आज लहानबाट धनुषाधामतर्फ आउँदै गर्दा बाटोभरि धेरै कुकुरहरू मृत अवस्थामा देखिए । सडकको छेउमा कतै शरीर लडिरहेको, कतै सवारीसाधनले किचिएर क्षतविक्षत भएका ती निर्दोष प्राणीका दृश्यले मन निकै भारी बनायो । यी सबै सडक दुर्घटनाका परिणाम हुन् । तर प्रश्न उठ्छ—दुर्घटना हुँदैमा हामी आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्छौँ ?
ती कुकुरहरू सडकमा आउनुको दोष के थियो र ? उनीहरूलाई सडकमा सुरक्षित हिँड्ने ज्ञान नहुन सक्छ, ट्राफिक नियम बुझ्न सक्दैनन् । तर हामी मानिस हौँ, हामीसँग विवेक छ, सावधानी अपनाउने क्षमता छ । त्यसैले सवारी चलाउँदा आफ्नो मात्र होइन, सडकमा रहेका अन्य जीवको जीवनप्रति पनि जिम्मेवार हुनु हाम्रो दायित्व होइन र ?
यात्राका क्रममा मैले एक चालकलाई सडकमा मृत अवस्थामा रहेको कुकुर देखाउँदै सोधेँ, “यो कुकुर कसरी मरेको हो गुरुजी ?” उहाँको जवाफ झन् गम्भीर थियो— “अगाडि आउँदै गर्दा मैले नै मारेको हुँ । मान्छे बचाउन खोज्दा कुकुर परेछ ।” सायद त्यो दुर्घटना थियो र चालकको उद्देश्य कुकुर मार्नु थिएन ।
तर एउटा प्रश्न भने मनमा गडिरह्यो—मान्छेको जीवन बचाउनु महत्वपूर्ण छ भने कुकुरको जीवन के महत्वहीन हो ? कुकुरले पनि पीडा महसुस गर्छ । उसलाई पनि बाँच्न मन लाग्छ । भोक लाग्छ, डर लाग्छ, चोट लाग्दा दुख्छ । ऊ पनि यो संसारको एउटा संवेदनशील जीव हो ।
सडक दुर्घटनामा मानिसको मृत्यु हुँदा हामी शोक गर्छौँ, समाचार बनाउँछौँ, क्षतिपूर्तिको कुरा गर्छौँ । तर सडकमा कुकुर, बिरालो वा अन्य निर्दोष जनावर मर्दा हामीमध्ये धेरैजसो केही क्षण हेरेर हिँड्छौँ । किन ? के उनीहरूको जीवनको मूल्य कम भएर हो ?
पशु कल्याण भनेको केवल जनावरलाई खाना खुवाउनु वा उपचार गर्नु मात्र होइन । उनीहरूलाई अनावश्यक पीडा र मृत्युबाट जोगाउनु पनि हाम्रो जिम्मेवारी हो । सवारी चालकहरूले गति नियन्त्रण गर्ने, सडकमा जनावर देखिएमा सावधानी अपनाउने र सम्भव भएसम्म दुर्घटना हुन नदिने प्रयास गर्नुपर्छ ।
स्थानीय तह र सम्बन्धित निकायले पनि सडकमा छाडा तथा सामुदायिक जनावर व्यवस्थापन, दुर्घटनापछि उद्धार तथा उपचार र जनचेतनाका कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक छ । एउटा कुकुरको जीवन बचाउनु सानो कुरा जस्तो लाग्न सक्छ, तर त्यही एउटा जीवनप्रति देखाइएको संवेदनशीलताले हाम्रो समाज कति मानवीय छ भन्ने देखाउँछ ।
आज बाटोमा देखिएका ती मृत कुकुरहरूले एउटा प्रश्न छाडेर गए, “हामीलाई पनि बाँच्ने अधिकार छैन र ?” यदि हामी साँच्चिकै आफूलाई मानव भन्छौँ भने, हाम्रो मानवता मानिसप्रति मात्र होइन, हामीसँगै यो पृथ्वी बाँडिरहेका हरेक संवेदनशील जीवप्रति पनि देखिनुपर्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


