काठमाडौं । प्रहरी, थुनुवा तथा स्थानीय समुदायको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यसहित काठमाडौँको बालाजु प्रहरी वृत्तमा एकदिने नि:शुल्क स्वास्थ्य तथा दन्त शिविर सफलतापूर्वक सम्पन्न भएको छ । नेपालमै पहिलोपटक प्रहरी लक्षित गर्दै पाँचवटा प्रतिष्ठित स्वास्थ्य संस्थालाई एउटै स्थानमा समेटेर सञ्चालन गरिएको शिविरले बहुआयामिक स्वास्थ्य सेवा प्रदान गरेको छ ।
शिविरमा ॐ समाज डेण्टल अस्पताल, विनायक अस्पताल तथा प्रसूति गृह प्रा.लि., ग्राण्डी अस्पताल, सुकृ हाउस अफ डायग्नोस्टिक्स एण्ड वेलनेस सेन्टर तथा किर्तिपुर आँखा अस्पतालको सहभागिता रहेको थियो । ॐ समाज डेण्टल अस्पतालले दन्त तथा मुख स्वास्थ्य परीक्षण, दाँत सफा, सामान्य उपचार र परामर्श सेवा निःशुल्क उपलब्ध गराएको थियो । अस्पताल शाखा प्रमुख सबिना पपन गुरुङको नेतृत्वमा चिकित्सक टोलीले सेवाग्राहीको प्रारम्भिक दन्त परीक्षण गरेको थियो । साथै, आवश्यक परे थप उपचारका लागि सम्बन्धित अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको थियो । विनायक अस्पतालले सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह तथा रक्तचिनी जाँच, औषधि वितरण र परामर्श सेवा प्रदान गरेको थियो ।
विशेषगरी थुनुवा/कैदीहरूको स्वास्थ्य जाँच र औषधि व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल प्रहरीका डिआइजी विश्वराज अधिकारीले धन्यवाद व्यक्त गर्नुभयो । डिआइजी अधिकारीले प्रहरी, थुनुवा र समुदाय लक्षित यस्ता स्वास्थ्य शिविरहरू अत्यन्त उपयोगी हुने उल्लेख गर्दै भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, किर्तिपुर आँखा अस्पतालले आँखा परीक्षण तथा दृष्टि सुधार सम्बन्धी सुझाव प्रदान गरेको थियो भने अन्य संस्थाहरूले विभिन्न डायग्नोस्टिक परीक्षण तथा स्वास्थ्य परामर्श सेवा दिएका थिए ।
बालाजु प्रहरी वृत्तका प्रमुख ज्ञान बहादुर बिष्टले व्यस्त कार्यतालिकाबीच प्रहरीका लागि स्वास्थ्य परीक्षणको अवसर उपलब्ध गराउनु सकारात्मक उपलब्धि भएको बताउँदै सहभागी सबै स्वास्थ्य संस्था, चिकित्सक र सहयोगीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले प्रहरी स्वस्थ भए मात्र नागरिकलाई प्रभावकारी सेवा दिन सकिने उल्लेख गर्नुभयो ।
यस अवसरमा भदौ २४ र २५ गतेको ‘जेन्जी आन्दोलन’का क्रममा क्षतिग्रस्त भएको बालाजु प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भई नियमित सेवा सञ्चालनमा आएको जानकारी पनि दिइएकाे थियाे । शिविरमा रोल्पाली चेली फाउण्डेसनको सक्रिय सहभागिता रहेको थियो । साथै, प्रसिद्ध तान्त्रिक मोहनी गुरु विनोद कार्कीले खानेपानीको व्यवस्था गरी सहयोग गर्नुभएको थियो ।
शिविर सञ्चालनमा प्राविधिक तथा व्यवस्थापन टोली, स्वयंसेवक, डेटा व्यवस्थापक र सहजीकरणकर्ताको महत्वपूर्ण भूमिका रहेको थियो । विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा नागरिक समाजका व्यक्तिहरूको पनि उल्लेखनीय उपस्थिति थियो । यसैक्रममा लायन्स क्लब अफ काठमाडौंले आफ्नो “उपकार अभियान” समेत सञ्चालन गरेको थियो । क्लबका अध्यक्ष सुशिला थापा नेतृत्वको टोलीले कार्यक्रम व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक चिफ एडभाइजर कृष्ण प्रसाद शर्माले क्लबको सामाजिक योगदानको प्रशंसा गर्नुभयो ।
शिविरले प्रहरी, थुनुवा र स्थानीय समुदायबीच सहकार्य मजबुत बनाउँदै स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समुदायस्तरमा सेवा प्रवाहलाई प्रभावकारी बनाएको सहभागीहरूको भनाइ छ । आयोजकहरूले आगामी दिनमा पनि यस्ता बहुआयामिक स्वास्थ्य तथा सामाजिक सेवा अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


