Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बाढी प्रभावित क्षेत्रमा पशु औषधि र राहत सामग्री लिएर पुग्यो पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद्को टोली


बिहीबार , भदौ १८ २०८३
  • 310
    SHARES

  • images
    बाढी प्रभावित क्षेत्रमा पशु औषधि र राहत सामग्री लिएर पुग्यो पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद्को टोली

    काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित पशुपालक तथा स्थानीयवासीलाई लक्षित गर्दै पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद्ले राहत तथा पशु औषधि वितरणलाई निरन्तरता दिएको छ । परिषद्का रजिस्ट्रार जनक रावलको पहलमा बाढी प्रभावित क्षेत्रमा पशु औषधि, राहत सामग्री तथा अस्थायी गोठ निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो ।

    images
    images
    images

    पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद्का पदाधिकारी तथा कर्मचारीहरूले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २ हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै, भदौ १३ गते शनिबार परिषद्का अध्यक्ष जीवराज पौडेलको नेतृत्वमा विभिन्न औषधि व्यवसायी तथा औषधि कम्पनीसँगको सहकार्यमा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरका पशु औषधि प्रभावित क्षेत्रमा पुर्‍याइएको थियो । उक्त औषधि सम्बन्धित पशु सेवा विज्ञ केन्द्र तथा स्थानीय तहसँगको समन्वयमा आवश्यकताका आधारमा प्रभावित पशुपालकलाई वितरण भइरहेको रजिस्ट्रार रावलले जानकारी दिए ।

    औषधि वितरणमा पशु सेवा कार्यालय नुवाकोटका प्रमुख डा. निशान्त शर्मा गेलाल, प्राविधिक प्रेम पुन मगर तथा प्रकाश भण्डारीले सहजीकरण गरेका छन् । यस्तै, लिखु गाउँपालिका पशु सेवा शाखाका प्रमुख रामकुमार राईको संयोजकत्वमा प्रभावित क्षेत्रमा पशु औषधि वितरण गरिएको हाे । बाढीका कारण गोठ तथा पशु राख्ने स्थानमा क्षति पुगेका पशुपालकलाई लक्षित गर्दै गाई–भैँसीका लागि अस्थायी गोठ निर्माण गर्न त्रिपालसमेत उपलब्ध गराइएको छ । राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक प्रभावितले आवश्यक सामग्री पाउन सकून् भन्ने उद्देश्यले एकद्वार प्रणालीमार्फत सहयोग परिचालन गरिएको रावलले बताए ।

    यसैगरी, भदौ १७ गते करिब १ लाख ८० हजार रुपैयाँ बराबरका कपडा तथा २ लाख रुपैयाँ बराबरका औषधि प्रभावित क्षेत्रमा वितरण गरिएको छ । राहत सामग्रीमा चिउरा, चाउचाउ, खानेपानी तथा महिलाका लागि आवश्यक सेनिटरी प्याडलगायत सामग्रीसमेत समावेश थिए । कपडा तथा अन्य राहत सामग्री नुवाकोटस्थित पशु सेवा कार्यालय, कृषि विकास कार्यालय, बागवानी विकास केन्द्र तथा सिँचाइ कार्यालयमा वितरण गरिएको र बाँकी सामग्री आवश्यकता भएका अन्य प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको रजिस्ट्रार रावलले जानकारी दिए ।

    बाढीपछि सामाजिक सञ्जालमार्फत पशु क्षतिसम्बन्धी विभिन्न विवरण सार्वजनिक भइरहे पनि सबै विवरणको यथार्थता पुष्टि गर्न कठिन भइरहेको रावलको भनाइ छ । प्रभावित क्षेत्रमा रहेका पशुको वास्तविक अवस्था, क्षतिको विवरण तथा तत्काल आवश्यक पर्ने सामग्रीको पहिचान स्थानीय तह र मातहतका पशु सेवा निकायमार्फत प्रभावकारी रूपमा संकलन गर्न सकिने उनले बताए ।

    रावलका अनुसार प्रभावित पशुपालकको वास्तविक आवश्यकता पहिचान गरी स्थानीय तह, पशु सेवा निकाय, पशु सेवा विज्ञ केन्द्र तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा राहत तथा पशु औषधि वितरणलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ । बाढीका कारण पशुधन गुमाएका तथा गोठ र पशु राख्ने संरचनामा क्षति व्यहोरेका किसानका लागि तत्काल औषधि तथा राहतसँगै पशु स्वास्थ्य सेवा र पुनःस्थापनाका कार्यक्रम आवश्यक रहेको परिषद्ले जनाएको छ ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ