ललितपुर । "म जहाँ जान्छु, सुधारका लागि नै जान्छु।" यो भनाइ केवल शब्द होइन, ललितपुरको लगनखेलस्थित मालपोत कार्यालयका प्रमुख जीवनराज सेढाईको कामले बोलेको यथार्थ हो । कहिल्यै नफेरिएको सरकारी ढर्राको छवि तोड्दै, सेढाईले अहिले मालपोत कार्यालयलाई सेवा, स्वच्छता र संवेदनशीलताको नमूनाको रूपमा पुनःस्थापित गरेका छन् । जहाँ अघिसम्म सेवाग्राही गुनासो लिएर आउने गर्थे, अहिले धन्यवाद दिन आउँछन् ।
सेढाई ललितपुर आउनुअघि यो कार्यालयसम्म पुग्ने बाटो नै सेवाको पहिलो बाधा थियो जहाँ धुलो, हिलो, अस्तव्यस्त ! तर उनले महानगरसँग समन्वय गरेर सडक मर्मत गराए, कालोपत्रे गरियो । अहिले सेवाग्राही सिधै गेटसम्म सजिलै पुग्छन् ।
फोहोर, अँध्यारो र उपेक्षाको छायाँ बोकेको कार्यालय अहिले उज्यालो, सुव्यवस्थित र स्वागतयोग्य बनेको छ । स्वागत डेस्कमा ताजा फूलहरू छन् । महिला सेवाग्राही र कर्मचारीका लागि स्तनपान कक्षको व्यवस्था गरिएको छ । वृद्ध र अपांगता भएका व्यक्तिहरूका लागि विश्रामस्थल, पिउने पानी र टिभी हेर्ने सुविधा उपलब्ध छन् । सेढाई भन्छन्, “सरकारी सेवा भनेको केवल औपचारिकता होइन, संवेदनशीलता पनि हो।”
डिजिटल थम्पप्रिन्ट प्रणाली लागू गरिएको छ । फिडब्याक संकलन प्रणालीमार्फत सेवाग्राहीको आवाज सिधै व्यवस्थापनसम्म पुग्छ । नागरिक वडापत्र अब QR कोडमार्फत पहुँचयोग्य छ । “हामी सूचना ढाकछोप गर्ने होइन, छरपस्ट गर्ने युगमा छौं,” सेढाई स्पष्ट रूपमा भन्छन् ।
उनले सुधारको सुरुवात भौतिक संरचना होइन, मानव स्रोतबाट गरे । वर्षौंदेखि एउटै ठाउँमा अडिएका कर्मचारी सरुवा गरिए, जिम्मेवारी स्पष्ट बनाइयो, ढिलासुस्तीमा कारबाही भयो । दैनिक समीक्षा बैठक अनिवार्य बनाइयो । "मैले आफैं प्रलोभन अस्वीकार गर्छु, अरूलाई पनि अनुशासनमा ल्याउँछु," सेढाई दृढतापूर्वक भन्छन् ।
सेढाईको नेतृत्वमा कार्यालयमा मात्र परिवर्तन भएको छैन, सेवाग्राहीसँगको सम्बन्धमा पनि उस्तै परिवर्तन आएको छ । उनी सबैसँग मिजासिलो भाषामा बोल्छन्, सेवाग्राहीका अनुहारमा मुस्कान ल्याउने खालको व्यवहार गर्छन् । उनको सद्भावपूर्ण स्वभावले कर्मचारीदेखि सेवाग्राहीसम्म सबैको मन जितेको छ ।
लगनखेलको मालपोत अब सेवाको गन्तव्य मात्रै होइन, सरकारी व्यवस्थापनमा आशा र भरोसाको केन्द्र बनेको छ - जहाँ एक इमानदार हाकिमको पहलले राज्यप्रतिको विश्वास पुनर्स्थापित भइरहेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


