काठमाडौं । नेत्रहीन महिला संघ नेपालको आयोजना तथा Disability Rights Fund को सहयोगमा " अपाङ्गता भएका महिला विरुद्ध हुने लैङ्गिक हिंसा न्यूनीकरणको प्रबल आधार आर्थिक अधिकार हामी सबैको अधिकार " भन्ने नारा सहित महिला विरुद्ध हुने लैङ्गिक हिंसा न्यूनीकरण र आर्थिक अधिकारका लागि सरोकारवालाहरूको भूमिका विषयक कार्यशाला असोज ८ गते बुधवार काठमाडौँमा सम्पन्न गरिएको छ ।
सो कार्यशालामा नेत्रहीन महिला संघले लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिकामा २०८०/८१ मा अनुसन्धान गरिएको "अपाङ्गता भएका महिलाहरूको आर्थिक अधिकार एवं लैङ्गिक हिंसा सम्बन्धी अवस्था विश्लेषण " का विषयमा अधिवक्ता तथा अपाङ्गता अधिकारकर्मी डा. लक्ष्मण ज्ञवालीले प्रस्तुतीकरण गर्नु भयो । उक्त प्रस्तुतीकरणमा उहाँले तिलोत्तमा नगरपालिका भित्र रहेका १७ वटा वडाहरूमा रहेका १० प्रकारका अपाङ्गता भएका महिलाहरूको शिक्षा, रोजगारी, पारिवारिक अवस्था तथा सामाजिक सहभागितामा पहुँचको अवस्था पत्ता लगाउन तथा अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसाको न्यूनीकरण गर्दै मानव अधिकार प्रवर्धनमा सहयोग पुर्याषउन यस अध्ययनले मद्दत गर्ने बताउनु भयो ।
साथै उहाँले अध्ययनका क्रममा ५० जना अपाङ्गता भएका महिलाहरू बिचमा अध्ययन गरिएको जसमा ८ प्रतिशत सहभागीहरू दलित, २४ प्रतिशत जनजाति र ६८ प्रतिशत खस आर्य समुदायका रहेको जानकारी गराउनु भयो । उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानाले अधिकांश ऐन कानुन तथा नीतिहरूमा महिलाहरूलाई विभेद गरिएकोले घरेलु हिंसा बढी हुने र महिला भित्र पनि अपाङ्गता भएका महिलाहरू बढी पीडित भएको पाइएको बताउनु भयो । यसै क्रममा उहाँले न्याय सबैका लागि समान हुने भएकोले स्थानीय निकायले बनाउने नीति नियमहरूमा महिला पुरुषका साथै सबै नागरिकहरूका लागि समान तथा पहुँच योग्य बनाउने कुरामा विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूका उजुरीहरूलाई प्रहरीले दर्ता गराउन र आवश्यक काम गर्नका लागि विषेश प्राथामिकता नदिने गुनासो गरिरहदा प्रहरी निरिक्षक निता थापाले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज रूपमा सेवा प्रदान गर्नका लागि सोधपुछ कक्षलाई मैत्री बनाइएको, बहिरा अपाङ्गता भएका व्यक्तिहरूको सञ्चारका लागि प्रहरीहरूलाई साङ्केतिक भाषाको तालिम पनि प्रदान गरिएको तथा अपाङ्गता भएका व्यक्तिहरू उजुरी गर्न आएको खण्डमा उनीहरूलाई पहिलो प्राथमिकता दिने गरेको बताउनु भयो । साथै उहाँले यदि अपाङ्गता भएका व्यक्तिहरू उजुरी लिएर आएको खण्डमा कुनै प्रहरी कार्यलयहरुमा बेवास्ता गरियो भने, जबाफदेहिता भएन भने, सुनाई गरिएन भने खबर गर्नु हुन आग्रह गर्दै सदैव अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्न तत्पर रहने कुरामा जोड दिनु भयो ।
नेत्रहीन महिला संघ नेपालले काठमाडौँमा आयोजना गरेको महिला विरुद्ध हुने लैङ्गिक हिंसा न्यूनीकरण र आर्थिक अधिकारका लागि सरोकारवालाहरूको भूमिका विषयक कार्यशालामा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी महासचिव रमा ढकालले अपाङ्गता भएका महिलाहरूलाई पनि उनीहरूको विविधता अनुसार पहुँचयोग्य हुने गरी कानुनी सेवा, सुविधा तथा व्यवस्थाहरूका विषयमा जनचेतना जगाउनु पर्ने, तिनै तहका सरकारी निकायहरूमा तथ्याङ्क सङ्कलन गरिनु पर्ने बताउँदै अपाङ्गता भएका व्यक्तिहरू तथा महिलाहरूको न्यायका लागि, विभिन्न हिंसा न्यूनीकरणका लागि सरकारी निकाय, सरोकारवाला निकायहरू र अपाङ्गताको क्षेत्रमा काम गर्ने सबै संघ संस्थाहरूको सहकार्यमा काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
सो कार्यक्रममा आयोजक संस्था नेत्रहीन महिला संघ नेपालकी अध्यक्ष सिता सुवेदीले सबै सहभागीहरूलाई धन्यवाद दिँदै यस्ता अन्तरक्रिया कार्यक्रमहरू सबै निकायहरूले गर्नु पर्ने र अपाङ्गताका सवालहरूलाई पनि समावेश गर्नु पर्ने बताउनु भयो । त्यसै गरी उहाँले लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिकामा गरिएको अपाङ्गता भएका महिलाहरूको अपाङ्गता भएका महिलाहरूको आर्थिक अधिकार एवं लैङ्गिक हिंसा सम्बन्धी अध्ययनले अपाङ्गता भएका महिलाहरूको हिंसा न्यूनीकरण गर्दै उनीहरूलाई न्यायमा पहुँच पुर्या्उन सहयोग गर्ने बताउनु भयो ।
साथै उहाँले राज्य तथा सरोकारवाला निकायहरूले अपाङ्गता भएका महिलाहरू लैङ्गिक हिंसा नुयूनिकरणका लागि दीर्घकालीन कार्य योजना बनाएर काम गर्नु पर्ने, सबै प्रहरी कार्यलयहरुले विना अवरोध अपाङ्गता भएका व्यक्तिहरूका उजुरीलाई सहजीकरण गरिदिनु हुन आग्रह पनि गर्नु भयो ।
उक्त कार्यक्रममा अपाङ्गता भएका महिला विरुद्ध हुने लैङ्गिक हिंसा न्यूनीकरण र आर्थिक आर्थिक अधिकार प्रवर्धनका लागि मुख्य सवालहरू, न्यायमा पहुँच स्थापित गर्न नीतिगत वा कानुनी समस्या, चुनौती तथा अवरोधहरू के कस्ता रहेका छन् र यसको न्यूनीकरण र आर्थिक प्रवर्धनका लागि नागरिक समाज, अपाङ्गता भएका व्यक्तिहरू र राज्यको भूमिका कस्तो हुनु पर्छ भन्ने विषयमा समूहगत छलफल गरी प्रस्तुतीकरण पनि गरिएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


