धादिङ । नीलकण्ठ नगरपालिका–११ का चन्द्रबहादुर लम्साल आज गाउँमा सफल कृषक तथा उद्यमीका रूपमा परिचित छन् । शिक्षण पेशामा आबद्ध रहेका लम्सालले अवकास पछि जीवनको अर्को यात्रामा कृषि व्यवसायलाई रोज्दै उदाहरणीय सफलता हासिल गरेका छन् ।
पाँच सन्तानका पिता लम्सालका तीन छोरी र दुई छोरा छन् । परिवारको साथ र आफ्नै मेहनतका बलमा उनले कृषि व्यवसायलाई व्यवस्थित रूपमा विस्तार गर्दै राम्रो आम्दानी गर्न सफल भएका छन् । विशेषगरी कफी खेतीलाई प्राथमिकतामा राख्दै उनले यस क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका छन् । लम्सालको विशेषता भनेको आफूले सिकेका ज्ञान, सीप र अनुभवलाई अरूसँग खुलेर बाँड्नु हो ।
कृषि क्षेत्रमा प्राप्त गरेका सीपहरू गाउँका अन्य कृषकलाई समेत सिकाउँदै उनले सामूहिक समृद्धिको अभियान अघि बढाएका छन् । “मात्र आफू सफल हुने होइन, गाउँका सबैले राम्रो आम्दानी गरून्” भन्ने सोचका साथ उनले धेरैलाई कृषि उद्यममा प्रेरित गरिरहेका छन् । उनको यही सहयोगी भावना, नेतृत्व क्षमता र समाजप्रतिको जिम्मेवारीका कारण गाउँघरमा उनलाई अग्रज व्यक्तित्वका रूपमा सम्मान गरिन्छ ।
स्थानीयहरू कृषि, सामाजिक तथा विकासका विभिन्न विषयमा उनको सुझाव र अनुभवलाई महत्वका साथ लिने गर्छन् । लम्सालको सफलताको यात्रामा उनकी श्रीमतीको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको छ । मेहनती, लगनशील र सहयोगी स्वभावकी उनकी श्रीमतीले कृषि व्यवसायलाई सफल बनाउन निरन्तर साथ दिँदै आएकी छन् । दम्पतीको संयुक्त मेहनत र समर्पणले आज उनीहरूलाई गाउँकै प्रेरणादायी परिवारका रूपमा स्थापित गरेको छ ।
शिक्षण पेशाबाट कृषि उद्यमतर्फको यात्रा तय गरेका चन्द्रबहादुर लम्सालले मेहनत, लगन र सकारात्मक सोचका माध्यमबाट सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश समाजलाई दिएका छन् । उनी आज धादिङका मात्र होइन, कृषि क्षेत्रमा भविष्य खोजिरहेका धेरै युवाका लागि प्रेरणाका स्रोत बनेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


