काठमाडौं । भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यका साथ मिलापले आयोजना गरेको “चौथो मिलाप तीज उत्सव तथा सम्मान समारोह” राजधानीकाे हार्दिक हाेटलमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
यस कार्यक्रमलाई यसपालि पनि उल्लेखनीय सहभागिता र उत्साहका साथ सम्पन्न गरिएको आयोजक मिलापले जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, साहित्यकार, समाजसेवी, सञ्चारकर्मी, विद्वान् तथा महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस वर्षको उत्सवका प्रमुख अतिथि नेपालकी पहिलो नायिका भुवन चन्द हुनुहुन्थ्यो भने विशेष अतिथि काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल रहनुभएको थियो । चन्दले तीज पर्वलाई नेपाली महिलाको आत्मीयता, संस्कृति र एकताको प्रतीकको रूपमा वर्णन गर्दै भन्नुभयो:
“तीज केवल रमाइलोको पर्व मात्र होइन, यो हाम्रो संस्कृति र पहिचानसँग जोडिएको अमूल्य धरोहर हो । यदि हामी नयाँ पुस्तामा यसको महत्व र मौलिकता प्रवाह गर्न सक्यौं भने हाम्रो परम्परा अझ उज्वल र बलियो बनिरहनेछ ।”
उपमेयर सुनिता डंगोलले पनि यस अवसरमा आफ्ना विचार व्यक्त गर्दै भन्नुभयो : “तीज हाम्रो सांस्कृतिक धरोहर हो र महिलाहरूलाई सशक्त बनाउने पर्व पनि हो । यस्तो कार्यक्रमले हाम्रो संस्कृति र परम्परालाई जोगाउने मात्र नभई, समुदायमा सहकार्य र एकताको भावना पनि प्रवर्द्धन गर्छ ।”
उत्सवमा सांस्कृतिक कार्यक्रमसँगै तीज विशेष सम्मानसमेत प्रदान गरिएको थियो । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गीत र साहित्यिक अभिव्यक्तिहरू प्रस्तुत भएका थिए, जसले कार्यक्रममा अझ रमाइलो बनाएकाे थियाे ।
मिलापकी अध्यक्ष गीता अधिकारीले कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै भन्नुभयो : “भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौँ भन्ने मूल नाराका साथ सम्पन्न भएको ‘मिलाप तीज महोत्सव तथा सम्मान’लाई भव्य बनाउन सहयोग पुर्याउनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । आगामी दिनमा पनि यस्तै साथ, सहयोग र शुभेच्छाको अपेक्षा गर्दछु । साथै, यस अवसरमा सम्मानित तथा पुरस्कृत हुने सबैलाई हार्दिक बधाई र शुभकामना ।”
उत्सवमा समाजसेवामा सक्रिय व्यक्तित्वदेखि लिएर साहित्य, कला र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई विशेष सम्मान गरिएको थियो । महिलाहरूले तीजको परम्परागत भेषभूषामा रमाइलो गर्दै नृत्य गर्दा कार्यक्रम उत्साहपूर्ण बनेको थियो ।
तीज पर्वलाई यस किसिमले उत्सवमय ढङ्गले आयोजना गर्नुको मुख्य उद्देश्य नेपाली संस्कृतिको मौलिकता जोगाउँदै महिला सशक्तिकरण, सामाजिक एकता र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्नु हो । संस्थाले आगामी वर्षहरूमा पनि अझ व्यापक कार्यक्रम गर्ने योजना बनाएको अधिकारी बताउँनुहुन्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


