काठमाडौं । हालै सम्पन्न जेन्जि आन्दोलनले मुलुकको राजनीतिक र सामाजिक चेतनामा गम्भीर प्रश्न उठाएको राजनीतिक व्यक्तित्व जगदिश्वर नरसिंह केसीले बताएका छन्। उनका अनुसार विगतका संघर्ष र त्यसमार्फत प्राप्त उपलब्धीहरूको रक्षा गर्नुको साटो जिम्मेवार राजनीतिक दलहरू जनताप्रति उत्तरदायी नहुनु नै वर्तमान अस्थिर अवस्थाको प्रमुख कारण बनेको हो।
केसीले जनताबाट म्यान्डेट पाएका दलहरू नै आपसी राजनीतिक खिचातानीमा लाग्नु, अप्राकृतिक गठबन्धन निर्माण गर्नु र भ्रष्टाचारमा लिप्त हुनुजस्ता क्रियाकलापले आजको अवस्थालाई जन्म दिएको उल्लेख गरे। “जेन्जि आन्दोलनबाट सिर्जित अवस्थाले यस कुरालाई स्पष्ट पारिदिएको छ,” उनले भने। उनका अनुसार जेन्जि आन्दोलनको प्रमुख माग — भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता — अघिल्ला आन्दोलनहरूको पनि साझा माग रहँदै आएको हो। “हामीले पटक–पटक यसबारे स्पष्ट धारणा राख्दै आएका थियौं। आफ्नै पार्टीभित्र पनि हामी यस मुद्दामा लडाइँ गर्दै थियौं, तर पूर्णरूपमा स्पष्ट दिशामा अघि बढ्न नसकेको कुरा स्वीकार गर्नैपर्छ,” केसीले उल्लेख गरे।
गत भदौ २३/२४ गतेको आन्दोलनले देशको राजनीतिक अवस्था, सामाजिक चेतना र लोकतान्त्रिक मूल्यहरू माथि ठूलो प्रश्नचिन्ह खडा गरेको उनले बताए। आन्दोलनका क्रममा सीमित माग लिएर अघि बढेको जेन्जि पुस्ताले पुराना मागहरूलाई निष्कर्षमा पुर्याएको स्वीकार गर्दै उनले आन्दोलनकै नाममा भएका विध्वंसात्मक गतिविधिको कडा निन्दा गरे। “देशका प्रशासनिक निकाय, सुरक्षा निकायका कार्यालय, सयौँ व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिहरू तोडफोड तथा आगजनीमा परे।
यस्ता अराजक क्रियाकलापले सुनौलो भविष्य निर्माण हुँदैन,” केसीले भने। उनले सबै नागरिकलाई संक्रमणकालीन अवस्थामा संवेदनशील भएर सोच्न आग्रह गर्दै देशको अखण्डता र ‘नेपाली’ परिचयलाई शिरमा राख्नुपर्नेमा जोड दिए। लोकतन्त्रमा सबैको हक र अधिकार समान हुने उल्लेख गर्दै उनले भावनामा बगेर कुनै कारबाही सिफारिस गर्न नहुने बताए।
छानबिन आयोग गठन भइसकेकाले त्यसलाई सूचनाका आधारमा काम गर्न दिनु र प्रतिवेदन सार्वजनिक भएपछि दोषीहरूमाथि कारबाही गर्नुपर्ने उनको सुझाव छ। “देशलाई अनिर्णयको बन्दी बनाउने अधिकार कसैलाई छैन,” उनले भने। समस्याको दीर्घकालीन समाधानका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गरी राजनीतिक दलहरू, नागरिक समाज र सरोकारवाला सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्ने उनको धारणा छ।
“लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। देश अखण्ड रहनै पर्छ, ‘नेपाली’ भन्ने परिचय मेटाउने दुस्साहस कसैले नगरोस्,” केसीले भने।
.gif)




 x 450 (H) Global Pana.jpeg)


