काठमाडौं । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष माननीय अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेबीच आज नख्खु कारागारमा विशेष भेटघाट भएको छ ।
स्रोतका अनुसार भेटघाटमा सांसद खानले समसामयिक राजनीतिक परिस्थिति र आगामी सत्ता समीकरणबारे आफ्नो धारणा स्पष्ट राख्दै, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच व्यावहारिक सहकार्यको खाँचो औँल्याएका थिए । उनले देशको वर्तमान अस्थिर राजनीतिक अवस्थालाई पार लगाउन वैकल्पिक शक्तिहरूबीच आपसी समझदारी अपरिहार्य भएको बताउँदै दुवै दलबीच सहकार्य गर्ने विषयमा गहिरो छलफल भएको जनाइएको छ ।
सांसद खानले मुलुकमा स्थिरता, सुशासन र जनताको पक्षमा निर्णय गर्न वैकल्पिक दलहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै, “देशलाई नयाँ बाटोमा लैजान सहकार्यात्मक राजनीति आवश्यक छ, जनताले नयाँ विकल्प खोजिरहेका छन्,” भन्ने भाव व्यक्त गरेको स्रोतले जानकारी दिएको छ ।
भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि वैकल्पिक शक्तिबीच एकताबद्ध भएर अघि बढ्नेबारे सकारात्मक संकेत दिएका थिए । दुवै नेताबीच निकट भविष्यमा थप संवाद र सहकार्यका लागि पार्टीस्तरमै पहल गर्ने सहमति समेत भएको बताइएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो भेटलाई आगामी दिनमा हुने सम्भावित गठबन्धनको संकेतका रूपमा हेरिएको छ । विशेषगरी अब्दुल खानले अगुवाइ गरेको यो पहलले वैकल्पिक दलबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने सम्भावना बढाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


