काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–९ स्थित कुमारी मन्दिर परिसरमा कपडा बैंक सञ्चालनमा आएको छ। इन्द्र जात्राको अवसर पारेर सञ्चालनमा ल्याइएको उक्त बैंक बुढानिलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा र Cloth & Food Bank Nepal को सहकार्यमा स्थापना गरिएको हो । संकलन बक्समार्फत प्रयोगमा नआएका लुगा, झोला, टोपी, मोजा, बेल्ट र पुस्तकहरू संकलन गरिनेछ ।
संकलित सामग्री बुटवलस्थित कारखानामा रिसाइकल गरी प्याकेजिङ गरिनेछ र विपन्न वर्गलाई निःशुल्क वितरण गरिनेछ । उक्त बैंकको उद्घाटन नगर प्रमुख मिठाराम अधिकारीले गर्नुभएको हो । उद्घाटन अवसरमा मिठाराम अधिकारीले भन्नुभयो, "यस प्रकारको पहलले हाम्रो समुदायमा सहयोग र साझा भावना प्रवर्द्धन गर्छ । हामीले साना–साना योगदान मार्फतै जीवनलाई सजिलो बनाउन सक्छौं । सबै नागरिकलाई यसमा सहभागी हुन अनुरोध गर्दछु ।"
त्यस्तै, वडा नं ९ की वडाअध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको नेतृत्वमा सम्पन्न कार्यक्रममा पाण्डेले भनिन्, "कपडा बैंकले आवश्यकता पर्नेहरूलाई सहयोग पुर्याउनुका साथै वातावरण संरक्षणको महत्वलाई बुझ्न र त्यसमा योगदान पुर्याउन पनि प्रेरित गर्नेछ । दान र सहयोगको यो संस्कृतिले समुदायमा आपसी सद्भाव बढाउँछ र समाजमा सकारात्मक परिवर्तन ल्याउँछ । हामी सबैले व्यक्तिगत रूपमा पनि योगदान दिने सोच राख्नु जरुरी छ ताकि भविष्यका पुस्ताहरूले दान र साझा उत्तरदायित्वको महत्त्व बुझ्न सकून् ।"
उक्त कार्यक्रममा वडा नं ६ का अध्यक्ष रवि खड्का, वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा सदस्य रमेश कुमार गौतम लगायतको अन्य सहभागीहरूको पनि उपस्थिति रहेको थियो।
Cloth & Food Bank Nepal का अध्यक्ष कमल जिसीका अनुसार हालसम्म १६० स्थानीय तहसँग सहकार्यमा परियोजना सञ्चालन गरिएको छ । निकट भविष्यमै खाद्यान्न बैंक पनि सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए । कपडा बैंकको नारामा भनिएको छ, “Recycling Clothes – Restoring Lives – Live Life Cleaner, Make Earth Greener”।
साथै, “Help the People” भन्ने मूल सन्देश अभियानको केन्द्रमा छ । दान गर्न चाहनेहरूका लागि बक्स कुमारी मन्दिर परिसर, वडा नं ९ मा राखिएको छ । साथै, कपडा आवश्यक पर्ने जो–कोहीले शो रुममा गई निःशुल्क सामग्री लिन सक्ने व्यवस्था मिलाइएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


