Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नगरप्रमुख विवस चिन्तनको दृष्टिकोण : पालुङटारलाई समावेशी र आत्मनिर्भर बनाउने प्रतिबद्धता


ग्लोबल पाना
बुधबार, असार ४ २०८२
  • 355
    SHARES

  • images
    नगरप्रमुख विवस चिन्तनको दृष्टिकोण : पालुङटारलाई समावेशी र आत्मनिर्भर बनाउने प्रतिबद्धता

    पालुङटार, गोरखा । पालुङटार नगरपालिकाको १७औं नगरसभा सम्पन्न भई आर्थिक वर्ष २०८२/०८३ का लागि समाजवाद उन्मुख नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नगरप्रमुख विवस चिन्तनले सभा सम्बोधनका क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, आर्थिक समृद्धि र सेवा प्रवाह सुदृढीकरणका लागि स्पष्ट रणनीतिक खाका प्रस्तुत गरेका थिए। नगरसभा प्रारम्भ गर्नु अघि नगरप्रमुख चिन्तनले विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनका आन्दोलनमा योगदान दिएका शहीद, बेपत्ता, घाइते तथा अपांग योद्धाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नीति निर्माणको वैचारिक धरातल स्पष्ट पारेका थिए ।

    images
    images
    images

    प्रस्तुत नीति तथा कार्यक्रमले कृषि, पशुपालन, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र समावेशी सामाजिक न्यायलाई प्राथमिकता दिएको छ। कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ’बहुउद्देश्यीय कृषि योजना’, ’एक वडा, एक उत्पादन’ कार्यक्रम, कृषि एम्बुलेन्स, सिंचाई पोखरी तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राखिएको छ। स्थानीय रोजगारीको सिर्जनाका लागि युवामुखी सीप तालिम, महिला उद्यम प्रवद्र्धन, स्टार्टअप प्रोत्साहन, तथा तीनपाङ्ग्रे सवारी सञ्चालनजस्ता कार्यक्रममार्फत उद्यमशीलताको प्रवाहलाई संस्थागत गर्न खोजिएको छ ।

    शिक्षा क्षेत्रमा निःशुल्क अनिवार्य शिक्षा, डिजिटल विद्यालय, बहुस्तरीय शिक्षण पद्धति, पोषण कार्यक्रम र छात्रवृत्तिमार्फत गुणस्तर अभिवृद्धि गर्ने प्रस्ताव गरिएको छ । स्वास्थ्य सेवा सुलभ बनाउन निःशुल्क ओपीडी, ‘Lab in a Bag’ कार्यक्रम, मानसिक स्वास्थ्य परामर्श, स्त्रीरोग विशेषज्ञ सेवा र मातृशिशु स्वास्थ्य कार्यक्रमको विस्तार गर्ने नीति उल्लेख गरिएको छ ।

    खानेपानी, सरसफाइ र वातावरणीय सन्तुलनका लागि ‘एक घर, एक धारा’, सार्वजनिक धारा पुनःसंरचना, रिचार्ज पोखरी निर्माण, ढल व्यवस्थापन तथा विपद् न्यूनीकरण कार्यक्रमलाई समावेश गरिएको छ । समावेशी दृष्टिकोण अनुरूप दलित, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा तथा बालबालिकाका लागि लक्षित कार्यक्रमहरू, सामाजिक सुरक्षा भत्ता तथा हेरचाह सेवाको सुनिश्चितता पनि नीति अन्तर्गत छ ।

    नगरप्रमुख चिन्तनले योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारसँगको समन्वयलाई बल दिने प्रतिबद्धता जनाएका छन्। ‘हामी मालिक होइन, जनताको सेवक हौं’ भन्ने अभिव्यक्तिबाट स्थानीय सरकारप्रति पारदर्शिता र जवाफदेहिताको दृढता प्रतिबिम्बित भएको छ ।

    बजेटीय सीमाबद्धता र संघीय अनुदान कटौतीजस्ता संरचनात्मक चुनौतीबीच पनि विवस चिन्तनको नेतृत्वमा पालुङटारले योजनाबद्ध र अनुशासित विकासको बाटो अँगाल्ने संकेत गरेको छ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारमा समृद्ध पालिकाको निर्माणमुखी दृष्टिकोण नीति तथा कार्यक्रममार्फत स्पष्ट रूपमा उजागर गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ