काठमाडौं । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र (केडीसी जनरल अस्पताल) र इन्टरनेशनल नेपाली आर्टिस्ट्स सोसाइटी (इनास) नेपाल च्याप्टरबीच कलाकार तथा स्रष्टाहरूलाई लक्षित गर्दै स्वास्थ्य सहकार्यसम्बन्धी समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ । यो सहकार्य कलाकार समुदायका लागि सहुलियत, प्राथमिकता र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चिततासँगै व्यवहारिक रूपमा सुरु भएको हो ।
आज २०२६ जनवरी १ गते सम्पन्न एमओयूमा इनास–नेपालका अध्यक्ष ऋषि लामिछाने र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका तर्फबाट अस्पताल निर्देशक डा. प्रतिक्ष्या श्रेष्ठले हस्ताक्षर गर्नु धएकाे हाे । सम्झौताअनुसार केडीसी जनरल अस्पताल इनास नेपालको आधिकारिक स्वास्थ्य साझेदार रहनेछ ।
कार्यक्रममा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमाल रानाले यो सहकार्य केवल कागजी सम्झौतामा सीमित नरही कलाकारमैत्री स्वास्थ्य सेवाको व्यवहारिक सुरुवात भएको स्पष्ट पार्नु भयाे । “इनाससँग आबद्ध कलाकार तथा स्रष्टाहरूलाई प्राथमिकता, सहुलियत र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो प्रतिबद्धता हो । यो एमओयू दीर्घकालीन सहकार्यको बलियो आधार बनेको छ,” उहाँले बताउनु भयाे ।
नयाँ पदभार सम्हालेको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै सीईओ रानाको नेतृत्वमा इनास नेपालसँग स्वास्थ्य सहकार्यको सम्झौता तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । पदभार ग्रहण गरेपछि मानवतासँग जोडिएको यस्तो कार्यक्रममार्फत सहकार्य सुरु गर्न पाउँदा आफू अत्यन्त खुसी भएको उहाँले बताउनु भयाे ।
यसअघि चिरायु नेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत रहँदै स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा उल्लेखनीय अनुभव बटुल्नु भएका राना हालै मात्र केडीसी जनरल अस्पतालमा आबद्ध हुनु भएकाे हाे । आफ्नो अनुभव र दृष्टिकोणलाई कलाकार, स्रष्टा तथा आम नागरिकको हितमा प्रयोग गर्ने अवसर पाउँदा उत्साहित रहेको उहाँको भनाइ थियो ।
सम्झौताअनुसार इनासका सदस्य, उनीहरूका परिवार तथा सिफारिस प्राप्त व्यक्तिहरूले भर्ना उपचार (आईपीडी) अन्तर्गत बेड तथा वार्ड शुल्कमा २५ प्रतिशत, बाह्य रोगी तथा क्लिनिकल सेवामा १५ प्रतिशत तथा प्रयोगशाला, रेडियोलोजी, विशेषज्ञ उपचार, फार्मेसी, फिजियोथेरापी तथा दन्त सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।
इनास नेपालका अध्यक्ष ऋषि लामिछानेले कलाकारहरूको व्यस्त जीवनशैली र स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो सहकार्य अत्यन्त आवश्यक रहेको बताउनुभयाे । “कलाकारहरू सिर्जनामा व्यस्त रहँदा स्वास्थ्यलाई प्राथमिकता दिन कठिन हुन्छ, त्यसैले यो सहकार्य कलाकार समुदायका लागि महत्वपूर्ण उपलब्धि हो,” उहाँले भन्नुभयाे ।
एमओयू हस्ताक्षर कार्यक्रमसँगै इनास नेपाल र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ । अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमका संयोजक तथा इनास नेपालका सचिव राजिन पनेरुले इनास कला र सिर्जनामात्र नभई सामाजिक उत्तरदायित्व बोकेको संस्था भएको सन्देश रक्तदानमार्फत दिएको बताउनु भयाे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


