✍️नीरा अधिकारी
हरेक संस्था र व्यक्तिको इतिहास हुन्छ । इतिहासले नै कृयाशील वर्तमान र आशामुखी भविष्यतर्फ डोर्याउँछ । यही भविष्यतर्फ बढिरहँदा मसँग जोडिएको नेत्रहीन महिला संघ नेपालको कथाको सारांश आज म मेरो स्मृतिका पानाबाट कोर्दैछु । यसमा उल्लेखित विचारलाई संस्थागत विचारभन्दा पनि मेरो व्यक्तिगत धारणाका रुपमा ग्रहण गर्नका लागि पाठकहरुलाई अनुरोध गर्न चाहन्छु ।
विक्रम संवत् २०५४ सालको असार महिना हुनुपर्छ । पानी झमझम पर्दै थियो । आजको जस्तो सामाजिक संजाल कहाँ थियो र ? वरपर पसलमा रहेका टेलीफोन बुथबाट फोन गरेर खबर लिने दिने गरिन्थ्यो । त्यस्तै फोनको भरमा म बहिनी बिनीताको डेरा भक्तपुरबाट भृकुटी मण्डप स्थित नेपाल नेत्रहीन संघको कार्यालयमा छाता ओढेर पुगेको थिएँ । केही म जस्तै दृष्टिविहीन दिदीहरु र साथीहरु कार्यालयमा जम्मा भएका थिए । त्यहाँ नेपाल नेत्रहीन संघ अन्तरगत रहने गरी महिला समिति गठन हुँदै रहेछ ।
स्व. कमला श्रेष्ठ अध्यक्ष अर्थात संयोजक भएको उक्त महिला समितिमा मलाई पनि सदस्यका रुपमा अनुवन्ध गरियो तर उक्त समिति कति सदस्यीय थियो म सम्झन सक्दिन । स्व. जिन्की बज्राचार्य पनि त्यस बेला समितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । कमला दिदी त्यतिबेला नै नेपाल नेत्रहीन संघमा महासचिव हुनुहुन्थ्यो र माध्यमिक स्तरको शिक्षक पनि । म भने भर्खरै उच्च शिक्षाको खुट्किलो उक्लिंदै गरेको उत्साहित युवक मन भएको एक जवान केटी थिएँ । हुनतः केही महिना अगाडि नै नेपाल नेत्रहीन संघको ललितपुर शाखा स्थापना गर्ने क्रममा मलाई अध्यक्ष बनाइएको थियो ।
भरखरै विद्यालय बाहिरको संसार देख्न थालेकी मलाई संस्था संचालनको ज्ञान भने थिएन । विद्यार्थी जीवन सहज त थिएन । जेनतेन सानातिना काम गर्ने गर्थ्यौँ । नेपाल नेत्रहीन संघका तत्कालीन अध्यक्ष स्वर्गीय नर बहादुर लिम्बू र तत्कालीन निर्देशक श्री अमृत राईको महिला समितिलाई बलियो साथ र सहयोग थियो । महिलाहरुको अधिकारका निम्ति ठूला काम नभएपनि सीप विकास, गृह विज्ञान जस्ता तालिमहरु संचालन गरिन्थे । त्यो समितिले केके गर्यो भन्न सक्दिन तर बैठक बस्ने निर्णय गर्ने महिलाका समस्याहरुमा राय दिने जस्ता काम भने भइरहन्थे ।
२०५८ सालमा काठमाडौँमा नेपाल नेत्रहीन संघको साधारणसभा भएको थियो । उक्त सभाका बेला मेरो स्नातकको अन्तिम वर्षको परीक्षा संचालन भइरहेको थियो । साँझतिर मेरो छात्रावासमा संस्थाका कर्मचारी लिन आउनुभएको थियो । झमक्क साँझ बीचमा उही भृकुटी मण्डपको कार्यालयमा केही महिलाहरु र नेपाल नेत्रहीन संघका तत्कालीन निर्र्देशक अमृत राईसहितको समितिले पुरानो महिला समिति विघठन गरी क्षेत्रीय प्रतिनिधित्व हुने गरी नयाँ समिति बनायो ।
नेत्रहीन महिला संघ नेपालका वर्तमान अध्यक्ष श्री सीता सुवेदीसँग मेरो पहिलो भेट त्यही भएको हो । सीता सुवेदी त्यतिबेला पूर्वाञ्चलको प्रतिनिधिका रुपमा महिला समितिको सदस्य हुनुभयो । म त्यस समितिमा कोषाध्यक्षको भूमिकामा रहेँ । त्यतिबेला पनि म ललितपुर नेत्रहीन शाखाको अध्यक्ष नै थिएँ । मेरो नेतृत्वमा ललितपुरमा महत्वपूर्ण काम हुन थालिसकेका थिए ।
खासगरी यसअघि वि.सं २०५७ सालमा चितवनमा सम्पन्न नेपाल नेत्रहीन संघको अधिवेशनमा कार्यसमितिमा कुनै पनि महिलाले निर्णायक मत ल्याउन नसक्दा नेपाल नेत्रहीन संघमा महिलाको प्रतिनिधित्व शून्य हुन पुगेको थियो । म त्यस अघि नै नेपाल नेत्रहीन संघको केन्द्रीय सदस्य भइसकेको थिएँ र त्यस चुनावमा पनि सत्ता पक्षका अग्रज र साथीहरु मलाई कार्यसमितिमा राख्ने योजनामा हुनु हुन्थ्यो। हुनतः १३ जना महिलाहरु त्यस चुनावमा उम्मेदवार भएका रहेछन् । म उमेरले अरु महिलाभन्दा सानी भएकाले सहमति जुटाउन सकिन ।
निर्वाचनका परीणामका सम्बन्धमा विद्यार्थी भएकाले धेरै विश्लेषण गर्न सक्दिन तर पुरुष साथीहरुले यसको दोष महिलाहरुलाई नै दिएका थिए । आजसम्मको जीवनमा आइपुग्दा उमेदवारको रुपमा मेरो त्यो एक मात्र हार थियो । यसपछि नेपाल नेत्रहीन संघमा महिलाको सुरक्षित प्रतिनिधित्वका सम्न्धमा चर्चा चुलियो । परीणामतः २०६० सालसम्म आइपुग्दा नेपाल नेत्रहीन संघको कार्यसमितिमा कम्तीमा ३ वटा महिला सीट आरक्षीत गर्ने प्रावधान विधानद्वारा नै सुनिश्चित गरियो ।
यसरी नेपाल नेत्रहीन संघ २०६३ को अन्तरिम संविधान आउनुपूर्व नै दृष्टिविहीन महिलाका लागि सीट आरक्षण गर्न सफल सम्भवतः अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित संस्थाहरुमध्येमा पहिलो संस्था बन्न पुग्यो । चितवनको हारबाट थोरै झस्किएका हामी २०६० सालमा नेपाल नेत्रहीन संघको पोखरामा आयोजित निर्वाचनमा कमला दिदीलाई उपाध्यक्ष बनाउन महिला समूह नै जुटेर लाग्यौँ । यसअघिको चुनावको परीणामबाट धेरै कुरा बुझिसकेको म महिलालाई उपाध्यक्ष बनाउने विषयमा अभियानमै लागेको थिएँ । यस पदमा महिलालाई स्थान दिन कमला दिदीले भन्दा पनि हामीले त्यो कुरा रहर गरेका थियौँ ।
धेरै विद्यार्थी साथी प्रतिनिधि भएकाले साथ सहयोग पनि राम्रो थियो र जित हाम्रै पक्षमा भयो । कमला दिदीले त्यस समयमा हालका नेपालका अपाङ्गता विज्ञ श्री बीरेन्द्र राज पोखरेलसँग प्रतिस्पर्धा गर्नुभएको थियो । यही दौडानमा हामीले महिला समितिलाई पनि पुनः निर्वाचनतर्फ लगेका थियौँ । मैले कमला दिदीलाई संयोजक नछोड्न अनुरोध गरे तर दिदीले समय व्यवस्थापनमा कठिनाइ हुने भएकाले मलाई सघाउने बाचा गर्दै उक्त समितिमा मेरो नाम संयोजकको रुपमा प्रस्ताव गर्नुभयो । यसरी २०६० साल वैशाख महिनामा बनेको नयाँ महिला समितिमा म संयोजकको भूमिकामा जिम्मेवारी बहन गर्न पुगेँ ।
नेपाल नेत्रहीन संघमा रहेका समितिहरु मध्ये एक महत्वपूर्ण समितिको रुपमा महिला समितिले पहीचान बनाइसकेको हुँदा त्यस समितिमा रहेर उच्च मनोबलकासाथ दृष्टिविहीन दिदीबहिनीहरुको भावना, इच्छा र आवश्यकतालाई संबोधन हुनेगरी जिम्मेवारी पूरा गर्नुपर्ने कार्यभार मेरो काँधमा आएको थियो । म त्यतिबेलासम्म स्नातकोत्तरको विद्यार्थी रहेकाले समय दिन त्यति गाह्रो भने थिएन । अब संस्थाका गतिविधिहरुलाई महिला सशक्तीकरणका औजारका रुपमा बढाउँदै लगियो । हिंसा प्रभावित दृष्टिविहीन महिलाका अधिकारका निम्ति समितिले संस्थामा आवाज उठाउदै रह्यो। केही घटना यस्ता घटे, जसको दोषि बाहिरका नभएर कार्यसमितिकै व्यक्ति हुन पुगे ।
यतिबेला हिंसा प्रभावित महिलालाई सुरक्षित अवतरण गराउने कार्यतिर पुरुषवादी व्यक्तिहरु थिए भने पिडकलाई कार्वाही गराउने पक्षमा महिलावादी उभिए । तर शक्ति र श्रोतका अगाडि हाम्रा आवाज पुगेनन् । दुःखका कुरा २०६० सालमा समितिबाट बिदा लिएकी कमला दिदीले त्यही साल पौष २४ गते नै क्यान्सरका कारण धर्ती छोडि सक्नु भएको थियो । अब महिलाका मुद्दालाई हेर्ने छुट्टै संस्थाको आभास हामीले पनि गर्न थालेका थियौँ । तत्कालीन नेपाल नेत्रहीन संघका अध्यक्ष स्व. नर बहादुर लिम्बुले पनि महिला, युवा लगायत सबैलाई नेपाल नेत्रहीन संघ अन्तरगत रहने गरी स्वतन्त्र संस्था बनाउन आँट दिनुभएको थियो ।
म पनि सोही संस्थाको विधान लेख्नतर्फ लागे, जुन काममा नेपाल नेत्रहीन संघका तत्कालीन महासचिव श्री लक्ष्मण प्रसाद ज्ञवालीले सघाउनु भएको थियो । समय गतिशील हुन्छ र निरन्तर बगिरहन्छ अविरल खोलासरी। म स्नातकोत्तरको अध्ययन सकेर नेपाल नेत्रहीन संघकै गतिविधिमा ब्यस्त थिए र लोकसेवाको तयारी गर्दै थिएँ । विधानको आकार बनेर प्रकृया अघि बढ्दा मेरो निजामति सेवामा अधिकृतका रुपमा प्रवेश भइसकेको थियो । अध्यक्ष बन्ने नबन्ने अन्योलतासँगै साथी सीता सुवेदी महासचिव र म अध्यक्ष हुनेगरी समिति बनाइयो ।
वास्तवमा मैले लामो समयदेखि अझ भनौँ उच्च शिक्षाको संघारमा पाइला टेकेसँगै दृष्टिविहीनका क्षेत्रमा बिताएको समय र श्रमको सम्मान गर्दै संस्थापक अध्यक्ष बन्न साथी सीता लगायत अग्रजहरुले प्रेरणा जगाउनु भएको थियो । पुराना साथीहरुलाई समेट्ने हाम्रो योजनानुसार क्रमशः चिरिमाया महर्जन-उपाध्यक्ष, सुशीला घिमीरे-सचिव, साबित्रा काफ्ले-कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः शारदा अधिकारी, गौरी थापा, शशी आचार्य, इच्छा के.सी, सीता धमला अजिता सेढाइ जस्ता साथीहरु पनि जोडिनु भयो । लामो समयको प्रतिच्छा र प्रयास पश्चात २०६७ सालको चैत्र महिनाको ३० गते हामी नेत्रहीन महिला संघ नेपाललाई जन्माउन सफल भयौँ ।
आज म प्रहरी रिफोर्टका निम्ति धाएका दिन, सदस्य खोज्दै साथीहरुका घर घर गएका दिन सम्झन्छु । कहाँको ट्याक्सी? कहाँको बाइक ? अझ म त खुट्टा दुख्ने बिरामी पनि । तथापी संस्थाको स्थापनाले सपनाहरु साकार गराउन सकिन्छ कि भन्ने झिनो आशामा पाइलाहरु चाल्दै थियौँ । काम गर्न सजिलो थिएन । सीताजी नेपाल नेत्रहीन संघको जागिरे, म नेपाल सरकारको कर्मचारी। यद्पी संस्था बनाएपछि सपनाहरु बढे, जिम्मेम्वारीहरु थपिए । हामीले नेपाल नेत्रहीन संघको महिला समितिमा रहंदै स्व. कमला श्रेष्ठका नाममा “कमला स्धृति प्रतिभा पुरस्कार कोष” भनी स्थापना गरेका थियौँ ।
किनकी कमला दिदी संगीतकी पूजारी र मिलनसारीताकी प्रतिमूर्ति पनि हुनुहुन्थ्यो र दृष्टिविहीन महिलाका निम्ति पथपर्दर्शक पनि हुनुहुन्थ्यो । उक्त कोषमा मेरा केही साथी र नेपाल नेत्रहीन संघकै कर्मचारी र सदस्यहरुको रकम जम्मा भएको थियो। नेत्रहीन महिला संघ नेपालको समिति बनिसकेपछि उक्त रकम नेपाल नेत्रहीन संघले पूर्ण रुपमा हाम्रो संस्थामा हस्तान्तरण गरिदियो । जम्मा ६०००० रुपैयाँ जम्मा भएको उक्त कोषमा आज १२ लाखको पूँजी जम्मा भएको छ, जुन रकमबाट केवल प्रतिभा पुरस्कार मात्र होइन, दृष्टिविहीन महिला विद्यार्थीहरुले उच्च शिक्षा हाँसिल गर्न छात्रवृत्ति समेत प्राप्त गर्न सकेका छन्।
स्थापनाका सुरुका वर्षमा नेपाल नेत्रहीन संघको छत्रछाया प्राप्त भइरह्यो । त्यही संस्थाको रकमबाट केही काम सम्पन्न भए । सीताजी नेपाल नेत्रहीन संघमा नै काम गर्ने हुँदा उहाँको च्याम्बर नै हाम्रो कार्यालय थियो । नेपाल नेत्रहीन संघले दराज पनि दिएको थियो । सन् २०१४ पश्चात हामी परियोजना लेख्न थाल्यौ । पहिलो परियोजना टेवाबाट प्राप्त गर्यौँ । एकदमै कम रुपैयँ जम्मा ६०००० तर यसले हाम्रो गतिविधिमा जग हाल्यो। एउटा बलियो जग, जहाँ दृष्टिविहीन महिलाहरुको समय र पसीना मिसिन पुग्यो । त्यसो त हामी आफैं पनि चन्दा संकलनका निम्ति विभिन्न काम गर्थ्यौँ । नेपाल नेत्रहीन संघको पनि साथ समर्थन बलियो थियो ।
नेपाल सरकारको कर्मचारी भएर संस्थामा पदीय जिम्मेवारी बहन गर्ने विषय आफैंमा सजिलो र इमानको विषय होइन । त्यसैले परियोजनाका काम सुरु हुन थालेपछि मैले २०७२ सालबाट अध्यक्षको भूमिका साथी सीतालाई निर्वाचन मार्फत हस्तान्तरण गरेँ र कार्यसमितिमा सदस्यका रुपमा रहेँ । यसै बीचमा त्२०७२ सालको भुकम्पले धेरैको जीवन हल्लाइदियो। दृष्टिविहीन महिलाहरुको जीवनमा पनि निकै कठिन परिस्थिति श्रिजना भएको थियो । यस्तो समयमा टेवाले आफैं खोजी गरी केही पाल र बढी क्षति भएकाका निम्ति प्रति व्यक्ति रु ५००० हुने गरी २६ जनालाई सहयोग गर्यो । यसरी प्राप्त रकमले दृष्टिविहीन दिदी बहिनीहरुको दुँखका समयमा थोरै भरोसा बन्ने मौका मिल्यो ।
उक्त रकम मध्येबाट केही अंश दृष्टिविहीन दिदीबहिनीहरुले हाम्रो प्रस्ताव अनुसार स्वेच्छिक रुपमा संस्थालाई प्रदान गरेकाले संस्थाले दृष्टिविहीन महिलालाई आपत्कालीन समयमा सहयोग पुग्नेगरी आकस्मिक कोष स्थापना गर्यो । उक्त कोषमा पछि विभिन्न तरीकाले संकलन गरेका रकमहरुलाई थप गर्दै गयौँ । आज उक्त कोषबाट आपत्कालीन अवस्थामा रहेका दृष्टिविहीन महिलालाई आर्थिक सहयोग गर्ने गरेका छौँ ।
हाम्रो यात्रामा पुरानो साथी डाक्टर स्वेता सींह पनि जोडिनुभयो । उहाँले आफ्नो स्वर्गीय आमा किरणबाबा सिंहका नाममा संस्थामा अक्षकोष खोलिदिनु भयो र आफु पनि आजीवन सदस्य हुनु भयो । सन् २०१६ मा आइपुग्दा यस संस्थाले एबिलिस फाउन्डेसन, फिन्ल्याण्डको अन्तराष्ट्रिय परियोजना प्राप्त गर्न सफल भयो । तत् पश्चात भने हामीले हाम्रो मातृ संस्था नेपाल नेत्रहीन संघलाई एउटा छुट्टै कोठाको लागि अनुरोध गर्यौँ र प्राप्त पनि भयो । त्यसपछि अन्य परियोजनामा पनि काम गर्न थाल्यौँ । वमेन फन्ड एसिया, ओपन् सोसाइटी फाउन्डेसन, ए.पि.डब्लु.एल.डि, अपाङ्गता अधिकार कोष जस्ता संस्थाहरुसँगको साझेदारीका परीणाम स्वरुप आज यो संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको संस्थाका माझ आफ्नो छुट्टै पहिचान कायम राख्न सकेको छ । एउटा घरमा भाडा तिरेर बस्ने हैसियत बनाएको छ ।
कार्यक्रमका दृष्टिले १७ जिल्लाहरुमा पुगेर समिति समेत बनाए तापनि ८ वटा शाखाहरुमा प्रदेशसम्मको हैसियत प्रदान गरी संजालीकरण गरिरहेको छ । केही मात्रामा भएपनि स्थानीय तहहरुमा पनि आफ्नो बलियो उपस्थिति जनाउन सफल भएको छ। विगतलाई फर्केर हेर्दा नेपाल नेत्रहीन संघको एक सदस्य र नेत्रहीन महिला संघको अध्यक्षसम्मका भूमिकामा रहँदा मैले अवसरहरु पनि प्रशस्तै प्राप्त गरेँ । अन्तराष्ट्रिय जगतमा पनि नेपालको दृष्टिविहीन नेतृका रुपमा पहीचान बनाए जस्तो लाग्छ । शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा समयसँगै प्रगतिका सूचकहरु थपिएको आभास हुन्छ ।
यद्पी दृष्टिविहीन लगायत अपाङ्गता भएका महिलाहरुको सामाजिक जीवनलाई मर्यादित भने अझ बनाउन नसकिएको महसुस हुन्छ। संस्थाले अपाङ्गता भएका महिलाहरुको न्यायमा पहुँच पुर्याउन कसरत गरिरहे तापनि कानुनी तथा सामाजिक चुनौति पार गरेर हिंसा प्रभावित महिलाको जीवनमा टेवा पुग्ने गरी मनन्योग्य उपलब्धि हाँसिल गर्न नसक्दा मन विह्विलित हुन्छ । हिजो बेरोजगार साथीहरु धेरै थिए । अहिले रोजगार साथीहरुको सङ्ख्या बढ्दो क्रममा छ, जुन नवीनतम प्रविधि र शिक्षाले दिएको अवसर पनि हो ।
आजसम्म संस्थाले आफ्नो भविष्यका सुस्पष्ट रेखा कोर्न नसके पनि केही नेतृत्वमा पुग्ने साथीहरु जन्माइसकेको छ । केही साथीहरु छुट्टै दृष्टिकोण बोकेर स्वतन्त्र संस्था स्थापना गर्न सफल भएका पनि छन् । केही साथीहरु नेतृत्व जीवनबाट नै अलग रहेका छन् । संस्थामा नेतृत्वहरुको आउने जाने सङ्ख्या र क्रमलाई गहिरेर विश्लेषण गर्दा नेतृत्व एकै झण्डा र लोगोमा अडिग हुनुपर्छ भन्ने होइन, तर एकै ठाउँमा रहेर सपना बुन्न सकिन्छ, इतिहास कोर्न सकिन्छ र सँगै हिंड्दा टाढा पुग्न सकिन्छ भन्ने विचार भने बाँड्न नसकेको प्रतीत हुन्छ ।
संस्था लिनलाई होइन, दिनका लागि हो, जुन समय, ज्ञान र श्रम खर्च गरेर लक्ष्यित समूहको जीवनमा बहार, ओठमा मुस्कान भर्ने अभियान हो । यो अभियानको परिभाषा फेरिएजस्तो लाग्छ । किनकी विद्यार्थी जीवनमा आफ्नो छात्रवृत्तिको रकम खर्च गरेर अभियानमा हिंडेको म आज कुनै कार्यक्रममा भाग लिने कामलाई पनि पैसासँग तुलना गरेको देख्दा अचम्मित हुन्छु र दुखी हुन्छु। शायद अहिलेका पुस्तालाई समय र पैसा दुबैको महत्व पनि बढ्दै गएको हुनुपर्छ । वास्तवमा आवश्यकताहरु समेत फेरिएका छन् । म पनि कर्मचारी जीवनमा उच्च जिम्मेवारीमा पुगेकाले संस्थाको सल्लाहकारको जिम्मेवारी मात्र निभाउन सक्ने अवस्थामा छु ।
संस्था पनि सन्तान जस्तै रहेछ-सधैं पालनपोषण गरिहरनुपर्ने। संस्थामा समय दिने साथीहरुको कमी भएको आभासले यसको भविष्यको चिन्ता हुने रहेछ । आज यो स्मृतिका पानामा रहेका केही कुरा यहाँ शब्दमा आकार दिने कोशिश गर्दा न्याय नै होला भन्ने सोचेर स्मृतिलाई सकार रुप दिएँ। अन्य नेतृत्व जीवनका पाटाहरु यस लेखमा समेटिएका छैनन्। नेत्रहीन महिला संघ, नेपाल स्थापनापछिका संघर्ष र उतारचडावमा मेरो समयका हिसाबले त्यति ठूलो योगदान रहेन । तथापी यो यात्रामा सुरुका दिन, बीचको समय र वर्तमानको समयमा सहयात्री बन्नुभएका साथीहरु, बहिनीहरु र संस्थालाई कर्मभूमिका रुपमा अपनाएर अनवरत लाग्ने मेरा अनन्य मित्र सीता सुवेदीलाई साधुवाद अर्पण गर्न चाहन्छु ।
(नीरा अधिकारी नेत्रहीन महिला संघ नेपालको संस्थापक अध्यक्ष, हाल उपसचिव-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय)
.gif)




 x 450 (H) Global Pana.jpeg)


