काठमाडौं । शुभम इन्टरनेशनल अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. केदारनरसिंह केसीले उपचारका लागि आउने बिरामीले आर्थिक अभावका कारण फर्किनु नपरोस् भन्ने लक्ष्यसहित अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभएको छ । तारकेश्वर नगरपालिका वडा नं. १०, लोकतान्त्रिक चोकमा करिब रु १५ करोडभन्दा बढी लगानीमा २४ शैयासहित सञ्चालनमा आएको उक्त अस्पतालको आज पूर्वराष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति डा. यादवले स्वास्थ्य र शिक्षा क्षेत्रको विकास भएमात्र देशको दिगो विकास सम्भव हुने बताउनुभयो । उहाँले भौतिक पूर्वाधारभन्दा बढी स्वास्थ्य र शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले गाउँ–गाउँमा स्वास्थ्य पूर्वाधार पुगे पनि सेवा प्रभावकारी नपुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले दक्ष चिकित्सक विदेशिने क्रम रोक्न राज्यले ठोस नीति ल्याउनुपर्ने सुझाव दिनुभयो ।
यस्तै, कांग्रेस नुवाकोटका पूर्वसभापति एवम् संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले काठमाडौंको उत्तरी क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सांसद इन्जिनियर अमन मास्के, तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन, निवर्तमान प्रमुख रामेश्वर बोहरा, वडा नं. १० का वडाअध्यक्ष कुमार राईलगायतले अस्पतालमार्फत तारकेश्वरबासीलाई सहुलियतपूर्ण सेवा दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रमलाइ समापन गर्दै डा. केसीले सबै स्वास्थ्यकर्मी तथा समाजका प्रतिनिधिहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै समाजको विश्वास कायम राख्न आग्रह गर्नुभयो । उहाँले अस्पताललाई व्यवसायिक उद्देश्यभन्दा पर उठाएर समाजसेवामुखी, गरीब र विपन्नलाई सहारा दिने खालको नमूना स्वास्थ्य संस्था बनाउन दृढ प्रतिबद्धता व्यक्त गर्दै तारकेश्वरबाटै आर्थिक हैसियतका कारण उपचार नपाउने संस्कृतिको अन्त्य गर्ने संकल्प दोहोर्याउनुभयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


