Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

तीज विशेष कार्यक्रममा भलिबल कप्तान अरुणा शाही र पत्रकार जमुना वर्षा सम्मानित


ग्लोबल पाना
बुधबार, भदौ १२ २०८१
  • 452
    SHARES

  • images
    तीज विशेष कार्यक्रममा  भलिबल कप्तान अरुणा शाही र पत्रकार जमुना वर्षा सम्मानित

    पोखरा १० भदौ । गण्डकी प्रदेशको वैदेशिक रोजगार शाखा संरक्षण संघले पोखरामा आयोजित तीज विशेष कार्यक्रममा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्मालाई सम्मान गरेको छ।

    images
    images
    images

    कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारीले शाही र शर्मालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरेका थिए। कप्तान शाहीलाई ५० हजार र पत्रकार शर्मालाई १० हजार नगदले सम्मान गरिएको हो ।

    अरुणा शाहीलाई उनको कप्तानीमा विदेशमा उत्कृष्ट भलिबल खेल प्रदर्शन गरेको भन्दै सम्मान गरिएको थियो भने जमुना वर्षा शर्मालाई पत्रकारिताको माध्यमबाट महिला सशक्तिकरणमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि तिवारीले कडा परिश्रम र मिहिनेतको परिणामस्वरूप समाजमा सफलता प्राप्त गरेका महिलाहरुलाई सम्मान गर्ने यो कार्यक्रम प्रसंशनीय रूपमा स्थापित गरेको बताइन्।

    साथै, उनले महिलाहरु अघि बढ्नका लागि अझै धेरै चुनौतीहरू रहेको उल्लेख गर्दै, यी चुनौतीहरूको सामना गरेर मात्रै सफलता प्राप्त गर्न सकिनेमा जोड दिइन्। उनले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनु पर्ने, गैह्रकानुनी र सीप बिना बिदेश जाने कुरालाई निरुत्साहित गर्दै विदेश भन्दा स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्नु पर्नेमा जोड दिइन ।

    सम्मानित पत्रकार जमुना वर्षा शर्माले सम्मानले पत्रकारीता क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताइन । सो अवसरमा पत्रकार शर्माले रोजगारीको लागि संघर्ष गर्ने महिलाहरूको समस्यालाई सम्बोधन गर्दै वैदेशिक रोजगार शाखा संरक्षण संघले समस्यामा परेका नेपाली श्रमिकहरूलाई सहयोग गर्न आग्रह गरिन्।

    सम्मानित कप्तान अरुणा शाही सम्मानले आफुलाई थप हौसला र उर्जा मिलेको धारणा राख्दै देशको नाम राख्न आफुले निरन्तर मिहिनेत गर्ने बताइन । संघका अध्यक्ष सुजन श्रेष्ठले हरितालिका तिज पर्व को महत्व र महिमा विशेष रहेको जनाउदै महिला सम्मान गरेको बताए । उनले २०६६ सालमा स्थापना भएको सस्थाले गण्डकी प्रदेशका वैदेशिक रोजगार सम्बद्ध शाखाहरुलाई नियमन गर्दै सरकार र व्यवसायीबीच समन्वय गर्दै आइरहेको जानकारी दिए ।

    उनले वैदेशिक रोजगारको नाममा हुने ठगिलाई रोक्दै कानुनी र व्यवस्थित माध्यमबाट रोजगार प्रदान गर्न सस्था सक्रिय रहेको र संघमा ८० वटा सस्था आवद्ध रहेको उनको भनाइ थियो । सो कार्यक्रममा संघका सल्लाहकार, सदस्य, कर्मचारी र अन्य विशिष्ट व्यक्तित्वहरूलाई पनि मायाको चिनोसहित सम्मान गरिएको थियो ।

    कार्यक्रमको सञ्चालन महासचिव विक्रम पोखरेलले गरेका थिए भने, सल्लाहकार, संघका वरिष्ठ उपाध्यक्ष घनश्याम गौतम लगायतका वक्ताहरूले आफ्नो मन्तव्य राखेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ