहेका समुदायहरूलाई सचेतना र राहत व्यवस्थापन जस्ता कुराहरू समावेश छन्। यो कार्ययोजना लागू गर्न सरकारी निकायका साथै गैरसरकारी क्षेत्र, सुरक्षाकर्मी, सञ्चारमाध्यम र नागरिक समाजको पनि सक्रिय सहभागिता अपेक्षा गरिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


