काठमाडौं । कृषि क्षेत्रमा कर्जा प्रवाहको मेरुदण्ड मानिँदै आएको कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । समयअनुसार आफूलाई रूपान्तरण गर्दै आएको बैंकले प्रविधि, व्यवस्थापन र सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्दै बैंकिङ क्षेत्रमा प्रतिस्पर्धी हैसियत कायम राखेको जनाएको छ ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै बैंकका अध्यक्ष डिमप्रकाश पौडेलले बैंकिङ क्षेत्रमा तीव्र गतिमा आएको परिवर्तनलाई आत्मसात् गर्न नयाँ प्रविधि तथा आधुनिक प्रशासनिक र बैंकिङ प्रणालीमा अभ्यस्त हुनुपर्ने आवश्यकता औँल्याउनु भयाे । हिजो र आजको बैंकिङ प्रणालीमा आमूल परिवर्तन आएको उल्लेख गर्दै उहाँले कृषि विकास बैंकले ती परिवर्तनलाई व्यवहारमा उतार्दै आएको बताउनु भयाे ।
प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कृषि कर्जालाई पहिलो प्राथमिकतामा राख्दै ग्रामीण भेगसम्म बैंकिङ पहुँच विस्तारमा बैंक केन्द्रित रहेको बताउनु भयाे । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो । उहाँका अनुसार बैंकिङ सेवालाई चुस्त, दुरुस्त तथा ग्राहक–केन्द्रित बनाउने लक्ष्यसहित पाँच वर्षे रणनीतिक व्यवसायिक योजना आर्थिक वर्ष २०८१/८२ देखि २०८४/८५ सम्म कार्यान्वयनमा ल्याइएको छ ।
नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशिकाको पूर्ण पालना गर्दै बैंकले डिजिटलाइजेसनलाई केन्द्रमा राखेर विभिन्न डिजिटल सेवा विस्तार गरिरहेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले साना किसानलाई लक्षित ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर तथा केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रको औपचारिक शुभारम्भसमेत गरेको छ । हाल बैंकमा ५१ प्रतिशत नेपाल सरकार र ४९ प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व रहेको छ ।
समग्रमा हेर्दा कृषि विकास बैंक लिमिटेडले कृषि, ग्रामीण अर्थतन्त्र र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्दै वित्तीय स्थायित्व, प्रविधिमैत्री सेवा र दिगो बैंकिङ अभ्यासमार्फत आफूलाई विश्वासिलो र सक्षम राष्ट्रिय बैंकका रूपमा स्थापित गर्न सफल भएको देखिन्छ । समयअनुकूल रणनीति, अनुशासित वित्तीय व्यवस्थापन र किसान–केन्द्रित दृष्टिकोणका कारण बैंकले नाफा, कर्जा विस्तार र निक्षेप वृद्धिमा सन्तुलित प्रगति हासिल गरेको छ । कृषि क्षेत्रको रूपान्तरण र समावेशी आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको कृषि विकास बैंकले आगामी दिनमा पनि नेपाली बैंकिङ क्षेत्रलाई मार्गदर्शन गर्ने नेतृत्वदायी संस्थाको भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


