ललितपुर, असार ४ । संघीय सांसद रामहरि खतिवडाले सुशासन प्रवर्द्धनका लागि वैज्ञानिक विधिमा आधारित सूचक निर्माण आजको आवश्यकता भएको बताएका छन् । मंगलबार ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA) मा सम्पन्न ‘सुशासन राष्ट्रिय सूचक निर्माण कार्यशाला’मा बोल्दै सांसद खतिवडाले नीति निर्माणमा यस्ता सूचकहरू भरपर्दो आधार बन्ने विश्वास व्यक्त गरे ।
उनले भने, “हाम्रो शासन प्रणाली अझ पारदर्शी र उत्तरदायी बनाउन तथ्यमा आधारित मूल्यांकन अपरिहार्य छ। यस्तो सूचक प्रणालीले सरकारको कार्यक्षमता मात्र होइन, जनताको भरोसा पनि बढाउँछ ।”
कार्यक्रममा उनले सूचकको निर्माण र कार्यान्वयनमा बहु-हितधारकको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । साथै, उनले यस्ता पहलहरूलाई नीतिगत तहमा संस्थागत गर्न संसदमा समेत आवाज उठाउने प्रतिबद्धता जनाए।
लोकतान्त्रिक शासन, पारदर्शिता र जवाफदेहितालाई प्रवद्र्धन गर्ने उदेश्यले अल्टरनेटिभ फाउन्डेसनले आयोजना गरेको ‘सुशासन राष्ट्रिय सूचक निर्माण कार्यशाला’ मंगलबार ललितपुरको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA), जावलाखेलमा सम्पन्न भएको हाे ।
कार्यक्रमको मुख्य प्रस्तुतीकरण टिम लिडर डा. जनकराज शाहले गरेका थिए । डा. शाहले सुशासन मापनका लागि आवश्यक राष्ट्रिय सूचकको अवधारणा, संरचना, कार्यान्वयन प्रक्रिया र सम्भावित उपयोगिताका विषयमा विस्तारपूर्वक जानकारी दिए । उनका विश्लेषणात्मक प्रस्तुतीकरणले सहभागीहरूमा गहिरो प्रभाव पार्दै समृद्ध छलफलको मौका प्रदान गर्यो । कार्यशालामा नीति विशेषज्ञ, संघसंस्था प्रतिनिधि, युवा, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूले समूह छलफलमार्फत सूचकको व्यवहारिक पक्षमा सुझाव र सिफारिसहरू प्रस्तुत गरे ।
अल्टरनेटिभ फाउन्डेसनका अध्यक्ष प्रकाश विक्रमले कार्यक्रममा समापन मन्तव्य दिँदै सूचक कार्यान्वयनका लागि सबै तहमा सहकार्य र संवाद आवश्यक रहेको बताए । उनले यस्ता पहलहरूले सुशासन प्रवद्र्धनमा संस्थागत बहसलाई अझ बलियो बनाउने अपेक्षा व्यक्त गरे ।
कार्यक्रम संयोजक प्रदीप शर्माले सूचक निर्माण कार्यलाई व्यवहारमा ल्याउन थप साझेदारी र अन्तरसंस्थागत संवाद अपरिहार्य रहेकोमा जोड दिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


