Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

हिंसा पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहत र पुनस्थापनाको काम गर्न सकिन्छ : उपप्रमुख डंगोल


ग्लोबल पाना
सोमबार, कात्तिक १७ २०८२
  • 645
    SHARES

  • images
    हिंसा पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहत र पुनस्थापनाको काम गर्न सकिन्छ : उपप्रमुख डंगोल

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले लैङ्गिक हिंसामा परेका व्यक्तिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि वडा महिला सञ्जालबाट तत्काल काम गर्न सकिने बताउनुभएको छ । महानगरपालिकाले शान्ति फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरेको मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकहरुको मर्यादित रोजगारीका सम्बन्धमा गरिएको अध्ययनका बारेमा छलफल गर्न आयोजना गरिएको साझेदार बिचको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

    images
    images
    images

    ‘तत्काल गर्नु पर्ने कामको व्यवस्थापनका लागि हामीले हरेक वडालाई २ लाख रुपियाँका दरले निकासा पठाएका छौँ । गएको वर्ष ५० हजार रुपियाँ पठाउने गरिएकोमा अवस्थाको संवेदनशीलतालाई हेरेर यस वर्षदेखि २ लाख रुपियाँ पठाउन थालेका हौँ ।’ उहाँले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले २०७८ सालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि जारी गरेको छ । यसले प्रमुखको संयोजकत्वमा गठन हुने ९ सदस्यीय मूल समिति गठन हुने व्यवस्था छ ।

    यसमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक समितिका संयोजक, जिल्ला प्रहरी परिसरका प्रमुख, कानुन तथा मानव अधिकार विभागका प्रमुख, यसै क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि एक जना, पीडितमध्ये एक जना सदस्य रहने व्यवस्था छ ।

    समितिको सदस्य सचिवमा सामाजिक विकास विभागका प्रमुख हुनुहुन्छ । समितिले ओसारपसार तथा बेचबिखनमा परेकाहरुको तत्काल उद्धार, संरक्षण, पुनस्र्थापना र क्षमता विकास गर्ने, गराउने तथा यसका लागि समन्वय गर्ने, तथ्याङ्क तथा अभिलेखन गर्ने सचेतनामूलक कार्यक्रम फैलाउने, कार्यक्रम सञ्चालनका लागि छुट्टै कोष स्थापना गरेर सञ्चालन गर्ने काम गर्छ । वडा अध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति गठन हुने व्यवस्था छ ।

    यसमा महिला सदस्य, स्थानीय प्रहरी प्रमुख वा प्रतिनिधि, वडाभित्रका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकमध्ये अध्यक्षले मनोनित एक जना, महिला सञ्जाल, बाल सञ्जाल, ज्येष्ठ नागरिक केन्द्र, आमा समूहमध्ये सर्वाधिक क्रियाशील संस्थाका एक जना प्रतिनिधि सदस्य हुनुहुन्छ । समितिको सदस्य सचिव वडासचिव रहने व्यवस्था छ ।

    यस समितिले, ओसारपसार तथा बेचबिखन विरुद्धका कार्यक्रमको योजना बनाउने, योजना कार्यान्वयन गराउने, जोखिममा रहेका व्यक्ति तथा वर्गको पहिचान गर्ने, जोखिमबाट उद्धार गर्ने, संरक्षण, न्याय र पुनस्र्थापनाका लागि समन्वय गर्ने काम गर्छ । सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन र २०६५ सालमा नियमावली र ०७० सालमा कार्यविधि जारी गरिसकेको छ । यी दस्तावेजको व्यवस्थालाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाएको हो ।

    मनोरञ्जन र सत्कार पेशामा आवद्ध श्रमिकहरुका विभिन्न समस्या छन् । फाउन्डेसनका अधिकारीहरुले नीति र व्यवहारका बिचमा देखिएको भिन्नताका विषयमा प्रस्तुतिकरण गरेपछि उपप्रमुख डंगोलले भन्नुभयो, ‘काठमाडौँलाई लैङ्गिक संवेदनशील सहरका रुपमा विकास गर्न सहकार्यमा काम गरौँ । यस क्षेत्रका श्रमिकको मर्यादित पेशाका लागि तर्जुमा गरिने कार्यविधिको मस्यौदाको छलफलमा लाभग्राहीलाई पनि राखौँ । जसका लागि कानुन बनाइँदै हो, उहाँहरुलाई बाहिर राखेर कानुन प्रभावकारी हुँदैन ।’

    प्रस्तुतिकरणमा फाउन्डेसनका अधिकारीहरुले, मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकहरु करार सम्झौता नगरी काम गरिरहेकोले समान कामका लागि असमान पारिश्रमिक प्राप्त गरेको अवस्थामा रहेको देखाउनुभयो । सम्झौता नभएकै कारण ओसारपसार र बेचबिखनको जोखिम छ । धेरैसँग नागरिकता नभएका कारण सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन समस्या देखिन्छ । अवस्था चित्रण गर्दै उहाँहरुले, काठमाडौँ महानगरपालिकाले नागरिकता नभएका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष र विमामा आवद्ध गराउने प्रक्रिया जस्ता काममा नेतृत्व गर्नु पर्ने आवश्यकता देखाउनुभयो ।

    बैठकमा सुरक्षित आप्रबासन र मर्यादित श्रम सम्बन्धी स्रोत सामग्रीका विषयमा प्रस्तुतिकरण तथा छलफल भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ