काठमाडौं, साउन ५ । यस वर्ष साउनको पहिलो हप्तासम्म पनि मधेस प्रदेशका आठ जिल्लामा वर्षा अत्यन्तै कम भएको कारण खानेपानीको अभाव, सिँचाइमा समस्या र कृषिमा गम्भीर असर परेको छ । प्राप्त विवरणअनुसार, कृषियोग्य जमिनमध्ये ४६–४७ प्रतिशत क्षेत्रमा अझै धान रोपाइ हुन सकेको छैन ।
देशको अन्न भण्डारको रूपमा चिनिने तराई–मधेस क्षेत्रमा देखा परेको यस गम्भीर समस्याको समाधान खोज्न आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, कानुन मन्त्री अजय चौरसिया, कृषि मन्त्री रामनाथ अधिकारी र खानेपानी मन्त्री प्रदीप यादवबीच ऊर्जा मन्त्रालयमा गम्भीर छलफल सम्पन्न भएको छ ।
छलफलमा सम्बन्धित सचिव सरिता दवाडी तथा चारै मन्त्रालयका उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो । समस्या तत्काल समाधान गर्नका लागि चारै मन्त्रालयका सह–सचिवहरूको समन्वयमा एक उच्चस्तरीय कार्यदल गठन गरिएको छ ।
कार्यदललाई समस्या पहिचान गरी तत्काल समाधानका उपायहरू सिफारिस गर्ने अधिकार दिइएको ऊर्जा मन्त्री दीपक खड्काले जानकारी दिनुभयो । "कार्यदलको प्रतिवेदन प्राप्त हुनासाथ सरकार जनताको पीडामा मल्हम लगाउने उपयुक्त निर्णय लिनेछ," मन्त्री खड्काले प्रतिबद्धता जनाउनुभयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


