काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले शिक्षक, अभिभावक, समुदाय र जनप्रतिनिधिबीचको समन्वयबाट मात्र शिक्षामा दिगो सुधार सम्भव हुने बताएका छन् । वडा २७ द्वारा आयोजित एक दिने “शिक्षक पुनर्ताजगी कार्यक्रम” लाई सम्बोधन गर्दै उनले शिक्षकहरूलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा उल्लेख गरे । उनका अनुसार शिक्षकहरूले पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीमा नैतिकता, अनुशासन र जीवनोपयोगी सीप विकास गरिरहेका छन् ।
संघीय संरचनापछि माध्यमिक शिक्षा स्थानीय तहको मातहतमा आएसँगै वडा र विद्यालयबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने उनले जोड दिए । साथै, शिक्षकहरूको क्षमता अभिवृद्धि, तालिम तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउन वडा सधैं तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा वडा सदस्य सृष्टि कंसाकरले अरूलाई ज्ञान बाँड्नुअघि शिक्षक स्वयं शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने बताउँदै सोही उद्देश्यले पुनर्ताजगी कार्यक्रम आयोजना गरिएको स्पष्ट पारिन् ।
अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रकाश राजभण्डारीले शिक्षकलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरेकोमा वडा २७ लाई धन्यवाद दिँदै शिक्षण कार्यलाई पवित्र जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । उनले शिक्षकहरूले विषयवस्तु मात्र होइन, विद्यार्थीको चारित्रिक विकासमा समेत ध्यान दिनुपर्ने बताए ।
त्यसैगरी, संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले समयअनुसार शिक्षण पद्धतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले शिक्षकलाई नयाँ सोच र ऊर्जा प्रदान गर्ने बताए । शिक्षा विभागले यस्ता तालिम सञ्चालन गर्दै आएको भए पनि वडा स्तरबाट यस्तो पहल हुनु सकारात्मक भएको उनको भनाइ थियो ।
पुनर्ताजगी कार्यक्रममा शिक्षकहरूलाई विभिन्न खेलकुद गतिविधिमा सहभागी गराइएको थियो भने विजेताहरूलाई वडा महिला उद्यमीहरूले उत्पादन गरेका उपहार प्रदान गरिएको थियो । सहभागी शिक्षकहरूले कार्यक्रमले मानसिक ताजगी, नयाँ ऊर्जा र आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


